दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २९, २०७७

बागलुङ । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ । 

बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् । तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक दुई करोड रुपैयाँ भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब एक करोड रुपैयाँका खसीबोको कारोवार गर्दै आएका छन् । 

तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले  सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । 

दशैँ तिहारका लागि सप्तरङ्गी सहकारीले ३९५ र वसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् । दशैँ तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिनुभयो । 'वर्षभरीमा हाम्रो खसीबोकाको बढी व्यापार दशैँ तिहारमा हुन्छ', विकले भन्नुभयो, 'गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कूल खसीबोकाको कारोवारमध्ये आधा कारोवार दशैँ तिहार लक्षित हुने गरेको छ ।'  

दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिनुभयो । दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० मा सङ्कलन गर्ने र ४५५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा रु पाँच बढी लिएर सदस्यहरुका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका शेयर सदस्यमध्ये एक वर्षमा पाँच देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताउनुभयो ।