त्रिदिवसीय वाङ्मय संगोष्ठीद्वारा सत्र बुँदे घोषणापत्र जारी

त्रिदिवसीय वाङ्मय संगोष्ठीद्वारा सत्र बुँदे घोषणापत्र जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७५

 झापा । तीन दिन देखि झापको दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै आज २०७५ चैत्र १९ मङ्गलबार सम्पन्न भएको छ । 

 भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका प्रमुख माननीय डा. गोविन्द तुम्याहाङले समापन गर्नु भएको थियो । समापन समारोहमा बोल्दै प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको दाबी गर्दै, ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने’ बताउनु भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवद्र्धनको उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताउनुभयो । उहाँले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गर्नुहँदै सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको सुनाउनुभयो । 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बाउनुभयो ।  उहाँले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको सुनाउनुभयो । 

२०७५ चैत्र १७ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गोष्ठीको उद्घाटन गर्नुभएको थियो । उहाँले मन्तव्य व्यक्त गर्दै भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गर्नुहँदै यसको विकासका लागि सरकार आवश्यकतता अनुसार सहयोग गर्न तयार रहेको बताउनु भएको थियो  । 

एक नंं प्रदेशका माननीय मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाउँदै चाँडै  प्रादेशिक प्रज्ञा–प्रतिष्ठान गठन गरिने बताउनुभयो ।

पहिलो दिन विशेष कविगोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा विभिन्न जिल्लाबाट आएका तीन दर्जनभन्दा बढी कविले कविता वाचन गरेका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा। हेमनाथ पौडेलले समकालीन कविताका प्रवृत्ति र वाचित कविताका बारेमा विशेष मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सात वटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको बताउनुभयो । 

यसै गरी प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले  बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलका बारेमा बोल्नुभएको थियो ।

सङ्गोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’बारे राजेश्वर थापाले, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाइँले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’बारे  उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई,  प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदीलगायतले गर्नुभएको थियो । कार्यक्रममा कविता गोष्ठी तथा गजल  सन्ध्या भएको थियो । उक्त अवसरमा चार आदिवासी समुदायका महलिा र पुरुष गरी दुई–दुई जना दोसल्ला ओढाई सम्मान गरिएको थियो । सङ्गोष्ठीमा एक नम्बर प्रदेशका विभिन्न जिल्ला स्रष्टाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री माननीय हिक्मत कार्की, पत्रकार तथा समाजसेवी चन्द्र भण्डारीका साथै सहभागीहरूले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।