गृहबन्दी

गृहबन्दी

रक्ष राई  |  साहित्य  |  कार्तिक १, २०७७

पुनः यहाँ प्रशान्त एकान्त व्यप्त हुन्छ । 

एउटा प्रिय गतिमय जीवनको कोलाहलबाट निर्घात बाहिर निस्किएर अर्कै सर्वाङ्ग विरक्तिले निलेको महाशून्य र निर्जन टापुमा आइपुगे जस्ती भएकी छु म । एकप्रकारले आफैसँगको विच्छेद वा पृथकीकरण । जहाँ कोही छैन र त्यहाँ म छु । फेरि पनि म त्यहाँ छु जहाँ म छुइनँ ।

कुनै दिन स्वप्निल थिएँ म । जुन दिन मेरा स्वप्निल दुनियाँका बेर्ना सारेकी थिएँ, ती अशोकाका रूखहरूमा । जो घरको मूलद्वार र पर्खालका वरिपरि मप्रति नरभक्षी आँखा फालेर निर्दयी सिपाहीजस्तो ठिङ्ग उभिरहेका छन् यतिखेर । यही नै ऐठन लाग्ने गरी तिनका छायाँ ढल्किरहेका छन् मतिर । जहाँ प्रातः कालका जुरेली प्रीतका गीत होइन ट्राफिक प्रहरीजस्तो दिक्दार लाग्दो आपतकालीन सिट्टी फुकिरहेछ । ऐँठनयुक्त छन् माथिमाथि आकाशको क्षितिजमा दृश्यवान साँगुरी, भेडेटार र विजयपुरका शृङ्खलाबद्ध पहाडहरू । कुनै अव्यक्त पीडाका प्रशान्त महासागर हो यो अनन्त आकाश, जो निःसर्त टाउकामाथि बोकेर हिँडिरहेकी छु म । 

घरकै पेटी भएर धेरै प... र ... सम्म निश्चित गन्तव्यतर्फ लक्षित निर्जन सडकको पल्लो छेउसम्म पुग्न मन लाग्दछ । तर सोच्दछु, मानिसको यात्राको अन्त्य कहाँ छ ? मानिस सदियौँ वर्षदेखि यात्रारत छ र पनि ऊ यही धर्तीमा नै छ । मानिसको यात्रारम्भ र अन्त्य धर्तीदेखि धर्तीसम्म नै हो भने उसको यात्राको औचित्य के ? 

सोच्दछु, जीवनलाई यसरी समग्रतामा हेरिसकेपछि त्यसको अर्थ नलाग्दो रहेछ । जसले जीवनमा शून्यता, निस्सारता र अकर्मण्यता छाउँदो रहेछ । मेरो जीवनको निस्सारता पनि त्यहीसँग जोडिएको हो कि त । प्रत्येक बिहान यही घरबाट मेरो यात्रा आरम्भ हुन्छ र साँझ यही घरमा अन्त्य हुन्छ । मेरो यात्रा यही घर र गन्तव्य पनि यही घर हो भने मेरो यात्रा खोइ ? म बाँधिएकी छु वरिपरिका पर्खालहरूले र स्थूल भएकी छु यो घरको जडताले । यो घरको पेटी भएर प...र..प... र..सम्म पुग्ने निस्प्रिह सडकले मेरो जीवनमा कुनै अर्थ राख्दैन । 

चुन्चु साडी, सिन्दूर, पोते र चुरा पहिरिन्छे । ऊ विश्वस्त छे कुनै पल्टनेसँग उसको स्वयम्बर भएको छ । ऊ निश्चिन्त छे कि कुनै पल्टनेको अर्धाङ्गिनी भएकीमा । यो सोह्रशृङ्गार तिनै पल्टनेका लागि हो । तर सुन्दरताको कुनै अर्थ छ भने त्यो निर्दयी पल्टनेलाई के थाहा ? 

उता दक्षिण पश्चिमतिर धरान घोपा क्याम्प छ । विगतमा लामो समय ब्रिटिशले द्यचष्तष्कज न्गचपजब च्भअचगष्तक क्भभिअतष्यल म्भउयत बनायो घोपा क्याम्पलाई । विगत केही वर्ष अघि ब्रिटिशले घोपा क्याम्प छाडेर गए पनि उसले यी चिल्ला र चौडा सडक र नगरको सरसफाई जस्ता एउटा राम्रो संस्कार दिएर गएको छ धरानलाई । ब्रिटिशको यो संस्कारको अनुकरणले स्वच्छ, सुन्दर र आकर्षक बनाएको छ धरान सहरलाई । यो भूतपूर्व र बहालावाला गोर्खाहरूको बसोवासले निर्माण भएको सुन्दर नगर हो । 

म अल्छीलाग्दो गरिकन हाई काढ्दछु, यसो गर्दा च्यापुदेखि टाउकासम्मका नशाका तन्तुहरू तन्किएर छाडिदा आउने एकप्रकारको आनन्दको लहरसँग चिप्लिँदै जान्छु । फेरि पनि म यही घरमा हुन्छु वा यही बार्दलीमा हुन्छु । हेर्दछु, घरकै छेउ भएर सप्तकोसीलाई गन्तव्य बनाएर उँधोउँधो बग्दै गएको सर्दूखोलाको बगर मेरो जीवनको पर्याय हो । जो वर्षभरिमा केही समय मात्रै पानी भएर बग्न पाउँछ । बाँकी समय बगर भएर बग्दछ मेरो जीवन जस्तै । 

म औँला भाच्दछु, अब मेरो जीवनको तीन वर्ष सर्दुखोलाको बगरजस्तै बग्ने हो । सर्दुको लम्बेतान बगरले मलाई विरक्ति छुट्दछ । अल्छी नगरिकन ज्यान तन्काउँछु । आलस्यले जीउ कटकटाइरहेको हुन्छ । तर म स्वयमलाई थाहा छैन यो दुःख मैले रोजेको सुखको परिणाम हो । सुखको मायावी छायाँ पछाडि भयङ्कर दुःखको खाडल हुँदो रहेछ । यो आलिसान महल र वैभवता दुःखको भास हो । यी नोकर चाकर र भौतिक सम्पन्नता दुःखका स्रोत हुन् । म सुनैसुनको अदृश्य नेलले बाँधिएर गृहजेलभित्र कैद छु । तापनि म मुक्त हुन सक्तिन यो अदृश्य बन्धनबाट । 

दिन चौपट्ट भएर बित्दछ र लम्बेतान रातको के बयान ? निद्रासँग सम्बन्ध टुट्नु भनेको फूलको ओछ्यानमा काँडाको सपना निदाउनुरहेछ । ताराहरू गनेर कति रात आफूलाई ढाँट्नु ? काम सम्झिन्छु, कामले कुनै अर्थ राख्दथ्यो भने मेरो जीवन उहिल्यै सार्थक हुन्थ्यो । 

पहाड उक्लिरहेको कुनै ढाक्रे नुनको भारी ढाकर चौतारामा बिसाएर वर–पीपलको शीतलमा सुस्ताएजस्तो थकित र क्लान्त मनले खुइया मार्दा म आफ्नै घरको बैठक कोठामा हुन्छु । म बैठक कोठामा सजिएका शृङ्गारका सामानहरू हेर्दछु, ती पूर्ववत् यथावत छन् । आल्मारीमाथि सजिएका मेरा पल्टनेका पुस्तकहरू सब यथावत छन् । पूर्ववत् छन् भित्तामा शृङ्गारित भूपी, पारिजात र देवकोटाका तस्बिरहरू । मलाई मेरा पल्टनेको विपर्याय अर्थात् विरोधाभाषापूर्ण जिन्दगीको टिठलाग्दो क्षणलाई सम्झिने पर्याप्त फुर्सद छ । ऊ कर्मले राइफल चलाउँछ र सृजनामा कविता लेख्दछ । यी आल्मारीभरि सजिएका पुस्तकका ठेलीहरू भित्तामा सजिएका राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यकारहरूका तस्बिरहरू उसको विरोधाभाषपूर्ण जिन्दगीका प्रतीक हुन् । 

यसरी भित्ताबाट आँखा ओराल्दा टेबलमाथिको फूलदानीमा दृष्टि खस्दछ, 'अहो ! म जस्तै बासी भएछन् यी फूलहरू पनि... ।'

'आन्टी, ती फूलहरू आजै फेरेका ताजा हुन्... ।' त्यति नै खेर चुन्चुको आवाज मेरो अन्तरभेदन गर्दै मनेँर आइपुग्दछ । म भ्रान्तिमा परेछु, ताजा फूललाई पनि बासी पो देख्न पुगेछु । सायद, म आफै पो सुवासरहित बासी फूल हुँ कि ! म चुन्चुको आवाजले एकछिन अल्मलिन्छु । अघि भर्खरै झ्यालको कुनामा झुन्डिरहेको माकुराको जालोले पनि मलाई नै भ्रान्ति दिन्छ । म टहलिँदै बार्दलीमा निस्किन्छु । तल तल आँखाको बाटो छेकेर बसेको छ चारकोशेको घनाजङ्गल । उभो तन्किएर गएको छ मनुयुङ्बा मार्ग र तल जोडिएको छ भिक्टोरिया चौकसँग । 

सोच्दछु, त्यो भिक्टोरिया चौक घोपा क्याम्पमा ब्रिटिश हुँदा नै उसैको संस्कारको अनुकरणले बनिएको हो । समय चेतकका रूपमा भानु चौकामा भूतपूर्व तथा बहालवाला गोर्खाहरूद्वारा निर्मित घण्टा घर प्रत्येक घण्टामा समय चेतना ठोक्दछ... टङ्... टङ् ... टङ्... !

यस्तो लाग्छ, यहाँ म मात्रै एउटा मान्छे समयविहीन छु । हेर्दछु, कुनै वातावरण छैन भोग्न लायकको र कुनै मनोहर दृश्य छैन हेर्न लायकको । 

'तरकारीलाई यसरी काट्नू... मीठो चट्नी बनाउनुपर्दा सामानहरू ठीक मिलाउनू... तिहुनमा नुन कम राख्ने बानी राम्रो... दाल बाकुलो जाती... चामल भिजाएर पकायो भने खान नरम हुन्छ... ।' यी अल्छीलाग्दो संवाद बोलिरहँदा म भान्सा कोठामा हुन्छु । 

बिहान ब्युँझिएको ओछ्यानको याद आउँदा म आफ्नो सयन कक्षमा हुन्छु । तर जादूमय छ यो घर चुन्चुको पौरखमा । सबथोक यथावत छन् । ढलेको सिन्को मेरो भागमा पर्दैन । यी तमाम कामहरू मेरा लागि हेर्ने दृश्यहरू मात्र हुन् । म स्नान कक्षमा छिर्दछु । 

'आन्टी, तपाईंलाई आरामको जरुरी छ, त्यो मरो काम हो ।' म भ्रान्ति हुन्छु कि यो घरको नोकर चुन्चु हो कि म ? 

'ओइ चुन्चु, तँ पढ्दै पनि छेस कि काम मात्रै गर्छेस हँ ? पढ्न मनै गर्दैनस् मोरी... !'

धेरैचोटि दोहोर्‍याइसकेको संवाद पुनः तेहर्‍याई सक्दा म छतमाथि हुन्छु । घाम पूर्व पहाडको अझ माथि उक्लिसकेको छ । कहिलेकाहीँ आकाश शुद्ध हुँदा मलाई सगर र सागरमा भ्रम हुने गर्दछ । अहिले स्निग्ध आकाशका स्थूल बादलका धर्साहरूले विचित्रका कला प्रदर्शन गरिरहेछ । भ्यान गÞग, पिकासो र लैनसिंह बाङ्देल ? म बुझ्दिनँ कलाको अर्थ । त्यसैले त्यसले पनि मलाई कुनै आनन्द दिँदैन र मन त्यहाँ पनि अडिँदैन । 

म तल फूलबारीमा ओर्लिन्छु । शीतका बूँदमा टल्किरहेका फूलहरू पनि हाँसेका छैनन् आज । मलाई पनि शीतका बूँद आफ्नै अनुहारझैँ लाग्दछ । काँडा पनि कम उदास छैनन् । आज काँडा उदास छ कि मेरो मन ? म छुट्याउन नसक्ने भएकी छु । तापनि फूलको उदासीलाई स्पर्श गर्न खोज्दा म काँडाको ईष्र्या भोग्दछु ... 'आइया... आन्टी, काँडा बिझ्यो... !'
तल फूलबारीबाट आएको चुन्चुको आवाजले म झस्किन्छु । म त तल फूलबारीमा होइन छतमाथि नै पो रहेछु । तल फूलबारीमा ओर्लिएकी त चुन्चु पो रहिछे । 

०००

सडक त्यसरी नै तन्किएर प..र..प... र ... सम्म पुगेको छ । त्यहाँबाट एउटा सुकुल गुण्डा सुइसुइला मार्दै हिँड्छ । त्यो डरलाग्दो अपराधी हो । चुन्चुको बैँसको हत्यारा हो । त्यो बेकारी र बेरोजगार समयको दुरूपयोगी हो । चुन्चु आतिन्छे र फूलबारीबाट उछिट्टिँदै घरभित्र पुग्छे र ढोका बन्द गर्दछे । त्यो आवाराको सुइसुइला चुन्चुको कानमा भरिँदै आउँछ र त्यसको पदचाप उसको अन्तरभित्र नजिकिँदै आउँछ । त्यो लफङ्गाको मांसहारी मुस्कान र ज्यानमारा आँखा चुन्चुलाई नै लघार्दै आउँछन् । ऊ फोक्सोमा बढ्दो श्वास–प्रश्वास र छातीमा अनियन्त्रित मुटुको गतिलाई रोकेर झ्यालको काप अलिकति खोल्छे र सडकतिर चिहाउँछे । त्यो सुइसुइलाले चुन्चु पूर्णरूपमा बदलिन्छे, यौटी पूर्ण यौवना चुन्चु । 

चुन्चु साडी, सिन्दूर, पोते र चुरा पहिरिन्छे । ऊ विश्वस्त छे कुनै पल्टनेसँग उसको स्वयम्बर भएको छ । ऊ निश्चिन्त छे कि कुनै पल्टनेको अर्धाङ्गिनी भएकीमा । यो सोह्रशृङ्गार तिनै पल्टनेका लागि हो । तर सुन्दरताको कुनै अर्थ छ भने त्यो निर्दयी पल्टनेलाई के थाहा ? 

'आन्टी, म ता यो सोह्रशृङ्गारमा उमेरै नआई बूढी पो भएछु । अब कसरी एक्सल होन्डा कुदाउनु... ?' चुन्चु बैँसले आतिन्छे । 

'अब एउटा ड्राइभर राख !'

'नाई म ता ड्राइभर सँगै पो... ।' चुन्चु बैँसले पातिन्छे । 

ऊ सडकको पल्लो छेउसम्म हेरिपठाउँछे । जहाँ देखिने पूर्ववत् दृश्यहरूमा कुनै नयाँपन थपिएको छ्र । हिजो जस्तै रसविहीन दिन आउने, जाने र दोहोरिने मात्र हुँदैन । प्रकृतिमा कुनै नयाँ सौन्दर्य थपिएको छ । हावा पनि हिजो जस्तो तातो भएर बहँदैन । यी मरेका मान्छेहरू हेरेर चुन्चुले आफूलाई मात्र जिउँदो सम्झिरहन पर्दैन । घर अगाडिको सडक जिउँदो सर्पझैँ सल्बलाइरहेको छ । त्यही सडक भएर उसको पल्टने घर फर्किने हो । अब उसलाई त्यो सडक पर्खिन उदास र पत्यार लाग्दैन । चुन्चु त्यो सडकमा जीवन भर्छे । अब त्यो सडक निर्जन र उदास छैन । 

 तल मूलद्वारमा फलामको गेट बजेको आवाज आउँछ । सायद मगन्ते आयो होला । मगन्तेहरूलाई भिक्ष बाँडेर धर्म बटुल्दछ यो धर्मात्मा धरान । चुन्चु बरन्डामा निस्किन्छे्र

'अहो ! धेरै दिनपछि मगन्ते यो घरमा आयो ।' चुन्चु हतारिँदै मूलगेटमा झर्छे । गेटको चाँबी खोल्दा आएको आवाजले धेरै दिनपछि घरलाई जीवन दिन्छ । 

चुन्चु सोच्छे, 'मगन्ते यसरी नै आइरहोस् ! मगन्ते त्यस्तो मरेको मान्छे होइन, जो एकपटक गएपछि फेरि फर्किएर आउँदैन ।'

फेरि त्यही मगन्ते दोहोरिएर आउँछ । 

चुन्चु उसलाई सिदा दिएर बिदा दिन्छे । 

चुन्चु अहिले बार्दलीमा छे । सडकको चहलपहलमा नयाँपन आएको छ । एकहुल कुकुरहरू कुकुर्नीलाई लघार्दै आइरहेका छन् । अचेल कुकुरको मौसम सदावहार बनेको छ । हुलबाट पछाडि परेको लुते कुकुर उसको गेटको भित्तामा पछाडिपट्टिको खुट्टा उचालेर आफ्नो धर्म निभाइराखेर जान्छ । 

अहिले सडक सुनसान र एकान्त छैन । हेर्दा के देखिन्छ भने – त्यही सुकुलगुण्डा सुइसुइला मार्दै यता आइरहेछ । त्यसले हठात् चुन्चुको मनस्थिति बिग्रिन्छ । त्यो सुकुलगुण्डाले उसको पल्टने आउने सडकको रमाइलो वातावरण बिथोल्छ । ऊ झ्यालढोका बन्द गर्छे । कानमा औँलाको चुकुल ठोक्छे । त्यो अगतिलाई देखेपछि कुसाइत पर्छ । दिनभरि तनाव र उद्दिग्नताले छोपिरहन्छ । मन बेचैन र अजीर्ण भइरहन्छ र खानामा पनि अरुचि हुन्छ । तर त्यो आवारा सुइसुइला मारिरहन्छ र त्यो आवाज सिमेन्टको भित्ता छिचोल्दै

उसको अन्तर हृदयभित्रसम्म पुग्ने गरी आइरहन्छ... 

'चुन्चु तँ मसँग प्रेम गर्छेस्... ।'

'त्यो पल्टने तेरो रोजाइ होइन ।'

'त्यो भौतिक सुखसयल आत्माका लागि धोका हो ।'

'तेरो रोजाई ता म हुँ... म... !'

कानमा कोचेको औँलाको चुकुल खोल्दा फोनको घन्टी जोडजोडले बजिरहेको हुन्छ । यन्त्रवत फोन उठाउँदा उसको पल्टनेको आवाजले कान भरिन्छ । 

'प्रिया, नयाँ साडी पठाइदिएको छु है !... तिम्रो लिपिस्टिक र गाजलको ब्रान्ड कुन हो ? ' उसको पल्टने एकोहोरो संवाद भट्याइरहन्छ । 

त्यसको प्रत्यूतर के हुनुपर्ने हो चुन्चुलाई चेत छैन... 'यावाछा, तिमी कहिले आउँछौ ? भैगो, अब तिमी नआए पनि हुन्छ... अब मलाई तिमी नभए पनि हुन्छ... ।' चुन्चु आफ्नो संवादलाई सीघ्र सिध्याउँछे र तत्काल फोन सम्पर्क विच्छेद गर्छे । 

चुन्चु अझै विश्वस्त छे कि उसको स्वयम्बर त्यो पल्टनेसँग भएको छ । ऊ त्यही पल्टनेको अर्धाङ्गिनी हो । जो कुनै दिन आएर उसको हात समातेर हङकङ र बेलायत लैजाने छ । ऊ राति ओछ्यानमा जाँदा पनि पल्टनेको लागि सिन्दूर, पोते, चुरा र साडी पहिरिएर सुत्दछे । तर त्यो निर्दयी पल्टने उसको सपनामा आउँदैन, बरु आउँछ त्यही आवारा सुकुलगुण्डा । ऊ बन्दी हुन्छे त्यो लफङ्गाको जब्बर हात र बलिष्ठ पाखुराको बन्धनभित्र । त्यसले उसलाई आनन्दको प्वाँखमा चढाएर सुखको अनन्त आकाशतर्फ लैजान्छ ।

उनीहरू सगरमाथाको आरोहण गर्दछन् र सुख–श्वास लिन्छन् । उनीहरू माछापुच्छ्रेको पखेटामा बास बस्छन् र फेवातालमा पौडी खेल्छन् । ... 'अहो ! परम सुख ! सायद स्वर्ग भनेको मानिसले भोगेको सुखद अनुभूतिको तत्क्षण नै हुनुपर्दछ ।'

बिहान ब्युँझिँदा ऊ अर्कै स्वास्नीमान्छे भएर ब्युँझिन्छे । एउटा आनन्दको लहर शरीरका हरेक तन्तुहरूलाई स्पर्श गरेर अन्तर हृदयभित्र लहरिदै जान्छ । खोंडेबाजेको कान्छो छोरो दुव्र्यसनको लतमा एकाबिहानै हापजाँगेभित्र दुवै हात घुसारेर आफ्नै पिसाब सुग्दै हिँडेको कुकुर जस्तै लुखुरलुखुर जान्छ । ऊ गइसकेपछि सडक पुनः निर्जन हुन्छ । 

यही अवसरलाई उपयोग गर्दै चुन्चु तल मूलगेटको चाबी खोल्न झर्दा एउटा पूर्व परिचित मान्छेले उसको हातमा रातो लिफाभित्रको विवाहको निमन्त्रणा कार्ड थमाइराखेर जान्छ । चुन्चु कुनै उत्सुकताविहीन स्वाचलित यन्त्रजस्तो त्यो लिफा खोल्दछे र त्यसभित्रका निमन्त्रणाका शब्दका हरफहरू यन्त्रवत पढ्दछे र पढ्दछे आफूभित्रका अन्तस्करण पनि । ऊ हठात आफूभित्र आएको परिवर्तनको अनुभव गर्दछे र निश्चय गर्दछे कि त्यो लफङ्गाको विवाहको निमन्त्रणा उसका निम्ति प्रसन्नताको विषय हो । आजबाट ऊ उन्मुक्त, निर्भय र प्रसन्न छे । मन शनैःशनैः हावाको गतिमा चञ्चल र पुतलीको भाँती नृत्यवत् छ । 

चुन्चु पुनः आफूलाई यन्त्रवत अनुभव गर्छे । ऊ भ्रन्तिमय छे । यो क्षणक्षणमा आफूभित्र भइरहने परिवर्तनका अनुभूतिका लक्षणहरू के हुन् ? उसलाई त्यसको बोध छैन । ऊ पुनः कुनै अज्ञात बोझले थिचिएझैँ बोझिल बन्छे । 

ऊ यन्त्रवत शृङ्गार गर्दछे त्यो पल्टनेका लागि । गाजल, लिपस्टिक, पाउडर, सिन्दूर, पोते, चुरा र साडीमा आफूलाई सजाउँदछे । ऊ पुनः निश्चय गर्छे कि पक्कै पनि आज ऊ प्रसन्न छे । फेरि पनि उसको पल्टनेसँग स्वयम्बर हुन लागेको छ । फेरि पनि ऊ सोह्रशृङ्गारमा पल्टनेकी पत्नी हुन गइरहेकी छे । को हो र त्यो सुकुलगुण्डा उसलाई दुःखी बनाउने ? सुखी र दुःखी ता ऊ आफ्नै कारणले पो छे । यो महलको सांसारिक वैभवतासँग जोडिएको उसको जीवनको मुक्तिको सम्भावना छैन । यद्यपि ऊ प्रसन्न छे । 

'तर सुखमा पनि आँसु ता झर्दो नै रहेछ हगि आन्टी !'

 मेरो भ्रान्ति टुट्दा सामुन्ने चुन्चु यो संवाद बोलिरहेकी हुन्छे । भिजेका परेली पुछ्दै गर्दा पो मलाई आफ्नो स्थितिको बोध हुन्छ कि भर्खरैसम्म हर्ष या विस्मातले रोइरहेकी चुन्चु नभएर म पो रहेछु ।

 

वेल्स, बेलायत