विश्व बस्नेत : फिल्म क्षेत्रमा सफल, आर्थिक उपार्जनमा असफल भएकै कारण खोजी नीति नभएको नाम

विश्व बस्नेत : फिल्म क्षेत्रमा सफल, आर्थिक उपार्जनमा असफल भएकै कारण खोजी नीति नभएको नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कार्तिक १, २०७७

अभिनय, निर्माण र निर्देशन सबै गरेर करिब २५ वटा फिल्ममा काम गरिसक्नु भएका विश्व बस्नेत फिल्म बुझेका र गुणस्तरमा ध्यान दिएर त्यसै अनुसारको फिल्म बनाउने फिल्मकर्मीको रुपमा चिनिनुहुन्छ । 

तर, हाल भने उहाँ यी सबै क्षेत्रबाट बिलकुल अलग रहेर क्यान्सरको वैकल्पिक उपचार पद्धतिका बारेको अध्ययन अनुसन्धानमा व्यस्त हुनुहुन्छ । 

यस आलेखमा भने उहाँका जीवनका उतार चढावका बारे चर्चा गरिएको छ । 

जन्म र बाल्यकाल 

उहाँको जिजु बाजे सुबेदार । हजुरबुबा लप्टन । पूर्वाञ्चलका चार, पाँच जना ठुलाबडामा उहाँको बस्नेत परिवारको नाम जोडिएर आउँछ । उहाँहरू धनकुटा भिरगाउँको बस्नेत । धनकुटाको बस्नेत भनेपछि सम्पन्न परिवार हो । उहाँको बुबा कर्णेल भक्तबहादुर बस्नेत । उहाँलाई दानवीर कर्णेल भनिन्थ्यो । उहाँले धनकुटामा पाँच, छ सय बिघा जमिन दान गर्नुभएको थियो 

उहाँले धनकुटा कलेजलाई एक सय बिघा जमिन दान दिनुभएको रहेछ । पोहोर साल धनकुटा कलेजले दाताहरूलाई सम्मान गर्ने एउटा कार्यक्रमको आयोजना गरेको थियो । जसमा बुबा बितिसकेको कारणले उहाँलाई प्रतिनिधित्व गर्न अनुरोध गरेपछि उहाँ सहभागी समेत हुनुभएको थियो । 

उहाँको बुबा एक पटक धनकुटाबाट राष्ट्रिय पञ्चायतको सदस्य समेत निर्वाचित हुनुभएको थियो । दोस्रो पटक भने उहाँलाई राजाले नै सूर्यबहादुर थापालाई सघाउन भनेपछि उहाँले उम्मेदवारी परित्याग गर्नुभएको थियो । 

उहाँको झापामा पनि पाँच सय बिघाभन्दा बढी जमिन थियो । उहाँको घरमा हात्ती, घोडा, गाई, भैँसी, भेडा, बाख्रा सबै थिए । 

मङ्सिरमा धान काटेर खँगार लाएपछि त्यो खँगारमा उक्लेर देखिने जति सबै जग्गा उहाँहरूको थियो । 

उहाँको बुबाको चार जना श्रीमती । उहाँ भने साहिँलीको जेठो सन्तान । अरु तीन भाइ र एक बहिनी छन् उहाँको । 

उहाँको जन्म धनकुटामा भएको हो । बि.सं २००३ सालमा । नागरिकतामा पनि उही नै छ जन्म मिति । 

उहाँ स्कुल बिदा भएर घर गएको बेला ‘काउब्वाय स्टाइल’मा घोडा चढेर, ‘काउब्वाय ह्याट’ लगाएर हातमा छडी घुमाउँदै गाउँ घुम्नुहुन्थ्यो । गाई हेर्न जानुहुन्थ्यो । अनि ‘एअर गन’ बोकेर भँगेरा र परेवा मार्दै हिँड्नुहुन्थ्यो ।  त्यो भने स्कुल पढ्दा हेरेको अंग्रजी फिल्ममा देखाइने ‘काउब्वाय’को प्रभाव भन्नुहुन्छ उहाँ । 

उहाँको प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुल जावलाखेलबाट भएको हो । कक्षा एकदेखि पाँचसम्म । त्यस बेला एकदेखि चारसम्मको पढाई जावलाखेलमा हुन्थ्यो र बाँकी कक्षा भने गोदावरीमा हुन्थ्यो । अहिले भने गोदावरीमा पाँच कक्षासम्म मात्र छ । 

पूर्व प्रधानसेनापति प्यारजंग थापा, डा.अशोक बास्कोटाका दाजु, क्याप्टेन मानबहादुर गुरुङ, क्याप्टेन प्रचण्डजंग शाह, उहाँ एकै सालको एसएलसीको बोर्ड फस्ट यी सबै उहाँका सहपाठी समेत हुन् । 

त्यस बेला कक्षामा पच्चिसदेखि तीस जनासम्म हुन्थे । उहाँको रोल नम्बर याद छैन उहाँलाई । तेस्रो चार लाइन बेन्चहरू राखिएका हुन्थे । उहाँ कुन बेन्चमा बस्नुहुन्थ्यो त्यो पनि त्यति याद छैन उहाँलाई । डेस्क बेन्च सिङ्गल हुन्थ्यो । यसो घर्रा तान्दा कपि, किताब भित्र हाल्न मिल्ने खालको । शिक्षकहरू भने त्यस बेला सबै ब्रिटिसका नै हुन्थे । 

उहाँ पढ्नमा राम्रै हुनुहुन्थ्यो । खेलकुदमा पनि राम्रो । त्यस बेला स्कुलमा पौडी पोखरी पनि थियो । पौडीमा पनि उहाँ राम्रै हुनुहुन्थ्यो । बास्केटबल, हकी, रेस तथा बक्सिङ सबैमा उहाँ राम्रै हुनुहुन्थ्यो । 

स्कुलको पि कति थियो थाहा छैन उहाँलाई । तर, स्कुल भर्ना उहाँलाई काकाले विराटनगरबाट डकोटा प्लेनमा लिएर आउनु भएको थियो । त्यस बेला प्लेनको भाडा भने ३६ रुपैयाँ थियो । त्यो भने राम्रै सम्झना रहेछ उहाँलाई । त्यस बेला उहाँको खेतीको एक बोरा धानको मूल्य भने दश रुपैयाँ थियो । 

उहाँको स्कुल पढ्दाको एउटा साह्रै अविस्मरणीय घटना स्मरणमा रहेछ । उक्त दिन साथीहरू खेल्न गए वा बाहिर कतै गए । उहाँ कक्षामा एक्लै हुनुहुन्थ्यो । एक जना हेर्दै घरानियाँ लाग्ने मान्छे कक्षा कोठामा छिरेर यसो हेरे । पछि मात्रै थाहा भयो उहाँ त राजा महेन्द्र हुनुहुँदो रहेछ । 

मानिस केवल काममा मात्र सफल भएर समाजले उसलाई सफल मान्दैन र खोजीनिती गर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो विश्व बस्नेत । कामसँगै अर्थका मामिलामा पनि सफल भएका खण्डमा मात्र समाजको हेर्ने नजरिया बदलिन्छ भन्ने जिउँदछे जाग्दो उदाहरण हो उहाँ । उहाँको जीवनबाट सिक्नै पर्ने शिक्षा हो यो । 

पाँच कक्षासम्म जेभियर्समा पढेपछि उहाँ लाग्नुभयो शान्ति निकेतन स्कुलमा । काठमाडौँ गणेशभन्दा अलि पर । विष्णुमतीको किनारमा । त्यो स्कुलमा त के पढ्नु र ! हल्लियो मात्रै, उहाँ भन्नुहुन्छ । अब यहाँ जेभियर्समा पढ्ने, खानेदेखि सबै कुरो रुटिनमा गरेको मान्छे त्यहाँ के पढ्नु । पूरा फुकाफाल नि ! 

कलकत्ताको यात्रा

अनि त्यहाँ पढ्दा एक जना साथीले सधैँ कलकत्ता जाउन् कलकत्ता जाउन् भन्ने । उहाँलाई नि झोक चल्यो । एक दिन झोक झोकमा ल जाउन् हिँड भनेर लाग्नुभएछ झोला बोकेर कलकत्तातिर । 

उहाँको साथीले पुरानो गायक लालबहादुर खातीलाई चिनेको रहेछ । खातीकोमा बसियो एकराते, उहाँ भन्नुहुन्छ । खाती  काम गर्न जानुभएको रहेछ । अनि उतै मिस्टर दिल्ली बनेर नेपाल फर्किनुभएको रहेछ । पछि उहाँ नेपाल प्रहरीमा पनि काम गर्नुभयो । 

खातीकोमा रात बिताएपछि उहाँहरू बिहानै ट्रक चढेर लाग्नुभयो अमलेखगंज । उहाँसँग पैसा थिएन । थियो त एउटा बुबाले दिएको टाइटन हो कि टाइटेक्स घडी । त्यो घडी बेच्नुभयो अमलेखगंजकै पान दोकानमा । नब्बे रुपैयाँ दियो घडीको । अनि त पैसा फालाफाल भैगो नि !

अमलेखगन्जबाट रेल चढेर उहाँ लाग्नुभयो रक्सौल । रक्सौलबाट बरौनी । बरौनी पुगेर टिकट काट्नु भो कलकत्ताको । रेल त आयो तर, चढ्ने कसरी ! खुट्टा राख्ने ठाउँ छैन । अनि एउटा कुल्लीले आठ आनामा चढाइदिन्छु भनेर झ्यालबाट धकेलेर भित्र पठाइदियो । पैसा माग्यो । खुद्रा थिएन । दश रुपैयाँ दिएको, फिर्ता दिन्छु भनेर टाप कस्यो त्यो कुल्ली । बस्ने ठाउँ हुने कुरै भएन । रात भरी खडेबाबा ! बिहान चार बजे साथीले बोकेको काठको सानो बाकस राख्नेसम्मको ठाउँ भेटियो । अनि बल्ल बसियो रेलमा । साथीको पनि आखिर कोही थिएन कलकत्तामा । त्यत्तिकै जाउन् मात्र भनेको रहेछ कलकत्ता । साथी पोखरा निवासी । नाम चाहिँ अहिले याद भएन उहाँलाई । 

कलकत्तामा पन्ध्र दिन बसेपछि पैसा सकियो । अब पर्‍यो आपत् । त्यसपछि उहाँहरू सरदारजीको एउटा रेस्टुरेन्टमा काम गर्न थाल्नुभयो । साथीको काम भने भाँडा उठाउने । उहाँको भने प्याज काट्ने । पन्ध्र दिन काम गरेपछि गाह्रो भएर साथी रुन थाले । अनि उहाँहरू नेपाली महावाणिज्य दूतावास खोज्दै हिँड्नु भयो ।

महावाणिज्य दूतावास अलिपुर भन्ने ठाउँमा रहेछ । संयोगले महावाणिज्यदूत पनि बस्नेत नै हुनुहुँदो रहेछ । काठमाडौँबाट घुम्न आएको पैसा चोरी भयो भनेर कहानी बनाउनुभयो उहाँहरूले । महावाणिज्यदूतले उहाँको बुबालाई पनि चिन्नुहुँदो रहेछ । त्यसपछि एउटा निवेदन लेख्न लगाएर महावाणिज्य दूतावासले डेढ/डेढ सय दियो । उहाँ धरान घरतिर लाग्नुभयो भने साथीचाँही पोखरातिर । 

उहाँको बुबा धरान बस्नुहुन्थ्यो । धरानको बाउन्न ढोका भएको घर नै उहाँको मूल घर हो । दुई बिघाको त कम्पाउन्ड नै थियो । पछि भने उहाँको बुबाले उक्त घर बिक्री गर्नुभयो । 

कलकत्ताबाट फर्केपछि उहाँलाई घरमा गाली गरे । अब तँलाई काठमाडौँ नपठाउने भनेर धरानको पब्लिक हाइस्कूलमै उहाँको पठनपाठन भयो । त्यहीँबाट उहाँले एसएलसी दिनुभएको हो । 

उहाँले एसएलसीमा सेकेन्ड डिभिजन ल्याउनु भयो । उहाँ पहिले सेन्ट जेभियर्स पढेको । अङ्ग्रेजी सारै राम्रो । त्यहाँबाट उहाँको जत्तिको अँगारजीमा नम्बर धेरै समयसम्म अरुले ल्याउन नसकेको भन्थे रे स्कुलमा । 

उच्च शिक्षा

एसएलसीपछि उहाँ साइन्स पढ्न काठमाडौँको पब्लिक साइन्स कलेज आउनुभयो । अर्थात् अहिलेको अमृत साइन्स कलेजमा । 

कलेज पढ्न पहिले काठमाडौँ आउँदा उहाँ लाल दरबारमा बस्नुभयो । त्यसपछिको बसाई भनेको झोछें । त्यस बेला बस्ने भनेकै त्यै भोटाहिटी, असन, बागबजार, डिल्लीबजार आदि थियो । बानेश्वर, मैतीदेबी सबै खेत नै खेत थियो, उहाँ सम्झनुहुन्छ । उहाँहरू कतै घुम्न जानु¥यो भने साइकल भाडामा लिएर जानुहुन्थ्यो । बिस/पच्चीस पैसामा दिनभर साइकल भाडामा पाइन्थ्यो । कहिलेकाहीँ उहाँहरू गोदावरीसम्म साइकल लिएरै जानुहुन्थ्यो । बाटोको दायाँबायाँ ठूलाठूला लहरे पिपलका रुखहरू थिए । 

बरालिएर हिँडेको मान्छे साइन्स के पढ्नु उहाँ भन्नुहुन्छ । उहाँको मन त्यसपछि गाना बानातिर लहसिन थाल्यो । पब्लिक साइन्समा आइएस्सी नसकिकन उहाँ लाग्नुभो विराटनगर को मोरङ क्याम्पस । त्यहाँ आइए पास गर्नुभयो । त्यहाँ पनि गितार बजाउने, गीत गाउने गर्न थाल्नुभयो । फिल्म हेर्नुहुन्थ्यो । देवानन्द, सम्मी कपुर । अनि घरमा आएर ऐना अगाडी बसेर देवानन्दको जस्तो अभिनय पनि गर्नुहुन्थ्यो । म पनि देवानन्द भन्दा के कम्ती भन्ने लाग्थ्यो रे ! उहाँलाई । 

पहिले सेन्ट जेभियर्स पढेका कारण अंग्रजी फिल्म हेर्ने गीत सुन्ने गर्नुहुन्थ्यो उहाँ । बिटल्स, क्लिभ रिचर्ड, एल्भीस प्रिस्लेका गीत सुन्नुहुन्थ्यो । एकपटक विराटनगरमा भएको गायन प्रतियोगितामा उहाँले गोल्ड मेडल पनि जित्नुभएको थियो । 

तर, उहाँको आइएमा एक विषय लाग्यो । विषय लागेपछि उहाँ बनारस जानुभयो प्राइभेटमा आइए दिन । बनारसबाट प्राइभेटमा आइए पास गरिसकेपछि भने उहाँ लखनउ युनिभर्सिटीमा बिए पढ्न थाल्नुभयो । उहाँसँगै विराटनगरका एक जना मारवाडी साथी पनि हुनुहुन्थ्यो । उहाँलाई घरबाट त्यस बेला दुई सय रुपैयाँ पठाइदिन्थे खर्च । त्यसले कलेज पि, खाने बस्ने सबै पुगेर बियर खानसम्म पैसा उब्रिन्थ्यो । 

त्यस बेला बियरको तीन रुपैयाँ पथ्र्यो । पैसा आएको बेला पन्ध्र÷बीसवटासम्म बियर खपत हुन्थ्यो । अनि पैसा सकिएको बेलामा पालो आउँथ्यो खाली शिशीको । खाली सिसीको आठ आना दिन्थ्यो । 

अनि छ वटा सिसीको फेरी एउटा बियर आउँथ्यो, उहाँ विगतमा विचरण गर्नुभयो । बियरको भाउ भने कहाँबाट कहाँ पुगिसक्यो तर, अहिले पनि खाली सिसीको दाम भने उही, उहाँले ‘मजाक’ समेत गर्न भ्याउनुभयो । 

मुम्बईको यात्रा 

उहाँ बनारसबाट विराटनगर घर आउनुभएको थियो । प्रकाश थापा उहाँको फुपूको छोरा, दाइ । निर्देशक प्रकाश थापाको भाइ उहाँको घरमा आउनु भएको थियो । अनि उहाँले मलाई फिल्म खेल्न मन छ भनेपछि प्रकाश दाई लाई भनेर बम्बे गए भैगो नि भन्ने कुरा आयो । अनि प्रकाश दाइ काठमाडौँ आएको बेला उहाँको भेट भयो र बिम्बे आउन भनेपछि उहाँ बिम्बे लाग्नुभयो । 

खासमा उहाँलाई पूना फिल्म इन्स्टिच्युटबाट अभिनयको तालिम लिन मन थियो । त्यस बेला त्यो प्रचलन पनि थियो । तर, प्रकाश दाइले मैले पनि तालिम लिएको होइन काम गर्दै सिकेको हो ‘तँ पनि आइज काम गर्दै सिक्लास्’ भन्नुभयो त्यसपछि तालिमको योजना रद्द हुन पुगेछ । 

बिम्बे गएपछि मेरो देश भन्ने फिल्म बनाउने कुरा चल्यो । गीत लक्ष्मण लोहनीले लेख्नुभयो । सङ्गीतको जिम्मा अम्बर गुरुङमा रह्यो । निर्देशक भने देवु सेन । हिरो प्रकाश थापा र साइड हिरोमा भने उहाँ । लगानी भने आधि आधि । गीत रेकर्ड भयो । तर, फिल्म भने बनेन । फिल्मका लागि उहाँले बाह्र हजार प्रकाश दाई लाई दिनुभएको थियो । त्यो पैसा डुब्यो । त्यतिखेरको बाह्र हजार भनेको अहिलेको बाह्र लाख भन्दा धेरै हो, उहाँ भन्नुहुन्छ । 

प्रकाश दाइको त्यतिखेर एउटा हिन्दी फिल्म बनाउँदा मुद्दा परेको रहेछ । त्यो मुद्दाका लागि पैसा खर्च गर्छु भन्नुभयो । उहाँले पनि स्वीकृति दिनुभयो । मुद्दा के भयो कुन्नि पैसा भने डुब्यो । 

उहाँ प्रकाश दाई सँग दुई वर्ष जति बम्बे बस्नुभयो । उहाँ त्यस बेला रेकर्डिङ स्टुडियो तथा सुटिङ तिर पनि जानुहुन्थ्यो । फिल्मका लागि फोटो खिचाउने तथा धाउने पनि गर्नुहुन्थ्यो । 

सबैले अभिनय सिकेको छ भनेर सोध्न थाले । त्यसपछि उहाँले आशा चन्द्रासँग  छ महिना अभिनय पनि सिक्नुभयो । त्यस बेला ऋषि कपूर, सिम्पल कपाडिया, किरण कुमार चन्द्राका विद्यार्थी थिए, उहाँसँगै । एकटकको कुरा हो । हिन्दी फिल्म दो बुँद पानीको सुटिङ हुँदै थियो । त्यहाँ सम्मी ग्रेनवालदेखि किरण कुमारसम्म थिए । 

किरण कुमारले उहाँको अनुहारमा हेर्दै ‘ह्वाइ डन्ट यु एक्टिङ ? यु गट अ इन्ट्रेस्टिङ फेस’, भनेर पनि भन्नु भएको थियो । 

प्रकाश थापाले त्यतिखेर मनको बाँध भन्ने चलचित्र पनि बनाउनु भएको थियो । त्यतिखेर भने उहाँ मुम्बईमै भएको हुनाले भ्याउनु भएन । 

चलचित्र सिन्दूर 

चलचित्र संस्थानले सिन्दूर फिल्म बनाउँदा भने उहाँले अडिसन पास भएर हिरोको भूमिका पाउनु भयो । 

उहाँ मुम्बईबाट अभिनय सिकेको । गितार बजाउन जान्ने । गीत पनि गाउने । अंग्रजी फरर बोल्ने । ह्याण्डसम । म नछानिए को छानिएला र भन्ने उहाँलाई पनि लागेको रैछ । 

फिल्म त्यसै खेल्न पाए त हुन्थ्यो भन्ने बेलामा पारिश्रमिकको त कुरै भएन । त्यत्रो खर्च गरेर हिरो बन्न त मुम्बई गएको मान्छे पैसाको के कुरा रह्यो र, उहाँ भन्नुहुन्छ । तर, चलचित्र संस्थानका जिएम उत्तमलाल प्रधानले उहाँलाई बोलाएर यो नायिका प्रधान चलचित्र भएको हुनाले नायिका मिनाक्षी आनन्दलाई दश हजार र तपाईँलाई भने सात हजार भनेर भनेको उहाँ सम्झनुहुन्छ । उहाँको पहिलो चलचित्र र पहिलो पारिश्रमिक पनि यही नै थियो । तर, पहिलो पारिश्रमिकले के गर्नुभयो त्यो भने याद छैन उहाँलाई । राम्रो काम गरिएन कि नत्र याद हुन्थ्यो, उहाँले आफैलाई व्यंग्य गर्नुभयो ।

अभिनय सिक्दा त्यसबेला क्यामरा प्रत्यक्ष राखेर सिक्ने होइन् । खाली कोठामा डाइलग बोल्ने र अभिनय गर्ने हो । रिल पनि त्यो बेलामा महंगो हुन्थ्यो त्यसकारण त्यो सम्भव थिएन् । अहिलेको एक्टिंग स्कूलमा भने क्यामराको प्रत्यक्ष प्रयोग हुन्छ । डिजिटल भएको हुनाले रिल पनि चाहिएन । अहिले त प्रत्येक मोबाइल नै पनि क्यामेरा हो । तर, पनि त्यो बेलामा पनि एक्टिंग सिकेका कारण आत्मविश्वास भने बढाउँथ्यो । 

त्यो बेला खासै फिल्मको शुटिंग नै नहुने । शुटिंग भनेपछि गाउँका गाउँ मान्छे हेर्न आउँथे । शुरु शुरुमा त त्यसले अलि नर्भस पनि बनाउँथ्यो । तर, अलि पछि भने त्यसले मजा दिलाउन थाल्यो, उहाँ भन्नुहुन्छ । 

यसै सन्दर्भमा उहाँ प्रकाश दाइको कुरो सम्झनुहुन्छ, ‘यी सबै शुटिंग हेर्न आउने मूर्ख हुन् किनकि यदि तँ जत्तिको जान्ने यिनीहरू भए त तेरो ठाउँमा यिनीहरू हुन्थे । त्यस कारण तैँले आफूलाई ‘आइ एम द ग्रेट’ भन्ने सम्झिनुपर्छ ।’

प्रकाश थापासँग विवाद  

प्रकाश थापा अलि ‘डोमिनेटिङ क्यारेक्टर’को । अलि हकार पकार गर्ने । सुरु सुरुमा भने उहाँलाई पनि अलि डर लाग्यो । हिरोको स्टेट्स बनिसकेपछि उहाँलाई पनि यो यस्तै हो भन्ने लाग्यो । 

सिन्दूर फिल्म बन्दै गर्दा उहाँको प्रकाश थापासँग विवाद भयो । उहाँले म तँलाई अर्को फिल्ममा लिन्न भन्नुभयो । उहाँले पनि म पनि तपाईँको फिल्ममा खेल्दिन भन्नुभयो । त्यसपछि बाटो अलग भयो । एक दुई वर्ष त बोलचाल भएन पनि । तर, पछि नातामा दाइ पर्ने आफूभन्दा सिनियर मान्छेसँग के नबोल्नु भनेर उहाँले बोलचाल पनि सुरु गर्नुभयो । 

सिन्दूर पछि अन्याय 

सिन्दूर फिल्म २०३५ सालमा सुरु भएर ०३६ सालमा सकियो । अन्याय बनाउन भने उहाँलाई अर्को एक दशक लाग्यो । राजनैतिक माहौल अनि रोकडाको कुरो मिलाउँदै दश वर्ष बित्यो । बैङ्कले ऋण दिएर बनेको पहिलो फिल्म हो अन्याय । त्यस बेला करिब पाँच लाख जति ऋण लिएँ होला उहाँ सम्झनुहुन्छ । अलिअलि घरबाट पनि थपथाप गर्नुभयो । घरको जेठो बाठो छोरो अनि अलि सम्पन्न पनि भएको हुनाले लगानी गर्न त्यति समस्या पनि भएन, उहाँ भन्नुहुन्छ । 

अन्याय फिल्म सफल भए पनि उहाँ भने घाटामा जानुभयो । कारण थियो वितरणको ज्ञान नहुनु र हलवालासँगको समन्वय मिलाउन नजान्नु । 

बलिउडमा भने आफ्नो आफ्नो जिम्माको काम आफूले गर्ने परम्परा छ । तर, यहाँ भने सबै काम आफैँले जान्नुपर्ने हुन्छ । त्यसमा उहाँ चुक्नुभयो । त्यस कारण उहाँले फिल्म बनाउन बैङ्कबाट लिएको ऋण तिर्न केही खेतबारी समेत बेच्नुप¥यो । यसले फिल्म निर्माणमा निरन्तरता पाउन सकेँ । यो तितो यर्थाथको बारेमा उहाँले जानकारी गराउनु भयो । 

अर्को एउटा फिल्म ‘नाता’को पनि उहाँले सफल निर्देशन गर्नुभयो । फिल्म सुपर डुपर हिट पनि भयो । तर, उहाँ निर्देशक मात्र भएको हुनाले त्यसबाट आर्थिक उर्पाजन हुन सकेन । आर्थिक रुपमा यसले पनि उहाँलाई सफल बनाउन सकेँ । 

एकेडेमीमा सात दिने सो 

सुष्मा श्रेष्ठको परिवार त्यस बेला मुम्बईमा बस्नुहुन्थ्यो । उहाँले श्रेष्ठ भएपछि त एक पटक काठमाडौँ जानुपर्छ भन्दा सुषमाको आमाले अब त्यसै के जानु एउटा कार्यक्रम गर्नुस् भन्नुभयो । उहाँले एकेडेमी सात दिनको लागि बुक गरेर कार्यक्रम राख्नुभयो । 

पच्चीस जनाको टोली आएको थियो मुम्बईबाट । यसअघि यस्तो कार्यक्रम भएकै थिएन, उहाँ भन्नुहुन्छ । तर, सोचेजस्तो टिकट गएन । घाटा भयो । कलाकारलाई दिनुपर्ने पैसा पनि दिन सक्नुभएन उहाँले । यसैका कारण श्रेष्ठ परिवारसँग उहाँको सम्बन्ध पनि नराम्रो भयो । 

पहिलो सिने मासिक मधुरम

उहाँले नेपालको पहिलो रङ्गिन सिने मासिक पत्रिका मधुरम पनि निकाल्नुभयो । पत्रिका दुईअंक निस्केर बन्द भयो । कारण उहाँलाई यसमा अनुभव थिएन । पत्रिकाका लागि छ महिनाको जगेडा पैसा हुनुपर्ने भएन । त्यसमाथि रँगिन फोटो छाप्नका लागि नेपालमा प्रविधि थिएन । मुम्बई जानु पथ्र्यो । यसमा पनि उहाँलाई असफलता हात लाग्यो । 

कला सङ्गम प्रतिष्ठान  

उहाँले पहिलो पटक ‘एकेडेमी अफ पर्फमिङ आर्टस’को स्कूल पनि खोल्नुभयो । जहाँ गीत, सङ्गीतदेखि कला तथा अभिनयसम्म सबै प्रकारका विधा सिकाइन्थ्यो । त्यो संस्था दुई वर्ष चल्यो । त्यसपछि उहाँ रेकर्डिङको सिलसिलामा मुम्बई गएका बेला म्यानेजरले बदमासी गरेका कारण त्यो पनि बन्द गर्नुप¥यो उहाँले । 

पहिलो नेपाली बाल फिल्म

उहाँ आफूले पहिलो नेपाली बालफिल्म एकादेशमा बनाएको दाबी गर्नुहुन्छ । चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र चलचित्र संघले आयोजना गरेको राष्ट्रिय अवार्ड समारोहमा उक्त फिल्मले दुइवटा विधामा पुरस्कार प्राप्त गरेको छ । 

हास्य कलाकारमा रतन सुवेदी तथा सर्वश्रेष्ठ बाल कलाकारमा भने ज्योति थापाले पुरस्कार प्राप्त गर्नुभएको थियो । 

उहाँले पछि स्कुल भन्ने शिक्षा तथा अध्यात्म सम्बन्धी पहिलो फिल्म बनाउनु भयो । फिल्मले दिल्लीमा अफिसियल सेलेक्सनको अवार्ड पाएर मुम्बई गयो । र मुम्बईमा ‘स्पेशल फेस्टिबल मेन्सन’ भन्ने राम्रो अवार्ड पाएको थियो । अन्य कुनै नेपाली चलचित्रले यो अवार्ड प्राप्त गरेको छैन । 

डा. भोला रिजाल हाल कोरोना सङ्क्रमित भएर बसेका बेला उक्त फिल्म हेरेपछि आफूले यत्तिको स्तरीय फिल्म नहेरेको भनेर फोन गरेर उहाँलाई बधाई समेत दिनु भएको थियो । 

विवाह 

उहाँको विवाह २०३६ सालमा भएको हो । प्रेम विवाह । कलाकार शारदा श्रेष्ठसँग । अन्याय फिल्मका लागि हिरोइनदेखि बाहेक एक जना अर्को कलाकार चाहिएको थियो । जसका लागि गौतम तुलाधरले शारदा श्रेष्ठको चिनजान उहाँसँग गराइदिनु भएको थियो । यो देख भेट विवाहमा परिणत भयो । उहाँका तीन सन्तान छन् । एक जना छोरा । दुई जना छोरी । एक जना छोरी अस्ट्रेलियामा हुनुहुन्छ । छोरा भने अस्ट्रेलियाबाट फर्किसक्नु भएको छ । अर्की छोरी भने नेपालमा नै हुनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता 

आधिकारिक रुपमा कहीँ नभए पनि नेपाल कलाकार सङ्घको जन्मदाता आफू भएको बताउनुहुन्छ उहाँ । उहाँ मुम्बईमा प्रकाश थापासँग सँगै बस्नुभएको । प्रकाश थापा सिने आर्टिस्ट एशोसियसनको (सिएए)को सदस्य हुनुहुन्थ्यो । त्यस कारण यहाँ पनि कलाकारको सङ्घ चाहिन्छ भनेर कृष्ण मल्लसँग कुरा गरेर त्यसको सूत्रपात उहाँले गर्नु भएको रे हो । त्यस कारण रहेछ उहाँको माथिको दाबी । 

अन्याय फिल्म बनाउँदा हलवालाहरूले चलाउन नदिए पछि निर्माता सङ्घ चाहिन्छ भनेर त्यसको सूत्रपात आफूले गरेको दाबी उहाँको छ । 

पछि उहाँले नै निर्देशकहरू पनि सङ्गठित हुनुपर्छ र जसले पनि निर्देशन गर्दा फिल्मको गुणस्तर रहन्न भनेर एउटा प्रावधान सहित निर्देशक बन्न पाउनुपर्छ भनेर उहाँले नै कुरा उठाउनु भएको हो । पछि उहाँ कामको सिलसिलामा ब्याङ्कक गएको बेला यहाँ निर्देशक समाज दर्ता गरियो । तर, कुनै पनि संस्थामा पदको लोभ लालच भने उहाँले राख्नु भएन । त्यस कारण आधिकारिक रुपमा उहाँ कतै संलग्न भएको देखिँदैन तर, व्यवहारिक रुपमा हेर्ने भने सूत्रपात भने उहाँले गरेको देखिन्छ । 

सम्मान  

राजाको पालामा उहाँले गोरखा दक्षिणबाहू प्राप्त गर्नुभएको छ । त्यस्तै चलचित्र कलाकार सङ्घले हरितारा पुरस्कार प्रदान गरेको छ । 

अन्त्यमा 

मानिस केवल काममा मात्र सफल भएर समाजले उसलाई सफल मान्दैन र खोजीनिती गर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो विश्व बस्नेत । कामसँगै अर्थका मामिलामा पनि सफल भएका खण्डमा मात्र समाजको हेर्ने नजरिया बदलिन्छ भन्ने जिउँदछे जाग्दो उदाहरण हो उहाँ । उहाँको जीवनबाट सिक्नै पर्ने शिक्षा हो यो ।