परिभाषा र मान्यतामा फेरिएकाे दशै‌ं : मेरो घर जानको लागि बाटै बन्द !

परिभाषा र मान्यतामा फेरिएकाे दशै‌ं : मेरो घर जानको लागि बाटै बन्द !

बम बानियाँ  |  दृष्टिकोण  |  आश्विन ३०, २०७७

दशैं हिन्दुहरुको चाड हो । तर यसलाई कसैले सबै नेपालीको भन्ने पनि गरेकाे पाइन्छ । दशैंले निकै ठुलो राजनीतिक र  साँस्कृतिक बहसकाे रुप लिने गरेको छ । कहिले त्यो चुलिन्छ त्याे कहिले त्यो सेलाउछ । मैले यो बहसको बिषवयमा यहाँ नगै दशैंको सामाजिक, साँस्कृतिक महत्वको विषयमा केही कुरा उल्लेख गर्न मात्र  खोजेको हुँ। बहसको बिषयमा अघिल्लो लेखमा मैले उल्लेख गरिसकेको छु । 

सधै कहिले आउछौ भन्ने बुबाआमा पनि यो बर्ष नआउ है भनिरहनु भएको छ । दशैंमा कहिले गाउँ आउने भन्ने साथीभाइ पनि यो बर्ष सहरबाट गाउँ आउने बाटो बन्द गरिएको छ भन्नु थालेका छन् । 

वडाअध्यक्षले त गाउँ आउन रोक लागाउने पत्र नै काटिसक्नु भएको छ । मान्छे छिर्न रोक लागाइएको छ । हो गाउँमा तिम्रो लागि प्रवेश निषेध गरिएको छ ।  त्यसैले बुबाआमाहरु यो बर्षको दशैंतिहारमा हामी आउनेछैनौ । हो तपाइहरुलाई अहिले कसैसँग डर छ भने आफन्त सँगै छ । सत्रु छ भने आफ्नै मान्छे छ । मानव मानवविचमा सम्बन्ध टाढिएको बर्ष हो यो ।  नयाँ मान्छे परदेशीले ल्याउने कोशेलीमा समेत निकै ठुलो शंका छ ।  हो मानिस कति स्वार्थी  हुँदो रहेछ या समयले बनाउदो रहेछ भन्ने एउटा ठोस प्रमाण हाे याे । 

हो आमा मायाले संसार नथाम्दो रहेछ हामी यसपटकको दशैंमा घर आउँदैनौ । परदेश गएको श्रीमान् झोलाभरि कमाइ च्यापेर विदेशमै बसेको छ । मिलेन घर आउने टिकट !  बल्ल तल्ल काठमाडौं आइपुगेको छ । अझै वस्नु छ चौध दिन ! पर्खिनुछ पिसिआर रिपोर्ट ! छुट्टी बाटैमा सकिनेवाला छ । पुरा भएन  परिवार भेट्ने चाहना । सबै प्रकृया पुगि गएपनि आउने छैनन् छोराछोरी मेरा काखमा, नजिक आउदै मुस्कुराउने छैनन् श्रीमती बरु उल्टै डराउनेछिन उकुस मुकुस जीवनको अन्तिम समय मृत्युको डर मनभरि बोकेर ।

आमाले दिने छैनन् खुट्टा ढोग्न । बुबा भन्नेछन् अलग्गै बस अझै दुईहप्ता । म आउँदा त गाउँ नै हाँस्थ्यो, देउराली चौतारीहरु पर्खिरहेका हुन्थ्ये, झरना पनि एकछिन उभिएर सुन्थ्यो मेरो संगीत जव म गाउँथे .. उकाली ओराली गदै,  खोला नदी सागर तर्दै आफ्नै गाउँ फर्कि आए........ ! र पो आनन्द आउथ्यो ।

अहिले यी सबै आनन्दहरु लुटिएका छन् । मान्छेको रोग मान्छे भएको छ । त्यसैले म तपाइको शंकाको रोग बोकेर गाउँ आउन सकिन । म त गाउँ आउदा केही नयाँ खुराक लिएर आउने गर्थे र फेरि पनि त्यहि अपेक्षामा रहनुहोला ।

दुवो जतिसुकै ठुलो संकटमा सबै पातहरु झरेपनि  कतैनकतै हरियो वाँचिरहेको हुन्छ र जव अनुकुल समय आउछ, हरियो भएर जाग्छ । हामी मानिसले पनि यो दुवोबट बाँच्न सिक्नु पर्ने जरुरी छ । दशैतिहार छठ लगाएतका चाडपर्वहरुमा मितव्ययिता अपनाई वाच्नु र बचाउनु यो युगकै सर्वत्कृष्ट महान कार्य हुनेछ । सरकारले पनि देश र जनता प्रति जिम्मेवार बनेर बाढिपहिरोले, कोरोनाले, ज्यान गुमाएका परिवारलाई अरु केही नगरे पनि राहत वितरण गरिदिए हुन्थ्यो ।

 हो,  मलाइ थाहा छ मेरै घरको छेउमा मलाइ छेक्ने तगारो छ । मलाइ नआओस् भनेर लकडाउन गरिएको छ । मेरो लागि बन्द गरिएको छ म घर पुग्ने बाटो । हिजोको भन्दा ठ्याक्कै उल्टो  छ । हिजो परदेशी घर पुग्दा बाटैमा लिनपुग्ने दौतरीहरु आज बार हालेर बसेका छन् । यो युगकै रोजक कथा बन्ने छ । हामी कथाका पात्र बनि रहेका छौ । 

दशैतिहार आउँदा करिब एकमहिनादेखि नै गाउँ सहरको रौनक नै बेग्लै हुने । सहरमा बसेकाहरु गाउँ फर्किनेको धुइरो हुन्थ्यो । गाउँमा बस्ने बाउआमाहरु अरुबेला नआएपनि दशैंमा चाहिँ जसरी पनि आउनु भन्दै फोन गर्ने । किसानका बर्षाभरि खेतबारीमा काम गरेर बाली उठाउने समय । धानका भकारी टम्म भरेर, टाट्नाको खसी झिकेर सबै भेला भएर दशैं मान्नुको मज्जै बेग्लै हुने । केटाकेटीलाई पो त झन दशैं । पढाइबाट वाक्क भएर चङ्गा उडाउने, नयाँ लुका किन्ने, गाउँसहरका भेला भएर खेल्ने क्या रमाइलो हुन्थ्यो त्यो दृष्य । दशैमा दशघर डुल्दै दहीचिउरा केरा मुछेर खादै, मार हान्दै हिडेको याद यो बर्ष यादमै रहेने पक्का छ । 

 अझ अगाडिको कुरा गर्दा त धानचामल भनेको पाहुँना र दशैंलाई मात्रै फल्ने, मासु र मीठो मसिनो दशैंमा मात्रै खान पाउने । दशैंको लागि भनेर नयाँ नोठ साट्ने । माइती मावली  आर्शिवाद थाप्न जाने । थुन्सेमा झल्लरी रुमालले ढाकेर सेलरोटी र अचारका कोशेली देउराली चौतारीहरुमा बिसाउदै बेलुका पाहुना लाग्न पुग्ने । उहाँहरु पनि किन ल्याउनु परेको नि यति धेरै कोशेली भन्दै हतारपतार कोशेली खोल्ने । कोशेली खुसी हुदै थन्क्याउने ।

मान्यजनले टीका लगाउदै आर्शिवाद दिने । टीका र जमरासँगै दक्षिणा दिने । दक्षिणाको निकै महत्व हुने । एकघरबाट आर्कोघरमा पुग्ने विचबाटोमा दक्षिणा निकालेर गन्ने । अझ मितबाउको घरमा जाँदाको रमाइलो त छुट्टै हुने । सबैले गक्ष अनुसारका दक्षिणा दिने तर लिनेलाइ भने निकै सकसक लाग्ने । साना केटाकेटीलाई टिका र आर्शिवादको भन्दा नि पैसाको महत्व हुने । रोटे पिङ, लिङ्गे पिङ गाउँटोलमा थाप्ने । युवाहरु भेला हुने । घर रंगाउनु पर्ने, बाटो सफा गर्नु पर्ने । साँस्कृतिक नाँचगान, नाटक मञ्चन तथा  देउसी भैलोमा गुञ्जीने मादल र हार्मोनियमका तालहरु अहिले पनि कानमा गुञ्जिरहे झै लाग्छ । 

दशैंतिहारको मुख्य रौनक नै भेटघाट हुन्थ्यो । सामाजिक साँस्कृतिक रुपान्तरणका काम हुन्थ्ये । विचारहरुका आदानप्रदान, छलफल र संस्लेषण हुन्थ्ये । यो बर्षको दशैंमा खास यी काम हुने छैनन् । दशैंलाई धेरैले दशा भनेर परिभाषा पनि गरेका छन् । स्वभाविक रुपमा यो निकै खर्चिलो चाड भएकाले पनि  दशैं दशा बन्दै गएको हो । हरेक घरमा खसी काट्नु पर्ने, जाडरक्सी खाने, जुवातास खेल्ने जस्ता विषयले दशैं खर्चिलो बन्दै गएको पनि हो । दशैं मान्ने र नमान्ने अहिले पनि नेपालमा धेरै छन् यो स्वभाविक पनि हो ।

कसैलाई दशैं आफ्नो जस्तो लाग्दैन भने नमान्ने स्वतन्त्रता पनि छ । हिजो राजाहरुले दशैं नमान्नेलाई कार्वही नै गर्ने, अनुगमन गर्ने हुँदा सबै नेपालीले मान्न बाध्य थिए । अहिले त्यो अवस्था छैन । डार्विनको सिद्धान्त अनुसार पनि कुनै चिज अस्तित्वमा रहन त्यसको उपयोग र गुण हनुपर्दछ । त्यो भएन अर्थात् आवश्यक्ता भएन भने त्यो आफै लोप हुदै जान्छ । यो ठिक कुरा हो । हाम्रा पनि संस्कार संस्कृतिभित्र अनावश्यक चिज छन् भने लोप हुन जरुरी छ ।

अव दशैं खासगरी यो बर्षको कसरी मान्ने होला त भन्ने विषयमा केही सुझावहरु यहाँ उल्लेख गरिएको छ । हर्स र उल्लासमय दशैं पक्कैपनि यो बर्ष हुनेछैन । राँगा सुँगुर,खसी,भेडा,च्याङ्ग्रामा धेरै खर्च गर्नुभन्दा दशैंमा खर्चहुने गाँस कटाएर हुनेले नहुनेलाई वचाउने समय हो यो । जुवा तास नखेलेर नजिकको साथीलाई उकास्ने जिम्मेवारी लिदिनुस् त कति राम्रो हुन्छ । थुप्रै स्वभिमानी मानिसहरुले दैनिक कुनै विकल्प नभएपछि आत्महत्यासम्म परिणत भइरहेछन् । यी मानिसहरुलाई सानो सहयोग गर्ने हो भने उनीहरुले फेरि केही गर्न र तपाईँको गुन फर्काउन पनि सक्नेछन् ।

 दक्षिण एसियाका मुलुकहरुमा सबैभन्दा बढि महामारीको क्षेती नेपालमा देखिने पक्कापक्की नै छ । एक महिना बन्द भएमा एकबर्ष उक्सीन नसक्ने नेपाली मझ्यौला तथा साना व्यवसायिहरुको हालत निकै तल झरिसकेको अवस्था छ । असी देखि नब्वे प्रतिसत पुर्णरुपमा बन्द भएका  साना व्यवसायिहरु डुब्ने हुने खतरामा छन् भने केही मात्रै टिक्ने छन् । घरबेटी र भाडावालको विचमा ठुलो खाडल परेको छ ।

कर्जा खाने र कर्जा तिर्नेको भाका र म्यादहरु धेरै गुज्रिएका छन् बन्दावगबन्दीको असर । जम्माजम्मी  सामाजिक संजालहरु छन् र समय काटेका छन्।  सामाजिक संजालमा पनि सिर्जनसिल के गर्छन् र कुरा काटेका छन्, दैनिक नराम्रा घटनाबाहेक केही सुनिन्दैनन् । जुकरबर्गहरु धनी बनाइरहेछौ हामीले आफै सिद्धिएर । चाइनाले खरबौको माक्स र सेनीटाइजरकै व्यापार गर्‍यो । हामी उपभोक्ता भयौ। तैपनी हामी नेपाली हौ हामीले सारो गाह्रो अफ्ठेरोमा एकले अर्कोलाई साथदिएर बचाउनै पर्छ ।

दुवो जतिसुकै ठुलो संकटमा सबै पातहरु झरेपनि  कतैनकतै हरियो वाँचिरहेको हुन्छ र जव अनुकुल समय आउछ, हरियो भएर जाग्छ । हामी मानिसले पनि यो दुवोबट बाँच्न सिक्नु पर्ने जरुरी छ । दशैतिहार छठ लगाएतका चाडपर्वहरुमा मितव्ययिता अपनाई वाच्नु र बचाउनु यो युगकै सर्वत्कृष्ट महान कार्य हुनेछ । सरकारले पनि देश र जनता प्रति जिम्मेवार बनेर बाढिपहिरोले, कोरोनाले, ज्यान गुमाएका परिवारलाई अरु केही नगरे पनि राहत वितरण गरिदिए हुन्थ्यो ।

खास नेपाली जनताले पटकपटक भोट दिएर नेतालाइ ठाउमा पुर्‍याएर पनि उनीहरुले बनाएको घरै त माग्ने दुश्साहस गर्दैनन् नि ! सामान्य गास, बास कपासकै कथामा छन् कयौ पात्रहरु । नेपालमा भएका ठुला भ्रष्ट्रचारको रकमबाट यी वर्गहरुको राहत उद्धार गर्न सके सवैको दशै आउथ्यो ।