ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३०, २०७७

मोरङ । प्रदेश नं १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल शुरु गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ । ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डिपिआरलगायत काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिँदै परियोजना निर्माण शुरु भएपछि अवरोध भए निर्माणले गति लिन सक्दैन भन्नुभयो । उहाँले ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिनुभयो ।