क्यान्सर अस्पतालमा बिरामीको नियमित उपचार

क्यान्सर अस्पतालमा बिरामीको नियमित उपचार

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ३०, २०७७

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बिरामीको नियमित उपचार भइरहेको छ । कोरो्ना महामारीले बिरामीको उपचारमा खासै कुनै प्रभााव नपरेको अस्पताल विकास समितिले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ को बाँके, बर्दिया र दाङसम्मका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका पदेन सदस्य एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । 

 सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालसम्म पुग्न करिब दुई किलोमिटरको पक्की बाटो खजुरा गाउँपालिकाले रु एक करोडको लागतमा निर्माण गरिदिएको छ । यसैगरी, जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रशासनले पनि अस्पताललाई सहयोग गरिहेको जनाइएको छ । 

'क्यान्सर रोगीका लागि आवश्यक पर्ने ‘किमो’ लगायत सबै प्रकारका ओखती हामीसंग पर्याप्त छन् । चार जना चिकित्सक र १० बढी स्टाफ नर्स स्वास्थ्यकर्मी तथा ल्याब र फामेर्सीका प्राविधिक बिरामीको उपचारमा संलग्न हुनुहुन्छ', उहाँले भन्नुभयो । अध्यक्ष कक्षपतिका अनुसार, अस्पतालमा सिटी स्क्यान, मेमो र रेडियोथेरापी उपकरण जडान भएर सञ्चालनमा आइसकेको छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्ले चिकित्सकसहित ४५ जना स्वास्थ्यकर्मीको थप दरबन्दी स्वीकृत गरेकाले छिट्टै प्रक्रिया पुर्‍याएर भर्ना गरिने उहाँले बताउनुभयो । 


विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको सो अस्पतालले अहिलेसम्म पाँच हजारभन्दा बढी बिरामीलाई उपचार सेवा पुर्‍याइसकेको छ । अस्पतालले हालका लागि ओपिडी सेवाअन्तर्गत बिरामी जाँच, किमो थेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा मात्र दिन सकेको छ । सरकारवाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबट आफनो सेवा प्रारम्भ गरेको थियो । यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ । 

गाउँपालिका अध्यक्ष कक्षपतिकै अगुवाइमा करिब १७ वर्षअघि (२०६५ सालमा) खजुरावासीको यज्ञकीर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो । तर, पछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापाको कार्यकालमा यसको स्वामित्व सरकारले ग्रहण गरी नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गरेको हो ।