महानगरद्वारा वेसाहारा १२ सडक मानवको उद्दार

महानगरद्वारा वेसाहारा १२ सडक मानवको उद्दार

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३०, २०७७

विराटनगर । विराटनगर महानगरपालिकाले नगरका  सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गर्नुभयो । विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख रुपैयाँ दिने गरेको जानकारी दिनुभयो ।