एउटी छोरीको प्रतिज्ञा

एउटी छोरीको प्रतिज्ञा

नदिया लिवाङ  |  साहित्य  |  कार्तिक १, २०७७

आमा !
मेरो जीवन यात्रा 
तिम्रो गर्भमै तय भएको रहेछ
त्यसैले त 
सुरु भयो एक विन्दु भ्रुणबाट मेरो जीवन !

आमा !
आफ्नो गर्भमा बढदै गएको भ्रुण सम्झिँदै
कति आतिन्थ्यौ होला है तिमी
कति छट्पटिन्थ्यौ होला
बोकेर शिथिल शरीर/कमजोर मनस्थिति !

भीडहरूमा पनि सधैँ एक्लिएर
एक शरीर दुई ज्यान भएर श्वास फेर्नुपर्दा 
कति गार्‍हो भयो होला तिमीलाई ?
कति सकस पर्‍यो होला तिमीलाई ?
मेरो जन्मले सुनामी चल्यो होला मनमा
भेलबाढी ल्यायो होला सपनामा !

मेरो आगमनसँगै
तिम्रो खुसीको संसारमा एकाएक    
तुषारोपात भयो होला
तर पनि
वास्तविकतालाई आत्मसात गर्दै
तिमीले ममतालाई जोगायौ
करुणालाई जगायौ  
दुनियाँसामु बाँच्ने साहस देखायौ !

केही महिनापछि पो थाहा भयो 
फेरि अर्को तीतो वास्तविकता जीवनको
तिमीले देखाएका रंगीचंगी खेलौनाहरू नहेरी
बलेको ज्योतितिर पनि नहेरी
केवल एकोहोरो आकाश हेर्दै 
मुस्कुराउँदो रहेछु म शून्यतामा
डाक्टरले रहस्य उदाङ्गो पारिदिँदा
तिमी छाँगाबाट खस्यौ होला 
आँसुुहरू सम्हाल्दा–सम्हाल्दै पनि
भक्कानियौ होला कयौँ पटक
मर्दै बाँच्दै गर्‍यौ होला कयौँ पटक !

खै ! अरु आमाहरूले झैँ 
गर्‍यौ कि गरिनौ
मेरो दीर्घायूको कामना 
मेरो अनिश्चित भविष्यलाई सम्झेर
कुन देवीलाई पुकारिनौ होला ?
भाकल गरिनौ होला ?
धामीझाँक्रीको शरण परिनौ होला ?

कसरी सम्हाल्यौ नि ती दिनहरूमा आफूलाई ?
तिमी साँच्चै एक मात्र वीरङ्गना जननी हौ
जसले आफू बाँचुन्जेल
ग्रहण लागेको यो जीवन सम्हाल्ने प्रण गर्‍यौ
एक्लो  र निरीह जीवनमा पनि
त्यसैले त तिम्रो आँट र साहसको अगाडि
आकाश पनि झुकेको छ/धर्ती पनि मौन छ ।

खै ! ती चार राक्षस मध्ये 
कसको पाप बोक्यौ नि व्यर्थमा ?
ती गिद्धहरूले ठुङ्ग्नुसम्म ठुङ्गे तिमीलाई
कति पीडा खप्यौ हौला 
हारगुहार गर्दै कति रन्थनियौ हौला 
इन्द्रियरहित, विवेकहीन भित्ता र भुइँहरूसँग,
त्यसैले त हरेक पुरुषलाई दानव देख्छु भन्छौ तिमी
अँध्यारोसँग डर लाग्छ भन्छौ तिमी
मलाई के थाह आमा ? 
अँध्यारो के हो, उज्यालो के हो ?
देव के हो, दानव के हो ?
रङ के हो ? जीवन के हो ?
गीत केहो ? लय के हो ?

मेरी आमा !
म यी सब चिजबाट
नजिक भएर पनि टाढा छु 
बरु मेरो आफ्नै कल्पनाको बस्ती छ 
म त्यही बस्तीभित्र रुमल्लिएकी छु
मलाई मेरै बस्ती प्यारो लाग्छ
मेरो कल्पनाको बस्ती तिम्रो भन्दा फरक होला
तर, म महसुस गर्न सक्छु आफ्नै तरिकाले
टाढैबाट पनि पहिचान गर्न सक्छु मातृगन्धको !

तिमी कस्ती छौ आमा ?
मैले छुने ती फूलहरूजस्तै कोमल कि ?
तिमीले सुनाउने कथाको जूनजस्तै सुन्दर कि ?
कि परिकथाकी सुनकेसरीजस्ती ?
भन न आमा ! तिमी कस्ती छ्यौ ?

म कति भाग्यमानी छोरी 
कि, तिमीजस्ती ममताकी महासागर आमा पाएँ
अफसोस ! निर्दयी दैव 
जसले मजस्तीलाई तिम्रो कोखमा रोप्यो
सुम्पियो तिम्रो काखमा 
आमा !
तिमीमाथि किन यस्तो छल गर्‍यो दैवले ?

दशधारा दूध पियाउँदै
अजनबी यो नासो बोकी
आमा !
सारथि भयौ मेरो जीवनको 
संसार बन्यौ मेरो यात्राको !
 
आँखा भएर पनि 
देख्न सक्तिनँ थिएँ म
गला भएर पनि 
बोल्न सक्दिनँ थिएँ म
तर पनि तिमी संवाद गर्‍थ्यौ मसँग
मनका बहहरू पोख्थ्यौ मसँग !

आमा ! 
तिमी दास बन्यौ परिस्थितिको
र, धुजा–धुजा पार्न सकिनौ मायाको मजेत्रो,
हो, देख्न नसके पनि महसुस गर्न सक्थेँ म
तिम्रा गालामा बगेका तात्ताता आँसुका भलहरू
हरदम थर्थराई रहेका ओठहरू !

आमा !
तिमी यो युगको सत्यदेवी हुनुपर्छ
नत्र त
उही बेला खाल्डो खनेर पुरिसक्थे मलाई
पुर्न नसके अनाथलयमा छाडिदिन्थे मलाई !
तर, तिमीले त मलाई 
आफ्नै आड र भरोसामा हिँडाइरह्यौ 
आफ्नै आँखाले संसार देखाइरह्यौ ।

निस्पृह जीवनका गोरेटाहरूमा
चह¥याइरहेको छाती बोकेर पनि
अक्करे भीरहरूमा मेरो जीवन जोगाइरह्यौ 
मलाई बाँच्न सिकाइरह्यौ । 
 
तिमी जे देख्थ्यौ, 
त्यो छुन लाउँथ्यौ मलाई
कि, ती चिजहरू म अनुभव गर्न सकुँ
मष्तिष्कको हार्डडिस्कमा सेभ गर्न सकूँ
तिम्रो सहारा भएर बाँच्नु पर्ने म
मेरो सहारा बनाएँ तिमीलाई 
मेरो लहरा बनाएँ तिमीलाई ।

तिमी बाँचुन्जेल हिँड्यौ मेरो बैशाखी भएर
कुँजिन दिएनौ मेरा पाइलाहरू
कहिले त यस्तो लाग्थ्यो कि,
तिम्रो आँखाको नानीमा बसेर
म संसार चिहाइरहेको छु
तिम्रो न्यानो मायामा गुटमुटिएर म 
हिउँलाई पनि नटेर्ने भएकी छु ।

कालसँग कति लड्यौ होला तिमी
जिन्दगीको कति भिख माग्यौ होला-
‘छोरीको लागि मैले अझै बाँच्नु पर्छ ।’
तर निर्दयी नियतिले के सुन्थ्यो तिम्रो पुकार 
आखिर तिमीलाई मेरो साथबाट खोसी लग्यो
मलाई टुहुरी बनाइछाड्यो ।

आमा !
तिमीविनाको यो निरस दुनियाँमा
म एक्लै लड्दैछु समाजसँग
एक्लै जुझ्दैछु विभेदहरूसँग
होे आमा !
अब म मातृत्व–बैशाखीको सहरामा होइन 
तिमीले सिकाएको स्वाभिमानमा बाँच्नेछु 
र, पहिल्याउने छु नयाँ–नयाँ गोरेटाहरू 
सामना गर्नेछु सहस्र चुनौतीहरू !

तर, सन्त्रासहरू जीवितै छन् आमा 
तिमीलाई  लुट्ने राक्षसहरू
रवाफका साथ दिनदहाडै घुमिरहेका छन्
यो सम्वेदना हराएको मानवताविहीन शहरमा
तर, तिम्रो कसम खाएर म 
प्रतिज्ञा गर्दछु कि-
तिम्रो आत्माको शान्ति र
करोडौँ आमाहरूको अस्मिता रक्षार्थ
म चट्टान बन्न तयार छु
म आगो बन्न तयार छु ।

न्युयोर्क, अमेरिका