होम आइसोलेशनमा बसेका धरानका दुई सङ्क्रमितको मृत्यु

होम आइसोलेशनमा बसेका धरानका दुई सङ्क्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन २९, २०७७

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

अस्पताल पु¥याइएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिनुभयो ।  उहाँका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन ।  शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो । राति झन् गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो ।  उनलाई आठदश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो । 

यस्तै  प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिनुभयो । उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

धरानमा होम आइसोलेशनमा बसेकाहरुको मृत्युदर बढ्दै गएको छ । अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि  घरमै मृत्यु भइरहेको छ । अक्सिजन पट जोडिएको शय्या नौ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ । नयाँ जडान गरिएको ६ भेन्टिलेटर पनि बिग्रिसकेको छ ।