'सडकमा प्रहरीले चेक गर्ने तर भित्री गल्ली र बस्तीहरूमा बेवास्ता गर्नाले सङ्क्रमितको सङ्ख्या बढ्यो'

'सडकमा प्रहरीले चेक गर्ने तर भित्री गल्ली र बस्तीहरूमा बेवास्ता गर्नाले सङ्क्रमितको सङ्ख्या बढ्यो'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  आश्विन २९, २०७७

डा. रवीन्द्र पाण्डे  अर्थात्   डा. रवीन्द्र समीर  जनस्वास्थ्य विज्ञका रुपमा सुपरिचित नाम हो । कोरोना भाइरस अर्थात् कोभिड-१९ को सुरुवाती चरणबाट यसबाट कसरी बच्न सकिन्छ र यसबाट जोगिन के कस्ता मापदण्डलाई पालना गर्नुपर्छ भने अग्रिम मोर्चामा रहेर सचेतना अभियानमा सरिक हुनुहुन्छ । कोरोना महामारी, पिसिआर परीक्षणको अवस्था , हामी चुकेको ठाउँ र चाडबाडमा सर्वसाधारणले अपनाउनु पर्ने सावधानीका बारेमा केन्द्रित रहेर लाेकसंवाद डटकमले डा. रवीन्द्र पाण्डेसँग एक अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त  अन्तर्मन्थनको मूलअंश : 

नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षणको अवस्थालाई कसरी नियाली रहनु भएको छ ? 

नेपालमा अहिलेको पिसिआर परीक्षणको टेस्ट एकदमै कम हुँदै गएको छ । डब्लुएचओले के भनेको छ भने यदि सङ्क्रमण १२ प्रतिशत भित्रै छ भने त्यसको दायरा राम्रै छ भन्ने बुझिन्छ ।  तर टेस्ट गरेको मध्य १२ प्रतिशत भन्दा माथि परीक्षण देखियो भने त्यसको दायरा पुगेन ।  त्यस्तो अवस्थामा टेस्ट अत्यन्तै बढाउनु पर्छ  भनेर डब्लुएचओले भनेको छ । हामीले अहिले  देशभरिको अवस्था हेर्ने हो भने  २० देखि २७ प्रतिशतको हाराहारीमा पोजेटिभ देखिएको छ । भनेको काठमाडौँ उपत्यकामा २५ देखि ३० प्रतिशतको हाराहारीमा पोजेटिभ देखिएको छ । यो भनेको एकदम विकराल अवस्था हो ।  सरकारले यो भनेको छ कि हामीसँग दिनको २६ हजारको टेस्ट गर्ने हामीसँग क्षमता छ भनेर भनेको छ । दिनको २६ हजार टेस्ट गर्ने क्षमता छ र टेस्ट पुगिरहेको छैन । त्यसै कारणले  पूरा क्षमतामा किन नगरेको हो ? भन्ने एउटा प्रश्न उठिरहेका छ । अनि अर्को प्रश्न के छ भने २६ हजार टेस्ट गर्ने क्षमता छ भने पूरा क्षमताका साथ परीक्षण गरियो भने अहिलेको भन्दा १० गुणा बढीलाई गर्न सकिन्छ ।

किन भइरहेको छैन त परीक्षण ?

यही स्रोत, साधन र जनशक्तिले दिनको २ लाख मानिसलाई टेस्ट गर्न  सक्ने अवस्था छ । हामीले यो टेस्टको दायरा जति फराकिलो बनायो त्यत्ति नै सङ्क्रमितको पहिचान हुन्छ र धेरै सङ्क्रमितको पहिचान भयो भने वार्ड र आइसुलेसनमा राख्न सकिन्छ । यसो गर्न सकियो भने  समुदायमा सङ्क्रमण फैलँदैन । पहिलो कुरा के गर्नु पर्‍यो भने टेस्टको दायरालाई बढाउनु पर्‍यो । सबभन्दा पहिला अहिलेको महामारीको स्थल भनेको काठमाडौँ उपत्यका हो । काठमाडौँ. उपत्यकामा ‘मास’ टेस्ट जस्तो कि पिसिआर टेस्ट, ‘पुल म्याथोड’बाट टेस्ट, डाइरेक्ट पिसिआर टेस्ट, एन्टिवडी टेस्ट लगायत विभिन्न किसिमको टेस्ट गरेर परीक्षणको दायरा एकदमै तीव्र गराउनु पर्ने देखिन्छ ।  अनि त्यसपछि उपचारको कुरा भनेको उपचारको पक्ष हेर्ने हो भने पनि । अब कुरा टेस्टको आयो, सरकारले कनट्रयाक्ट ट्रेसिङ्गको लागि अहिले त्यत्ति प्राथमिकता दिइरहेको छैन । जस्तो कि कुनै व्यक्ति पोजेटिभ देखियो भने उसको परिवारको मात्रै टेस्ट गरी रहको देखिन्छ । त्यसको रिपोर्ट  पनि ४/५ दिनपछि आउँदा परिवारका सदस्य विभिन्न ठाउँमा घुलमिल भइसकेका देखिन्छ । त्यस कारण परीक्षण प्रभावकारी गराउनको लागि सङ्क्रमितको परिवार, उसले कोसँग भेटेका छन् र को को सँग कुरा गरेका छन्, कहाँ कहाँ गएका छन् भनेर थाहा भइरहेको छैन् ।

परीक्षणको दायरा कम भएर वा के कारण विकराल रूप लिएको हो त ?

सरकारले के गर्‍यो भने २० प्रतिशत प्राइभेट हस्पिटलमा बेडहरू छुट्ट्यायो कोभिडको लागि भनेर । त्यो हुँदा स्वास्थ्यकर्मीहरूबाट इन्फेक्सन बढ्यो, बिरामीहरू बिच क्रस इन्फेक्सन भयो । कुरुवाहरूबिच पनि क्रस इन्फेक्सन भयो । त्यसले गर्दा यो सङ्क्रमण ह्वात्तै बढ्यो । 

अब के गर्नु  पर्छ त ?

अब के गर्नु पर्ने हुन्छ भने मेडिकल कलेजहरूमा ६–७ सय सिटहरू रहेका हुन्छन् । सरकारले मेडिकल कलेजहरूसँग र ठुला प्राइभेट हस्पिटलहरूसँग समन्वय गरेर तिनीहरूलाई कोभिड हस्पिटलका रुपमा सरकारले रूपान्तरण गर्नु पर्छ । यसो गर्दा काठमाडौँमा अहिले बेडको जुन अभाव छ त्यसको धेरै हदसम्म परिपूर्ति गर्न सकिन्छ । 

अहिले सरकारले होटेलसँग मिलेर आइसोलेसन सेन्टर बनाउने भनेको छ । त्यो अलि महँगो अस्पतालले होटेलसँग मिलेर भन्दा पनि अस्पतालले अस्पतालसँगै मिलेर काम गर्नु पर्छ । काठमाडौँमा धेरै नचलेका अस्पताल छन् । घाटामा गएका अस्पताल छन् ती अस्पतालहरूसँग कोर्डिनेसन गरेर त्यहाँ आइसोलेसन सेन्टर बनाउन सकिन्छ । त्यहाँ बेडहरू थप्न सकिन्छ । त्यस्तै अक्सिजनको पनि कमी भई रहेको छ । त्यस कारणले अक्सिजन प्लान्ट स्थापना गर्नु पर्छ भनेर पहिले देखिनै हामीले भन्दै आएको विषय हो । सरकारले अक्सिजन प्लान्ट छिटो छिटो स्थापना गर्ने  त्यस्तै गरी चाँडो अक्सिजनको स्टक राख्ने अनि एन्टीभाइरल औषधिहरूको स्टक राख्ने प्लाज्मा बैङ्क स्थापना गर्ने यी कामहरू गर्नु पर्ने देखिन्छ । 

सबैभन्दा ठुलो कुरा भनेको सङ्क्रमित सिकिस्त हुँदा पनि ७/८ ठाउँ घुम्दा पनि बेड नपाएर मृत्युवरण गर्नु परेको अवस्थाको अन्त्य गरिनुपर्छ । जुन अहिले असाध्यै पीडादायी अवस्थामा छ । 

कर्मचारीहरू जो फूलपातीको दिनमा जाने त्यसपछि गएर टिका लगाउने अनि फर्कने हाम्रो जुन परम्परा छ । उहाँहरू यस पटक गाउँ जानु हुँदैन । यदि उहाँहरू यसरी गाउँमा जानु भयो भने पहिलो कुरो उहाँहरूमा सङ्क्रमण सर्न सक्छ । अर्को कुरा उहाँले आफ्ना वृद्ध वृद्ध तथा आफन्तलाई सङ्क्रमण सार्न सक्ने जोखिम हुन्छ ।

 यो अवस्थाबाट मुक्ति पाउनको लागि के गरिनु पर्छ ?

कतिपय सरकारी डाटा नै हेर्‍यो भने पनि करिब ५० प्रतिशत आइसियु र भेन्टिलेटर अकुपाइ भइरहेको देखिन्छ । तर कुनै पनि हस्पिटल आइसियु बेड भेन्टिलेटर छैन । यसको अर्थ के भने कतै निजी हस्पिटलले बेडहरू लुकाएको पो छन् कि ? उद्योगपति, नेता वा पहुँचवालाको लागि कतै लुकाएको छ कि ? भन्ने आम जनताको चासो रहेको छ । त्यो भएको हुनाले जसरी दिल्लीमा  त्यहाँका मुख्यमन्त्रीले सारा दिल्लीका हस्पिटलको डाटा लिएर यो हस्पिटलमा यति बेड खाली छ ।  यसमा खाली भयाे भनेर दैनिक रेकर्ड राखेका छन् । 

त्यो हुँदा जनताले आफ्नो घरको नजिकको हस्पिटल जहाँ खाली छ त्यहाँ गएर भर्ना हुन पाउने व्यवस्था गरिनुपर्छ । त्यही कारण सरकारले हरेक अस्पतालको प्रत्येक दिनको सिटको बारेमा जानकारी दिनुपर्छ ।  किनभने आज मात्र पनि कुनै बिरामी  डिस्चार्ज भएको हुन सक्छ । त्यो कारणले प्रत्येक दिनको डाटा सर्वसाधारणले थाहा पाउने गरी सूचना दिनु पर्ने हुन्छ ।

सरकारले नेपाली सेनालाई साधन स्रोत र जग्गा उपलब्ध गरायो भने त्यो ठाउँमा ठाउँमा ५ सय बेडको प्रिफेबको हस्पिटले १५ र २० दिनमा बनाउन सम्भव छ । जुन २ र ३ ठाउँमा बनाउन सकिन्छ ।  त्यसका लागि जनशक्तिको कुरा आउँछ । जनशक्तिको लागि जो रिटार्यड हुनु भएको छ जो मेडिकलमा इन्टर गर्दै हुनुहुन्छ जो निजीमा कार्यरत हुनुहुन्छ उहाँहरूलाई परिचालन गर्न सकिन्छ ।  जस्तो होम आइसोलेसनमा बस्ने अधिकांश मानिसहरू मोर्निङवाकमा निस्कने, तरकारी किन्न जाने,  सार्वजनिक बसमा चढ्ने, ट्याक्सी चढ्नेदेखि सपिङ गर्न जाने  यसले पनि सङ्क्रमण धेरै बढेको छ । 

यसको अर्थ लकडाउन तथा निषेधाज्ञा लाउनु पर्‍यो  भन्न खोज्नु भएकाे हाे ?   

सरकारले जो आइसोलेसनमा बसेको छ उहाँहरू घरबाट बाहिर निस्कन्छ कि निस्कँदैन भनेर स्थानीय प्रहरी चौकी मार्फत नियमित रुपमा अनुगमन निगरानी गराउनु पर्ने हुन्छ । अहिले बेलायतले होम आइसोलेसनमा बसेको मान्छे बाहिर निस्केमा १० हजार पाउन्डको जरिबाना गर्ने गरेको छ । हाम्रो पनि जरिबाना गर्ने र सङ्क्रामक रोग ऐन २०२० अनुसार उहाँहरूलाई हामीले कारबाही गर्छौ भनेर प्रस्ट रुपमा सबैलाई जानकारी दिनुपर्छ ।

  त्यसो भयो भने उहाँहरू बाहिर निस्कने कुरा हुँदैन । यसको लागि पनि सरकारको अलिकति पहल पुगेको छैन । अर्को कुरा नेपालबाहेक संसारका हरेक देशमा मास्कलाई कम्पलसरी बनाइएको छ । सही तरिकाले जसले मास्क लगाउँदैन उसलाई जरिवाना गर्ने व्यवस्था गरिएको छ। त्यति मात्रै हैन सुरक्षाकर्मीहरू व्यापक रुपमा परिचालन गरेर भौतिक दूरी कायम गराउने भीडभाडमागयो भने कारबाही गर्ने, कुनै गोष्ठी गरे दण्ड जरिवाना गर्ने त्यसरी मानिसहरू नियन्त्रण गरिएको छ ।

हामीले पनि जनस्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्छ ।  कस्तो हुन्छ भने कुर्सीमा बसेपछि चारै तिर झलमल्ल उज्यालो देख्दिरो रहेछ । जब कुर्सीमा बसेका सरकारका उच्च ओहोदामा बसेका मानिसहरूको चस्मा निकालिदिन सक्यो भने वास्तविक अवस्था देख्छन्  कि ! 

हामी चुकेको ठाउँ चाही कहाँ हो ?

अहिले हाम्रो गृह मन्त्रालय अत्यन्तै चुकेको छ । अरु देशमा गृह मन्त्रालयले नै कोभिड–१९ नियन्त्रणको नेतृत्व लिएको देखिन्छ । हामीकोमा गृह मन्त्रालयले पहिरो आयो वा बाढी गयो भने हेलिकोप्टर चढेर निरीक्षण गरेर फर्कन्छ । तर यो कोरोना महामारी यति धेरै फैलिएको छ । यसमा प्रहरी प्रशासन परिचालनको लागि कुनै पनि किसिमको तदारुकता देखाएको छैन । त्यो भएको हुनाले गृह मन्त्रालय बढी सक्रिय हुन जरुरी छ । 

स्वास्थ्य मन्त्रालयले  गरिरहेको छ  होइन र ?

स्वास्थ्य मन्त्रालयले जुन स्तरमा बेडहरू विस्तार गर्नु पर्ने हो । जुन स्तरमा परीक्षण र उपचारको प्रबन्ध गर्नु पर्ने हो । त्यो गर्न सकिरहेको छैन । त्यो हुँदा कस्तो हुन्छ भने यस्तो महामारीको बेला काम गर्न नसक्ने टिम छ भने त्यस्तो टिमलाई परिवर्तन गरेर काम गर्न सक्ने टिम ल्याउनु पर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको ‘प्रर्फमेन्स’ कम देखिएको छ । यो सबैले स्वीकार गरेको अवस्था पनि छ । अहिले सत्तारुढ पार्टीका मानिसले पनि अनौपचारिक कुराकानीमा स्वास्थ्य मन्त्रालय असक्षम भनेर स्वीकारेको अवस्था छ ।  स्वास्थ्य मन्त्रालयमा ‘राइट म्यान राइट प्लेस’ अन्तर्गत अलिकति कमान्ड सम्हाल्न सक्ने,  इमानदार र जनस्वास्थ्य बुझेको मानिस स्वास्थ्य मन्त्रालयमा नेतृत्व लियो भने पनि धेरै हदसम्म समस्या समाधान हुन सक्छ । 

यो सुझाव सरकारलाई दिनु भएको छैन ?

हामीले पहिलेदेखि भनेका थियौ  । विज्ञहरूको टिम बनाउने ।  कम्तीमा पनि ८ देखि १० जना विज्ञको टिम बनाउने  । देश विदेशमा कोरोना नियन्त्रणको लागि के–के प्रयास भएका छन् ? अवस्था के छ ?  कुन विधिबाट अध्ययन गर्न सिकन्छ ? अध्ययनको ‘सिनारियो’ कस्तो छ ?  यी विषयमा आपसमा छलफल गर्ने र  ‘कमन’ धारणा बनाउने भन्ने कुरा थियो । त्यो ‘कमन’ धारणा स्वास्थ्य मन्त्रालयलाई दिने । त्यो सबै मिडियामा लैजानु पर्छ भन्ने थियो । त्यसले गर्दा आम जनतामा भ्रम र हल्लाले आतङ्क सिर्जना हुँदैन । आधिकारिक जानकारी र विश्वासिलो व्यक्तिबाट जानकारी दिने  खालको प्रबन्ध गर्न ढिला भइसकेको छ र त्यो गर्न एकदम जरुरी देखिन्छ । सरकारले त्यो अनुसारको काम गरिरहेको छैन । 

नागरिकहरुले चाही के कस्ता सावधानी अपनाउनु पर्छ ?

सरकारले मात्रै काम गरेर मात्र हुँदैन यसमा नागरिकको पनि ठुलो भूमिका हुन्छ । हामी जनताहरू कोरोना सङ्क्रमण फैलिएको ५ महिना भइसक्यो हरेक मोबाइल फोनमा रेडियो टिभी अनलाइन जताततै सही तरिकारले मास्क लगाऊ,  दूरी कायम गरौं भनेर भनिरहेको छ  । हामीले भनेर पनि मास्क लगाउन जान्दैनौ  । हामी भिडभाड गर्छौ भने त्यो हाम्रो चरम लापरबाही हो । त्यो हाम्रो अनुशासनहीनता पनि हो । महामरीको बेला सरकार, नागरिक र  मिडिया एक जुट भएर लड्न सक्यौ भने महामारी नियन्त्रण हुन्छ ।

तर हामी नागरिक एक जनाले पनि मापदण्ड पालना भएन भने अर्कोलाई सार्ने सम्भावना हुन्छ । जस्तो मेरो परिवारमा सबैले मापदण्ड पालना गरेका छौँ । तर घरमा ग्यास सिलिन्डर ल्याइदिने मानिसले मापदण्ड पालना गरेको छैन भने हामीलाई सर्न सक्छ । उसले पसले सङ्क्रमित छ तर उसले मापदण्ड पालना गरेको छैन भने जतिसुकै सतर्क भए पनि सर्न सक्छ । त्यसैले समाजको हरेक तह र तप्काका  नागरिकले मापदण्ड पालना गर्नु जरुरी छ ।

 ठुला ठुला बजारमा मात्रै  हुने होइन यो भाइरस । सरकार  निषेधाज्ञा  जारी गरेर  ठुला सहरहरूमा प्रहरी परिचालन गर्ने चेक जाँच गर्ने तर भित्री बस्तीहरू पूर्ण बेवास्ता गरिरहेको छ ।  सरकारले दुबै पटक त्यही गर्‍यो । २ पटक लकडाउन लगाउँदा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रुपमा बढ्नुमा गल्ली र  भित्री बस्तीहरूमा बेवास्ता गर्नुले हो । हरेक ठाउँमा राज्यको एउटा एउटा उपस्थिति देखिनु पर्‍यो । त्यो भयो भने हामीले लकडाउन, कफ्यु निषेधाज्ञा नगरीकन पनि हामी महामारीलाई नियन्त्रणमा लिन सकिन्छ। 

लकडाउन, कफ्यु निषेधाज्ञा जस्ता विधि नाम मात्रका भए भन्न खोज्नु भएको हो ?

 हो  । यस्तो लकडाउन गर्नुको कुनै अर्थ छैन । लकडाउन गरेर जनतालाई दुःख दिनु भन्दा मापदण्डमा कडाइ गर्‍यो भने लकडाउन भन्दा ‘इफेक्टिभ’ हुन सक्छ ।  

अर्को पक्ष भनेको काठमाडौँमा व्यापक रुपमा करोना फैलिएको छ । हामीले काठमाडौँमा बस्ने हामीले के सोच्नु पर्ने के छ भने सरकारले जुनसुकै बेला पनि लकडाउन वा कर्फ्यु लगाउने गर्न सक्छ । विगतलाई हेर्दा पनि सरकारले समय दिएन । समय नदिएको हुनाले मानिसहरू घर जान पाएन ।

इन्डियाबाट नेपाल आउनु पर्ने मानिसलाई यति दिनभित्र आऊ नभए लकडाउन  हुन्छ भनिदिएको भए उनीहरू समयमा नै आउन पाउँथे ।  सरकारले पूर्व जानकारी दिएर गर्नु पर्नेमा हतार हतार गर्ने प्रचलन हामीकामा छ । हामी आम जनता सरकारले लकडाउन गर्छ कि कर्फ्यु लगाउँछ कि निषेधाज्ञा जारी गर्छ कि भन्ने आम जनतामा एक किसिमको त्रास कायम  छ । 

नागरिकले कसरी बच्ने तथा के कस्ता सावधानी अपनाउने त ?

नागरिक  हामीले पनि हाम्रो तर्फबाट एउटा निर्णय के गर्नु पर्ने हुन्छ भने जसरी हरेक प्रणालीले आफू बच्नको लागि अनेक प्रयत्न गरिरहेको पाउँछौँ ।  जस्तो रुसको साइवेरियाबाट ताल चराहरू जाडो महिनामा त्यहाँबाट कति दिन लगाएर उडेर नेपालमा आउँछन् । नेशनल पार्कका जनावरहरू जाडोको बेला भारततिर जाने गर्मीको बेला नेपाल आउने गर्छन् । सर्प मुसा लामखुट्टे पनि आफ्नो प्रतिकुल समयमा भित्र बसेका हुन्छन् । उनीहरू पनि खाने समयमा मात्र  बाहिर निस्कने  हुन्छन् । हामी पनि आफ्नो जीवनको रक्षा गर्नु हरेक प्राणीको प्राकृतिक र नैसर्गिक अधिकार हो । त्यसैले असुरक्षित काठमाडौँलाई छोडेर गाउँ जाने उपयुक्त विकल्प हो ।  

नागरिकलाई आफू बच्नको लागि कहीँ सुझाव छन् कि ?

नागरिक हामी जो काठमाडौँमा बस्नै पर्ने अवस्था छैन । अर्थात्  गाउँमा जाने ठाउँ छ । अथवा काठमाडौँमा  महँगी बढेको छ । असुरक्षा लगायतका कारणले बाहिर जानु पर्ने अवस्था  छ भने काठमाडौँ छोडेर गाउँमा जानु सबैभन्दा सुरक्षित र सबैभन्दा बुद्धिमानी  निर्णय हुन्छ । यसो गर्‍यो भने महामारीबाट बचिन्छ अर्को कुरा महँगीबाट बचिन्छ । 

गाउँमा गएर २ हप्ता होम क्वारेनटाइनमा बस्यो  । त्यहाँ केही  लक्षण देखियो भने सम्बन्धित पालिकामा गएर परीक्षण गर्ने । लक्षण देखिएन भने २ हप्तामा हामी समाजमा घुलमिल हुने ।  त्यो गर्‍यो  भने सङ्क्रमण त्यहाँ पनि सर्दैन । काठमाडौैंमा बस्ने महामारी फैलने ठाउँमा बस्ने कि सुरक्षित ठाउँमा जाने सोच्ने बेला आएको छ ।

यो क्रम त चाडपर्वमा नियमित रुपमा हुने गरेको छ नि ?

 चाडपर्व नजिक नजिक आइपुगेको छ । यो चाडपर्वमा मेरो  त आग्रह के छ भने यदि तपाईँहरू माघसम्म  बढी सङ्क्रमण हुने हाम्रो आङ्कलन  रहेको छ । यदि तपाईँहरू माग फागुनसम्म गाउँमा बस्नु हुन्छ गाउँमै कृषि पशुपालन वा व्यवसाय गाउँमा बसेर गर्नु हुन्छ भने महामारी सकिएपछि आउने सुरु गर्नु भएको  छ भने उहाँहरू गाउँमा गएर बस्दा ठिक हुन्छ । 

तर कर्मचारीहरू जो फूलपातीको दिनमा जाने त्यसपछि गएर टिका लगाउने अनि फर्कने हाम्रो जुन परम्परा छ । उहाँहरू यस पटक गाउँ जानु हुँदैन । यदि उहाँहरू यसरी गाउँमा जानु भयो भने पहिलो कुरो उहाँहरूमा सङ्क्रमण सर्न सक्छ । अर्को कुरा उहाँले आफ्ना वृद्ध वृद्ध तथा आफन्तलाई सङ्क्रमण सार्न सक्ने जोखिम हुन्छ ।

त्यो कारणले गर्दा कम्ती २ हप्ता अर्थात् १० दिन पनि होम क्वारेनटाइन बस्न सक्दैनौ भने हामी जहाँ छौ त्यही बसेर चाडपर्व मनाउँदा सुरक्षित भइन्छ । यो भनेको विषम परिस्थिति हो । विषम परिस्थितिमा हामीले चाडपर्व मनाउने हामीले यस पटक विशिष्ट ध्यान पुर्‍याउन आवश्यक देखिन्छ । जस्तो हामीले जो घरमा त्यतिले मात्रै टिका लगाउने ।

त्यसपछि आफन्त मान्यजनहरूबाट टेलिफोन, इन्टरनेटको माध्यमबाट आशीर्वाद लिन सक्छौँ । हामीले सम्मान गर्ने निउमा,  मान गर्ने निउमा ज्येष्ठ नागरिककोमा चाहर्न थाल्यौ भने उहाँहरूलाई सङ्क्रमण सर्न सक्छ । उहाँहरूलाई सङ्क्रमण सर्‍यो भने भोलि जोखिम हुन सक्छ । त्यो भएकोले यो पटक हामीले छुट्टै तरिकाले चाडपर्व मनाउने विकल्प सहित । तिहारमा पनि त्यही कुरा हुन्छ । छठसम्म पनि त्यही कुरा हुन्छ । 

गाउँ तिर पनि दसैँमा मेला गर्ने नाचगान गर्ने पशुबलीहरु दिने कोटहरूमा भेला हुने जुन किसिमको प्रचलन छ । त्यो यो पटक चाहिँ गर्नु हुँदैन किन भने सङ्क्रमण सर्‍यो भने त्यसको मूल्य भोलि  महँगो  पनि हुन सक्छ । भोलि त्यसले गर्ने आर्थिक शारिका मानसिक सामाजिक मनोवैज्ञानिक पाटोहरू धेरै गहिरो हुन्छ । सङ्क्रमणबाट बच्नको लागि हामीले यो चोटिको चाडपर्वलाई 'पेन्डामिक' चाडका रुपमा हामीले घरमै बसेर मनाउनु पर्ने स्थिति देखिन्छ ।