४६ वर्षीया कोरोना सङ्क्रमित महिलाको  मृत्यु

४६ वर्षीया कोरोना सङ्क्रमित महिलाको  मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २९, २०७७

सप्तरी । कञ्चनरपुर नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । उहाँकाे घरमै मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए । 

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् । सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये एक हजार १५१ जना निको भएका छन् ।