सहकारी संस्थाद्वारा कर्मचारीको ऋण मिनाहा

सहकारी संस्थाद्वारा कर्मचारीको ऋण मिनाहा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०७७

झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको  छ लाख २९ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ ।

विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर–७ इटाभट्टामा छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक ३३ हजार रुपैयाँ ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ ।

आरुषी १७ वर्षको भएपछि अक्षयकोषको तीन लाख रुपैयाँ फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक दुई हजार रुपैयाँ जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताउनुभयो । बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट सात लाख २० हजार रुपैयाँ फिर्ता दिने संस्थाले जनाएको छ ।

सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट १० लाख ४० हजार रुपैयाँ ऋण लिनुभएको थियो । उहाँको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताउनुभयो ।

कर्जा लिएको रकममध्ये ११ हजार रुपैयाँ तिरिसकेको अवस्थामा १० लाख २९ हजार रुपैयाँ कर्जा भुक्तानी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने  चार लाख रुपैयाँ संस्थाले ऋणमा मिलान गरेको छ । मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले ३० हजार रुपैयाँ प्रदान गरेको छ ।