चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई आर्थिक राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई आर्थिक राहत

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन २९, २०७७

तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ । गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका ११ महिनाका बालक नारायण रानाको परिवारलाई आज नौ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।

उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गर्नुभयो । उहाँले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हुँदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप रु दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।