मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ३०, २०७७

राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको  इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ गइरहेको स८प ८४८१ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

मृतक हकिम स८प ८४८१ नं को मोटरसाइकलमा पछाडी सवार थिए । उक्त मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बनौलीका २२ वर्षीय गुड्डु अन्सारी गम्भीर घाइते भएका छन् । 

त्यस्तै अर्का मृतक खडक नगरपालिकाका–११ बिसहरियाका साह प्रदेश २–०१–००१ त ३७०१ नं को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा पछाडी सवार उनकी २६ वर्षीया पत्नी सुनिता साह गम्भीर घाइते भएकी छिन् । घाइतेको उपचारका लागि विरागटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।