ज्ञानमित्र | जीवनदर्शन | आश्विन ३०, २०७७
बुद्धले उद्घोष गर्नुभयो, ‘संसार दुःखमय छ' । उहाँको चार आर्य सत्यको जग नै दुःखमय संसार बन्यो। अनि दुःखको कारण पत्ता लाग्यो उहाँलाई, कारणको निवारण खोज्नुभयो उहाँले र दुःखमुक्त अवस्थामा पुग्नुभयो । संसारमा दुःख नभएको भए अथवा बुद्धले दुःखको अनुभूति नगर्नु भएको भए बौध धर्म को उत्पत्ति नै हुने थिएन ।
धम्मपदको प्रारम्भमै उहाँ भन्नुहुन्छ 'सबै कुरा मन हो, मानिसको हकमा सबै कुराको भोक्ता मन नै रहेको पाइन्छ, दुःख होस या सुख अनु भोक्ता यही मन हो ।'
बुद्धको मनले सर्वत्र दुःख देख्यो, काहीँ कतै केहीमा पनि सुख पाएन र अन्तमा पनि दुःखरहित अवस्थामा पुग्यो उहाँको मन । उहाँले त्यसलाई सुखको अवस्था भन्नुभएन । भाषामा हामीले अर्थ निकाल्दा दुःखरहित अर्थात् सुखमय भन्ने बुझ्न सक्छौँ । भाषाको आफ्नै सिमाना अथवा पंगुता हुन्छ । बुद्धले अन्तमा सुख अनुभव गर्नुभएको भए सुख शब्दसँग उहाँको कुनै वैरभाव थिएन होला !
उहाँले चौथो सत्य सुखमय अवस्था भन्नुहुन्थ्यो, तर सुखमय नभनी दुःखरहित अवस्था भन्नुभयो । बुद्ध निश्चय पनि सुखको खोजीमा हिँडेका राजकुमार थिए । जुन कुरा अरूका लागि महासुख हुनसक्छन, त्यसले तृप्ति, सन्तोष, शान्ति, प्रमुखता, सुख अनुभूति हुन सकेन उहाँलाई । राजमहलमा आफूलाई दुःखी पाएर 'कुनै कल्पनाको सुखको' खोजीमै मध्यरात्रिमा बुद्ध हुनु पूर्वका राजकुमार सिद्धार्थले सांसारिकताबाट पलायन गर्नु भयो ।
तर के कल्पनाको सुख भेटियो ? राजकुमार सिद्धार्थले बुद्ध बनेर दुःखरहित अवस्था भेट्टाए, सुख भेट्टाएको भए त आफ्नो परिस्थितिले पनि उहाँलाई ‘ऐ त्यो त्यहाँ राजमहलमा सुख होइन, मैले पाएको सुख नै साँचो सुख हो’ भन्न बाध्य बनाउँथ्यो । तर उहाँ इमानदार हुनुहुन्थ्यो, जे अनुभूति पाउनुभयो त्यै भन्नुभयो, सुख अवस्था होइन दुःखरहित अवस्थामा प्रतिष्ठित हुनुभयो उहाँ र त्यसैको उद्घोष गर्नुभयो ।
मानिस सुख चाहन्छ, एक भिखारीदेखि खरबौंपति केका लागि भौँतारिरहेका छन् ? पाठक मित्रहरू तपाईँ आफैँसँग सोध्नुस् तपाईँ के चाहनुहुन्छ ? प्रधानमन्त्रीको कुर्सी, महाकविको उपमा, राजकीय सम्मान, इच्छित सुन्दरीको सामीप्य, आलिसान बङ्गला, बीएमडब्ल्यू गाडी, आकर्षक जागिर आदि अन्य । यी सब थोक तपाईँ केका लागि चाहनुहुन्छ, सुख प्राप्तिकै लागि होइन र ?
राजकुमार सिद्धार्थ जुन दिन बुद्ध बने, संसार त पुरानै अवस्थामा थियो, सिद्धार्थकै पालाको राजकुमारकै आँखाले हेर्ने किसिमकै थियो । परिवर्तन त राजकुमारमै घटित भएको थियो, बाँकी संसार, यहाँसम्म कि उनीले तपस्या गरेको त्यो वृक्ष पनि जस्ताको त्यस्तै नै थियो । के बदलियो त ? बुद्ध आत्मा परमात्माको कुरा गर्नुहुन्न, कता कता सांख्य दर्शनसँगै उहाँको कुरा मेल खान्छ । उहाँको मन बदलियो, मन-मस्तिष्कको मीमांसा बदलियो, मनको आयाम बदलियो, शरीर त जन्मले जे थियो बाचुन्जेल त्यही नै रहिरह्यो, तर जन्मदेखि बोकी आएको मन भने पूर्ण रुपमा परिवर्तित भयो ।
परापूर्व कालदेखि नै मानिस केही न केहीको खोजीमा रहिआएको देखिन्छ । चहुतर्फी देखिएको यो समस्त विकास उसको जन्मजातको खोजी गर्ने गुणले गर्दा भएको हो । आगोको खोजदेखि 'क्वार्क' कण सम्मको खोजी, चक्का देखि वायु यानसम्मको खोजी, कृषिको खोजीदेखि कृत्रिम पानी पार्नेसम्मको खोजी, अमेरिकाको खोजीदेखि बृहस्पति
ग्रहको कक्षमा ‘जुनो’ यान पठाउनेसम्म उसले केका लागि गर्दै आएको छ ?
करेन्सीको अवधारणा, विद्युतको खोज, कम्प्युटर, इन्टरनेट मात्रै किन घडी, छाता, घर, कुर्सी, सिरक, डसना आदि आदि जे भने पनि उसले केका लागि बनायो ? सुख प्राप्तिका लागि होइन ? 'स्ट्रिङ्ग थ्योरी' कै जनक ब्राहमांड बिउकै खोजीमा किमार्थ लागि परेका छन् ? खोज्दै जानुस् कारण त्यही आउन पुग्छ जसलाई तपाईँ एकै नाम दिन सक्नु हुन्छ त्यो के भने - 'सुखको खोजी' ।
फ्रायदियन ले भन्ने गर्छन् सबै कुरा 'सेक्स ओरिएन्टेड' छन् ।किन र केका लागि छन् सबै कुरा सेक्स ओरिएन्टेड ? सुख प्राप्तिका लागि नै होइन र ! ? तमाम कला, साहित्य, सङ्गीत अथवा अन्य जे सुकै भन्नुस सबै सबै नै मनले चाहेको / खोजेको सुखकै निमित्त होइनन् !
हिन्दुहरूको मनोरम पौराणिक कथा छ । ब्रह्म एक्लै थियो, ऊ आफ्नो एक्लोपनाले दिक्क भयो र त्यो दिक्कपनको दुःख मेटाउन सुखी हुन उसले आफ्नो सङ्कल्पद्वारा (मनद्वारा, सङ्कल्प मनसँग सम्बन्धित छ) सारा सृष्टिको निर्माण गर्यो । यस अर्थमा हामी सबै नै ब्रह्मको सुखको अभिलाषाका मूर्त रूप हौँ । हामी सुखी भए, हामी खुसी भए ब्रह्म नै सुखी–खुसी हुन्छ । हामी दुःखी भए ब्रह्म नै दुखी हुन्छ । मानिसमा भएको सुखको खोज र चाहना ब्रह्म प्रदत्त भएन र ?
हिन्दुहरूको पौराणिक कथा ब्रह्म सृष्टिको प्रसङ्गवश उल्लेख गरे पनि म जस्ता यायावरका लागि सृष्टि कसले गर्यो, ईश्वर छ कि छैन, पुनर्जन्म हुन्छ कि हुन्न, आत्मा छ कि छैन ? कर्म, प्रारब्ध, निर्वाण, मोक्ष र यसका साधन एवम् विधि विषयक आदि यावत जिज्ञासा अथवा प्रश्न अलिकति पनि महत्त्व राख्दैनन् । मेरो मानसमा यी प्रश्नले कुनै स्थान नै ओगट्दैन, प्रश्न नै नभएपछि जवाफको उत्कण्ठा रहन्न ।
हो, यस चेतनाले यति बुझेको छ मानिस सुख चाहन्छ, खुसी हुन् चाहन्छ । साँच्चै यदि म सिद्धार्थ गौतम बुद्धमा विश्वास राख्ने, उहाँको अनुगामी भएको भए निश्चय नै शरीर हत्या (आत्महत्या भनेर म उहाँको अपमान गर्न चाहन्न) गरी सक्ने थिएँ, जब सुखको अवस्थाकै पूर्ण अभाव छ दुःखरहित अवस्था मात्रै छ भने त्यो पाउन किन तमाम उपद्रो गर्नु ? बाँसै नरहे मुरलीको के कुरा ?
मानिस सुख चाहन्छ, एक भिखारीदेखि खरबौंपति केका लागि भौँतारिरहेका छन् ? पाठक मित्रहरू तपाईँ आफैँसँग सोध्नुस् तपाईँ के चाहनुहुन्छ ? प्रधानमन्त्रीको कुर्सी, महाकविको उपमा, राजकीय सम्मान, इच्छित सुन्दरीको सामीप्य, आलिसान बङ्गला, बीएमडब्ल्यू गाडी, आकर्षक जागिर आदि अन्य । यी सब थोक तपाईँ केका लागि चाहनुहुन्छ, सुख प्राप्तिकै लागि होइन र ?
दुःखका साथ भन्नुपर्छ आज मानव जातिले नै यो मूल कुरा बिर्सेको छ कि उसको लक्ष्य सुख प्राप्ति हो । यसको एउटा प्रमुख कारण हाम्रा तथाकथित माडसापहरु पनि हुन् । यिनले सुखको सधैँ निन्दा गरी आएका छन् । यिनीहरूले आम मानिसको मस्तिष्कमा आफ्नो स्वयम्का लागि सुखको खोजी गर्ने कार्य घृणित एवम् निन्दनीय हो भनी 'प्रोग्रामड' गरी दिए । र यसो गर्नुलाई स्वार्थको संज्ञामा रूपान्तरण गरिदिए ।
आफ्नो लागि क्षणिक सुख होइन, वरन मुक्ति, मोक्ष, निर्वाण, परम्पद, कैवल्य, आत्म साक्षात्कार, अंह ब्रहास्मिको कहिल्यै ननासिने, कहिल्यै नहराउने, कहिल्यै नघट्ने, स्थिर सुख, आनन्दको खोजी गर, यही नै मानव जीवनको लक्ष्य हो भनी बुद्धि भुट्ने कार्य सफलतापूर्वक गरिदिए तथा कथित नैतिक धार्मिक माड्सापहरुले ।
मानिसको नजरमा आफ्नो लागि ‘सुख खोज्दैछु’ भन्नु अपयशमूलक बन्न पुग्यो तर प्रकृति मानवीय शिक्षाले कहाँ बदलिन्छ । मानिसको प्रकृति आफ्नो लागि सुख खोज्नु थियो र अझै छ । विश्वका तमाम आदर्शवादीहरूको अथक चेष्टाले फरक यति मात्र आयो, मानिस सद्मी बन्यो । नभनीकन, नजानीकन, नबुझीकन भए पनि उ व्यक्तिगत सुखकै खोजीमा हुन्छ,लोक लाज र आफूलाई सामाजिक धार्मिक तथा आदर्शवादी देखाउन उसले नाना आवरणमा अनेक ढोङ गरेर आफूलाई फरक ढङ्गले प्रस्तुत गरी रहेको हुन्छ ।
अर्कातिर भौतिकवादीहरूले पनि विभिन्न नारा जस्तै समाज, देश, जाति, मानवता, समुदाय, सम्प्रदाय, धर्मको बृहद हितका लागि मानिसलाई व्यक्तिगत सुखको चाहना गर्नु निन्दनीय हो भनी ‘कन्भिन्स’ गरे । 'जननी जन्मभूमि स्वर्गादपि गरियसि', 'सत्यमेव जयते'को घोकाइले साधारण मानिस मर्न /मार्न तैयार भयो । परिणामतः व्यक्तिगत सुख निन्दनीय बन्यो । आज परिस्थिति यो छ कि कसैसँग पनि सोध्नुस् ऊ म सुख चाहन्छु, सुखको खोजीमा छु भन्ने मानसिक स्पष्टता राख्दैन ।
बुद्ध कसरी बुद्ध भए, शङ्कराचार्य आमाको सुखका लागि आफू पनि रमाएर आमाको काखमै बसिराखेको भए के आदि गुरु बन्ने थिए ? मुकेश अम्बानी पिता धीरुभाई अम्बानीले थुपारि दिएको धनराशिमै अल्मलिएका भए के ‘अन्तालियो’ बन्ने थियो । उपलब्ध सुखले सन्तुष्ट भएको भए उपर्युक्त अथवा अन्य कोही पात्र पनि सफलताको शिखर छुन सक्ने थिएनन् ।
बुद्धको निर्वाण पनि सुख हो, विल गेट्सको धनदौलतको संसार पनि सुख हो, अमत्र्यसेनको सतत् अध्ययन र अर्थशास्त्र पनि सुख हो, आजन्म ह्वील चेयरमा बसेर स्टीफन हाकिन्सले गरेका ब्लैक होल सम्बन्धी जटिल समीकरणको व्याख्या गर्नु पनि सुख थियो ।
सारा प्रकृति सुखमय छ, को दुःखी छ यहाँ मानिस बाहेक ! के तपाईँले मानिस बाहेक श्रष्टिको अन्य कुनै जीवधारी, कमिलादेखि हात्तीसम्मको कुनै पनि प्राणीलाई दुखी भएको हेर्नु भएको छ ? फेरी मानिसलाई दुखी बनाउने उसकै सदृश्य मानिस नै होइनन् र ?
एक पटक विचार गरी हेर्नुस् त समाजमा तथाकथित नैतिकतावादी, धूर्त सुधारक महोदयहरू न भइदिएको भए संसार कस्तो हुन्थ्यो ?तपाई कस्तो बन्नु हुन्थ्यो ? निश्चय पनि अहिले जस्तो हुनुहुन्छ त्यो भन्दा राम्रै अवस्थामा सांस फेरी राख्नु भएको हुन्थ्यो ।
जहाँ जुनसुकै हालतमा हुनुहुन्छ पहिला त्यसमै सुख अनुभव गर्न प्रारम्भ गर्नुस् र निश्चय गर्नुस् म आफूलाई सुखी बनाउँछु र म सुखको खोजीमा छु भन्ने विश्वास गर्नुस् प्रकृतिसँग बुद्ध बनाउने कोटा पूर्ण भएको छैन र न त बारेन वफेट, जस्तो बन्ने कोटामा आरक्षण पद्धति कायम गरिएको छ ।