सीताराम नेपालका तीन लघुकथ
कार्तिक १, २०७७

आमाको मन

सासूआमा घर आइपुग्ने बित्तिकै एकान्तबासमा मौन बत बस्छु भन्नु भयो । हामी जोइपोइ छक्क पर्यौ । उहाँले आदेश दिनु भयो - 'चोखो खाना एकछाक, फेर्ने कपडा, साबुन, तौलीया मेरो ढोकामा राखिदिनु । सकेसम्म मेरो कोठामा कोही नपस्नु । पस्नैपरे पनि मलाई नबोलाउनु, नछुनु, मेरो मौनब्रत बिथोलिन्छ । कदाचित मेरो मौनब्रत बिथोलियो भने अकल्पनीय अनिष्ट निम्तिन सक्छ ।'

उहाँको प्यारो छोरा मेरो श्रीमानले किन आमा भनेर सोध्न खोज्दा -'जे कुरामा पनि प्रश्न गर्छस् ? म तेरी आमा हुँ । तेरै भलाइका लागि म यो कठिन काम गर्दैछु । यो एकान्तबास मेरो जीवनकै ठूलो परीक्षा हो । यसले कठिन घडीमा मैले आमाको सफल भूमिका निभाउन सक्छु कि सक्दिन खुट्टयाउँछु ।

उमेरले डाडा काटेर चौरासि पुग्न लाग्दा मैले रोजेको यो एकान्तबास मेरो कठोर तप हो । मैले यो कठिन चुनौति स्वीकार गरिसकेँ। मलाई तिमीहरूले सघाओ । आमाका लागि मान्छेले कत्रो कत्रो दुस्ख कष्ट सहन्छन् । तिमीहरूलाई मेरो यति सानो माग पनि कत्रो भारि भो त नि !' भनेर झर्किनु भयो ।

मेरो पतिले -' यस्तो शुभकार्य त देबघाटमा गएर गर्ने गरेको सुनिएको थियो' - भन्दा सासूआमाले - 'यो घर म दुलही बनेर सदाको लागि जन्म घर, गोत्र छोडेर भित्रिएको पबित्र मन्दिर हो । मेरालागि तेरो बाउ र यो घर उत्तिकै पबित्र र महान तीर्थस्थल हुन् ' भनेर मुख बुझो लगाइ दिनु भयो ।

बूढीमाउलाई यो कस्तो सनक चढेको भन्ठानेर हामीले उहाँले भनेको मान्दै गयौं। 'अमेरिका गएसि मोटाएँ भन्नु हुन्थ्यो छाँट्टिन  (स्लिम हुन)  खोज्या होला नि ! बिनाबित्थामा बूढेसकालमा किन दुःख बेसाउनु पर्या होला' -  हामी जोइपोइलाई झर्को लागेको थियो ।

१५ दिनपछि आज म एकान्तबास भङ्ग गर्छु भनेर समाचार सुन्न थाल्नु भयो । समाचारमा (कोभिड -१९ को भाइरस तीनहप्तासम्म सर्नसक्छ भन्ने सुनेपछि- 'हे कोरोनारूपि सितलामाई अझ कति दुःख दिन्छौ यो बूढियालाई' भनेर निराशिनु भयो ।

हामी उहाँको एकान्तबासको रहस्य थाहा पाएर तीनछक्क पर्यौँ । उहाँ अमेरिकामा कोरोना नछिर्दै अमेरिकाबाट छोरीलाई सुत्केरी उतारी नेपाल फर्किदै गर्दा 'ग्वाङ्झाओू' ट्रान्जिटमा बस्दा कोरोना भाइरस सरेको हुन सक्छ भन्ने परेछ । उहाँले फेरि एकहप्ता एकान्तबास रोज्नु भयो ।

अन्तिम उपाए
                                                      
- 'डाक्टरले ज्वरोको बिरामी जाचेनन् । अस्पतालले यहाँ उपचार हुन सक्दैन अन्यत्र लग्नुस् भन्यो । बिरामीको स्वास्थ्य उपचार गर्ने संबैधानिक हक हनन् भो .....' उसले गुहार माग्यो ।

यो कुरा सुकेको खरबारीमा लागेको आगोजसरी फैलियो । डाक्टरहरू आफ्नो सङ्घमा भेला भए । छलफल भयो । आफू सुरक्षित हुने अत्याबश्यक बस्तुको उपलब्धता भए पो बिरामी जाच्नु । आफै समाप्त हुने गरी कुन मूर्खले बिरामीको उपचार गर्छ । 'स्वयं जिवेत जगत भला'.....।

अस्पतालहरूको सङ्घको बैठकले पनि डाक्टरहरूको भनाइ ठिक ठहर्याइयो ।

सरकारले डाक्टरको प्रमाणपत्र खोस्ने, अस्पताल बन्द गर्नेसम्मको गोर्खेलौरी देखायो । लगत्तै डाक्टर र अस्पतालका सङ्घहरूको बैठक बस्यो । अस्पताल खुले । डाक्टरहरू काममा लागे ।

बिरामीहरू अस्पताल जचाउँन गए । उ पनि खुसी हुदै जचाउन गयो ।

- 'के भोर अस्पताल आउनु भो ?'- 'ज्वरो , खोकी, स्याँस्याँ हुने ....'। 

-' त्यहीँबाट भन्नुस !' अलिपरबाट डाक्टरले सोधे ।
- 'घर कहाँ हो ? कहाँबाट आउनु भो ? भारततिर तीर्थ गर्न जानू भाथ्यो कि ? कोरिया, युरोप , अमेरिका नि  ...  तपाईंका आफन्त कोहीले यी मुलुक गई फर्केका छन् कि ?...' 

-'लौन डाक्टरसाब मलाई गाह्रो भैरा छ । मेरो इलाज गर्ने कि प्रहरीले अपराधीलाई जस्तो सोध्ने मात्रै ।' बिरामी उ नजिक जान लागेपछि 'नजिक नआउनुस् । म सङ्कमित हुँ ।

तपाईंलाई सर्ला ! भन्दै डाक्टर पछि हटे । उ अर्को राम्रो अस्पतालमा गयो तर उसले आफ्नो कुरा भनि नसक्दै डाक्टर भागे ।

जिल्ल परेर अलि परको नामी अस्पताल जादा मूलढोकानै बन्द भएको पायो । हैरान भएर घर आइ युटुबमा बेलिबिस्तार लायो ।  बेलुका समाचार सुन्दा अस्पताल र डाक्टरहरूले सफेद झुट बोलि उसलाई उल्लिबिल्लि पारेको सुनेर उ तीनछक्क भयो ।

 आकाश

'अब कालो बादल फाट्ला भनेको त झन् बाक्लिदै गा छ किन होला ?'

डकर्मी हिमेसले मलाई भेट्नासाथ धुम्मिएको आकाशतिर हेर्दै भन्यो - 'केही दिन देखि मेरो मन हुँडलिइराछ - मेरो आकाशमा मात्रै यस्तो हुन्छ कि के हो ?'

म उसको नाइके मसलामा ज्याबल चलाउँदै भनेँ - 'अब त मेरो आकाश खुल्ला, मेरो जीवनमा उल्लास र उमङ्ग आउला भन्यो हुँदैन । कालो बादलले छेकिहाल्छ । तिम्रो र मेरो आकाश एउटै हो र त्यस्तै छ ।'

ऋण गरेर घर बनाउदै गरेका साहुले कुरा थपे - 'तिमीहरूको मात्र होइन मेरो पनि आकाश उहीँ हो जो हरदम कालो धूवाँको मुस्लोले छोपिएको छ ... ।  हाम्रोतिर घाम कहिल्यै नआउने भो गाँठे !'
'आखीर हामी धेरैको आकाश एउटै त हो जहाँ कालो बादल मडारिरहेको छ ।'-  साहुका साथी इन्जिनियरले बनिरहेको घर निरीक्षक गर्दै भने ।

नभन्दै तत्क्षण आकाश गड्याङ्ग गर्ज्यो र ठूलो चट्याङले तिनीहरूको बन्दै गरेको घर छियाछिया पार्यो । तर ती श्रमिकहरू त्यो घरमा थप छेती नहोस भनेर झन् छिटो छिटो बनाइ नै रहे । त्यो घर तिनीहरूले सोचेजस्तो तिनीहरूको होइन अरूको थियो । अनि सोचिरहे - के गर्नु त ! अरूको घर बनाउदा ज्याला पाइन्छ आफ्नो बनाउदा पाइदैन ।