जोखिममा नयाँ संस्था : पेइचिङमा नेपाल खेलकुद लेखक सङ्घ स्वघोषित सभापति र महासचिव बन्दा !

जोखिममा नयाँ संस्था : पेइचिङमा नेपाल खेलकुद लेखक सङ्घ स्वघोषित सभापति र महासचिव बन्दा !

हरिविनोद अधिकारी  |  साहित्य  |  कार्तिक १, २०७७

हुन त यो मैले लेख्न थालेको मेरै सम्झनाहरूको, मेरै स्मृतिहरूको सँगालो हो,  कुनै क्रमबद्ध पनि होइन तर सम्झँदै जाँदा, लेख्दै जाँदा, भोगेका कुराहरूलाई बिस्तारै बिस्तारै खोतल्दा कुन कुरा पहिले आउँछ, कुन कुरा पछि आउँछ । सायद पुराना कुराहरू या स्मृतिहरू सम्झँदा हुने यो विशेषता नै हुनुपर्छ । मन न हो, कहिले कहाँ पुग्छ, अनि कहाँ पुग्छ । मनका बारेमा, माताका बारेमा, पिताको बारेमा र संसारमा तुच्छ वस्तुको बारेमा एउटा प्रसङ्ग छ महाभारतमा । जब पाण्डवहरू वनवासमा थिए, एक दिन हिँड्दा हिँड्दै गर्मी र तिर्खाले आकुल व्याकुल भए, अनि पानीको खोजीमा जाँदा अरु पानी लिन गए पनि फर्केर नआएपछि स्वयं युधिष्ठिर पानीका लागि नजिकैका तलाउमा पुगे । पानी खानका लागि अदृश्य यक्षको प्रश्नको उत्तर दिनुपर्ने थियो, नत्र पानी छुने बित्तिकै बेहोस हुने कुरा थियो । 

यही प्रसङ्गमा संसारभर भनिने एउटै स्थापित भनाइ हो महाभारतको त्यो प्रसङ्ग जहाँ यक्षले युधिष्ठिरलाई प्रश्न सोध्छन् र युधिष्ठिरले आफ्नो भनाइ राखेर मात्र पानी पिउने सर्त पूरा गर्छन् । सायद त्यो समयमा सोधिएका महत्त्वपूर्ण प्रश्नहरूलाई नै आज पनि गूढार्थ आउने प्रश्नलाई यक्ष प्रश्न भनिने गरिन्छ । यक्ष युधिष्ठिरलाई प्रश्न गर्छन्- पृथ्वीभन्दा महान्,  ठुलो, गहकिलो र भारी के हो ? आकाशभन्दा पनि माथि  को हुनसक्छ या  आकाशभन्दा पनि ठुलो को हो ? वायुभन्दा पनि  तीव्र उडान भर्न सक्ने को हो ? के हो ? अनि तृणभन्दा पनि तुच्छ के हो ? अनि युधिष्ठिरले भनेका हुन्छन् - माता पृथ्वीभन्दा ठुली हुन्छिन् अर्थात् भारी हुन्छिन् । पिता आकाशभन्दा ठुला हुन्छन् । मन वायुभन्दा पनि तीव्र बेगम उड्न सक्छ । चिन्ता तृणभन्दा पनि  तुच्छ हुन्छ । मैले उठान गर्न खोजेका विषय हो मनले तीव्र उडान भर्दो रहेछ । छिन छिनमा आफूलाई कहिले कता कहिले कता पुर्‍याउने रहेछ । 

जब कुनै विषयमा केन्द्रित भएर आफूलाई सम्झन थालिँदो रहेछ, अनि अरु सम्झनाहरू पनि वेगवानरुपमा आफ्ना अघिल्तिर ठिङ्ग उभिन पुग्दा रहेछन् । सम्झने कुराहरू मनभरि छन्, ठेलमठेल भएर बाहिर आउनु चाहन्छन् । ती कति अरूसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छन् र कतिले आफूलाई गरेका व्यवहारलाई, राम्रा वा नराम्रा व्यवहार, फेरि ताजा गराएको हुन्छ । 

नेपालबाट भारतमा जानुलाई विदेशको रुपमा अहिले पनि खासै मानिँदैन जबकि भारत पनि हाम्रो  छिमेकी देश नै हो । यसो हुनुमा खुला सीमा, राहदानी या पासपोर्ट र प्रवेशाज्ञा वा भिसा नचाहिने भएकाले पनि आवत जावतलाई सहज छ, त्यसै भएकाले भारत जाँदा ती प्रक्रिया पूरा गर्नु नपरेकाले होला, भारत जानुलाई विदेशको रुपमा महत्त्व दिइँदैन  आज पनि।

सबैभन्दा पहिले म २०२७सालको सायद फागुनमा जनकपुरमा पढ्न थालेपछि  जयनगरसम्म रेल पनि चढ्ने अनि जयनगरमा सिनेमा पनि हेर्ने भनेर तीन जना साथीहरू मिलेर गएका थियौँ । त्योभन्दा पहिले जनकपुरबाट भरतराज बराल काकासँग सीतामढी हुँदै त्यही दिन सोनबर्साको बाटो सर्लाहीको सदरमुकाम मलंगवा र त्यही दिन लामबन्दी आइपुगेका थियौँ ।

सौभाग्यवश त्यही संस्था नेपालको खेलकुद लेखकहरूको इतिहासमा पहिलो हुन गयो । तर त्यसलाई निरन्तरता दिन सकिएन । त्यसका कारणहरू छन् तर म र कृष्णले १९९० को सिउला भएको अधिवेशनमा भाग लियौँ र नेपाललाई पूर्ण सदस्य बनायौँ । आज पनि त्यो सदस्यता कायम छ ।

अहिले पनि त्यो धमिलो याद छ । पूर्व पश्चिम राजमार्ग बनिसकेको थिएन, त्यसैले सर्लाहीमा पुग्न पनि भारतको बाटो जानु पर्ने थियो बर्खाको बेलामा । त्यसैले त्यो दिन दसैँको बिदा सुरु भएको दिन थियो, काकाले भन्नुभयो- लालबन्दी गएर ग्वाल्टार जाउँला । लालबन्दीमा गएपछि काकाले मलाई मेरो मावलको हजुरबाको पनि सानीमाको घरमा पुर्‍याउनु भयो भोलिपल्ट ।

म उहाँको पनाति । अहिले पनि लालबन्दीमै केही मामाहरू हुनुहुन्छ । हजुरआमाले मलाई यति धेरै माया गर्नुभयो कि म छक्क परेँ । यदि त्यो बेलामा म लालबन्दी नगएको भए उहाँको दर्शन पाउने रहेनछु यो जीवनमा । बुढी हजुरआमाका छोराहरू दैव केशर आचार्य हजुरबा र रुद्रप्रसाद आचार्य हजुरबा उहाँका छोराहरू हुनुहुन्थ्यो । रुद्रप्रसाद हजुरबाका छोराछोरी थिएनन् जस्तो लाग्छ । उहाँ पञ्चायती कालको किसान सङ्गठनका मुख्य व्यक्ति हुनुहुन्थ्यो पहिले । उहाँले नै लालबन्दी, बन्दीपुरको जग्गा खोल्न लगाएर पहाडबाट गएका जग्गा विहीनहरूलाई वासस्थानको व्यवस्था गर्नु भएको थियो । साह्रै समाजसेवी हुनुहुन्थ्यो रे !

यसरी भारतको भ्रमण गरेको मैले एकै पटक २०४१ सालमा विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा सिलीगुढी, दार्जिलिङ ,खार्साङ र कालिम्पोङ पुगेको थिएँ । त्यसपछि २०६९ सालमा सूचनाको हकसम्बन्धी सेमिनारमा नयाँ दिल्ली पुगेको थिएँ । अनि २०७१ सालमा मात्र भारतको अलि टाढैसम्म रेलका  यात्रामा पुगेँ । जामनगर, द्वारका, सुरत, मध्य प्रदेशको पन्नाजी, उत्तर प्रदेशको मथुरा, वृन्दावन घुमिएको थियो । पछि पनि २०७४ मा पनि सुरत गइएको थियो । अर्थात् भारतमा जाँदा किन हो विदेश गएको जस्तो भान परेन । 

पासपोर्ट बनाएर र भिसा लिएर पहिलो पटक विदेश गएको भनेको २०४७ सालमा एसियाली एघारौँ खेलकुद समारोहका चीनको राजधानी पेइचिङ् गएको हुँ । त्यही पहिले हामीले चीनको राजधानी पेकिङ भनेर पढेको ठाउँलाई पेइचिङ् भनिन्छ । तर लेख्दा बेइजिङ् लेखिन्छ । चीनको उच्चारण सामान्यतः हामीले पढ्ने रोमनको उच्चारणसँग मिलेको पाइँदैन । जस्तो कि पेकिङ्लाई  पछि अङ्ग्रेजीमा वर्णको उच्चारणअनुसार बेइजिङ भन्दा हुन्छ तर अङ्ग्रेजीको बी को उच्चारण चिनियाँहरूले प को रुपमा गर्छन्, अनि जे, जेएच्  जेड, जेडएच को उच्चारण च हुँदो रहेछ । अङ्ग्रेजी एक्सको उच्चारण स गर्दा रहेछन् । त्यसैले अहिलेका चिनियाँ राष्ट्रपतिको नाम सी चिनफिङ भनिन्छ जबकि अङ्ग्रेजी अक्षरको उच्चारण अनुसार जी जिनपिङ भनिनु पर्दथ्यो  । सामान्यतया जुन ठाउँमा जेजस्तो उच्चारण गरिन्छ, सम्भवतः त्यसैगरी बोलिनु पर्छ भन्ने भाषा शास्त्रको मान्यता छ । नभए त नेपाललाई अङ्ग्रेजहरूले निपल भन्छन् तर शुद्ध त नेपाल नै हो । 

त्यो बेलामा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो ।एघारौँ एसियाली खेलकुदमा खेलकुद पत्रकारको रुपमा गएका हामी थियौँ - समीक्षाबाट विनोद दीक्षित, राससबाट वासु रिमाल यात्री, विमर्शबाट हरिहर विरही, बुधवारबाट रघुजी पन्त, राष्ट्रपुकारबाट म, रेडियो नेपालबाट कृष्ण केसी, नेपाल टेलिभिजनबाट राजु सिलवाल, खेलकुद परिषद्बाट प्रसिद्ध फोटोग्राफरहरू श्याम चित्रकार, गोपाल चित्रकार, आदि पत्रकारहरू गएका थियौँ कतिको नाम पनि अब बिर्सिएँ। हामी पत्रिकामा लेख्नेहरू थियौँ र मैले पहिलो दक्षिण एसियाली खेलकुदमा आफ्नो पत्रिकाको लागि समाचार बनाएको थिएँ । तर पनि त्यो  भागबन्डामा नै थियो बहुदलीय सरकार आएको थियो, हामी विभिन्न बहुदलीय पत्रिकाहरूका माध्यमबाट गएका थियौँ । खेलकुद मन्त्री त  डाक्टर केसरजङ्ग रायमाझी हुनुहुन्थ्यो ।

मलाई होमनाथ दाइको सिफारिसमा पठाइएको थियो । सायद त्यो बेलामा पासपोर्ट बनाउन १ हजार रुपयाँ लाग्थ्यो र त्यो पनि खेलकुद परिषद्ले बेहोरेको थियो । म त धनगढी पुगेको थिएँ शिक्षक सङ्घको सचिवको नाताले निजी विद्यालयहरूको समस्या बुझ्न, मलाई लीलानाथ ओझाजीले भन्नुभयो- होमनाथ दाइले सोध्दै हुनुहुन्थ्यो हरि त्यतै आएको छ, उसको चीनका लागि मनोनयन भएको छ, चाँडै काठमाडौँ जानु भनेर भन्दै हुनुहुन्थ्यो । हरिजी छिटै काठमाडौँ जानु रे ! अनि मैले पनि त्यही दिन दाइसँग सम्पर्क गरेँ फोनमा मुस्किलले। गाह्रो थियो एसटीडी फोन पाउन पनि सहरहरूमा  । 

दसैँको बेला थियो । सेप्टेम्बर र अक्टोबर महिना पर्दथ्यो त्यो पन्ध्र दिनको समय । सिधै पेइजिङको उडान थियो । पहिलो पटक जेट चढेको त्यो पनि सिधै चीनको राजधानी पुगियो । प्रेसको बारेमा व्यवस्था गर्ने साहित्यकार सीता पाण्डे हुनुहुन्थ्यो । उहाँ त्यो बेलामा खेलकुद परिषद्मा प्रेस समन्वय गरिरहनु भएको रहेछ । म र कृष्ण केसी एउटै कोठामा बस्यौँ, त्यस्तो व्यवस्था गरिएको रहेछ । सबै नयाँ संरचना थियो, व्यवस्थित पनि थियो ।

चीन भर्खर निजीकरणतिर लागेको थियो एकातिर भने अघिल्लो वर्ष मात्र प्रजातन्त्र पक्षधरमाथि दमन गर्दै थ्यानमेन चोकमा नरसंहार भएको भनेर पश्चिमा प्रेसले हामीलाई सूचित गरेको थियो । चीन सतर्क थियो बाहिरी प्रेससँग किनभने त्यो घटना ताजै थियो बाहिरी दुनियाँमा । एसियाली  देशहरूको खेल भएकाले विश्वभरिका पत्रकारहरूको जमघट हुने नै भयो । खेलकुद गाउँमा हामी बसेका थियौँ । खेलाडी, कोच, पत्रकारहरू, खेल व्यवस्थापकहरू त्यही खेल गाउँमा बस्थे । खेलका पदाधिकारीहरू र सरकारी विशिष्ट पाहुनाहरूलाई भने पाँचतारे होटलहरुमा राखिएको थियो ।

सबै खेल परिसरमा जान पत्रकारहरुलाई सुव्यवस्था थियो । अझ प्रेस कार्ड लिएर हिँड्न पेइचिङका सार्वजनिक यातायातका साधनहरूमा खास गरी बस, ट्रली बस, भूमिगत मेट्रो तथा सतहको रेलमा स्वतन्त्रपुरमा विना भाडा आवत जावत गर्ने सुविधा थियो । मैले जम्मा तीन ओटा शब्दहरू जानेको थिएँ र ती शब्दहरूले पुग्यो पनि । या युन छुन अर्थात् एसियाली खेलकुद गाउँ । जहाँबाट आउँदा पनि जुन बस खेलकुद गाउँको बाटो  आउने हुन्थ्यो, त्यसमा मात्र आइन्थ्यो तर जुन बसमा वा ट्रलीमा पनि आउन जान पाइन्थ्यो किनभने खेल परिसरहरू पुरै सहरभरि छरिएर राखेको हुन्थ्यो । 

हामीले चाइनिज भाषा नबुझ्ने हुनाले सिन्ह्वाका अंग्रेजी भाषाका पत्रकारहरूले हामीलाई सहजकर्ताको काम गरेका थिए ।  हामीमध्ये विनोद दीक्षित जी चाहिँ सबैजसो खेलकुद महोत्सवमा देश बाहिर  जानु हुँदो रहेछ । हामीभन्दा अनुभवी ।  साँच्चै भनौँ भने मलाई त के पनि थाहा थिएन भने खेलकुद लेखकहरूको पनि अन्तर्राष्ट्रिय, क्षेत्रीय सङ्गठनहरू छन् भन्ने ।

विनोदजीले बिहान चिया खाँदा भन्नुभयो- यहाँ खेलकुद माडियाको अफिसमा अन्ताराष्ट्रिय खेलकुद पत्रकारहरूको अफिस रहेछ, हामी पनि एक पटक पुगौँ न । अनि हामी सबै जना गयौँ ।  तर त्यो दिन उनीहरूको बैठक भएकाले भेट भएन र हामी पछि जाने भनेर आयौँ । कृष्ण केसीलाई यसबारेमा जानकारी रहेछ किनभने ऊ पनि रेडियो नेपालबाट विभिन्न देशमा तालिमका लागि गएको रहेछ ।

अनि मलाई भोलिपल्ट केसीजीले भन्नुभयो- सर जाउन् न त त्यो अफिसमा को को रहेछन् के गर्दा रहेछन् । हाम्रो सामान्य कुरा केचाहिँ भएको थियो भने सर्सर्ती, खेलकुद पत्रकारहरूको संस्था हाल नेपालमा छैन, यदि खोल्नु परेमा हामीमध्येबाट नै खोल्ने है । त्यसमा हामीलाई खासै थाहा पनि थिएन तर नमान्ने कुरै भएन । बिहानैजस्तो होटेलले दिने बिहानको खाजा खाएर सबै कता कता जान्थ्यौँ । कोही खेलकुदमा, कोही बजार हेर्न, कोही आफन्त छन् भने भेट्न आदि ।

मेरो मन पनि एउटा कुराले खुसी थियो मेरी विद्यार्थी लुना भट्ट पनि त्यहीँ मेडिकलकी विद्यार्थी थिइन् डाक्टर बनेर । काम गर्दै थिइन् । गोविन्द भट्ट दाइकी छोरी । अहिले लुना युनिभर्सिटी अब सेराक्युजमा मुटु विभागकी प्राध्यापक छिन् २०३८सालमा लेबोरेटरी स्कुलबाट बोर्ड फस्ट गरेकी थिइन् । आज पनि हाजिरी जबाफमा सोधिने एउटा महत्वपूर्ण प्रश्न हो - नेपालमा पहिलो छात्रा को हो ? जसले एस एल सी मा बोर्ड फस्र्ट गरेको थियो ?  त्यो लुना भट्ट हो जसले अङ्ग्रेजीमा र नेपालीमा बराबरी ८८ अङ्क ल्याएकी थिइन् । उनी मेरो विषय लेखाकी विद्यार्थी थिइन् । ती पनि उतै हुनाले मेरो पनि कोही चिनेको मानिस चीनमा छ भन्न पाएको थिएँ । 

खाजा खायौँ अनि माडिया सेन्टरतिर गयौँ । समाचारहरूको अद्यावधिक गरेर कृष्णले रेडियो नेपालका समाचार पठाए अर्थात् मिलेर पठाउँथ्यौँ । बेलुका रिपोर्टिङ गर्थे कृष्णले रेडियो नेपालको समाचारलाई अनि म पनि यो हप्ता भन्ने कार्यक्रमका लागि आवाजमा पठाउँथेँ । त्यसको जिम्मा पनि कृष्णले लिएको थियो किनभने ऊ त्यस्तो प्रविधिमा पोख्त थियो, अहिले पनि ऊ पोख्त नै छन् । 

अनि यसो मिडिया सेन्टरको तल्लो तलामा गयौँ । दक्षिण कोरियाको सुव्यवस्थित मिडिया सेन्टर रहेछ । तत्कालै फोटो पनि बनाउन मिल्ने, रेडियो  र टेलिभिजनमा त्यहीँबाट प्रत्यक्ष प्रसारण गर्न मिल्ने गरी तयारी रहेछ । सायद जापानको भन्दा  पनि दक्षिण कोरियको तयारी व्यापक र सुव्यवस्थित देखिन्थ्यो । अनि हामीले एक जना भद्र पुरुषलाई भेट्यौँ र सोध्यौँ- अन्तर्राष्ट्रिय पत्रकारहरूको भेला कहाँ छ ? कसले गरेको छ र क्षेत्रीय भेला कसले गर्ने हो ? वास्तवमा उहाँ नै हुनुहुँदो रहेछ मुख्य व्यक्ति अर्थात् एसियाली खेलकुद पत्रकार सङ्गठनका उपाध्यक्ष पार्क काम चुल ।

उहाँले दोभासेलाई बोलाएर कुरा गर्न थाल्नु भयो र भन्नुभयो- नेपालबाट कुनै पनि संस्था सदस्यको रुपमा छैन । नेपालमा खेलकुद पत्रकारहरूको संस्था छ कि छैन ? कृष्णले छिटै भने - छ । अनि मतिर देखाएर भने ' ऊ सभापति, म महासचिव । अनि मलाई पार्क काम चुलले भने -अब सिउलमा भेटौँला । तपाईँहरूको ठेगाना दिनुस् । नेपालबाट चिठी लेख्नुस् । आगामी निर्वाचनमा म अध्यक्षमा उठ्दै छु । मलाई सहयोग गर्नुपर्छ । म अहिले हतारमा छु,  हाम्रो संस्थाको बैठक छ होटेलमा । म जान्छु र भोलि नै म तपाईँहरूसँग भेटौँला है । 

नयाँ समय थियो नेपालमा संगठनको । खेलकुदमा पञ्चायतको विघटनसङै शरदचन्द्र शाहाको बिगबिगी अन्त्य भएको थियो । तर खेलकुद परिषदभित्रको संरचनामा शाहाको प्रभाव ताजै थियो । कसैलाई पनि थाहा थिएन कि कुनै खेलकुद पत्रकारहरूको व्यवस्था पनि गरिएको छ कि छैन ? पक्कै थियो होला तर थाहा थिएन बाहिर । अनि बहुदल आएपछि कसैले पनि त्यस्तो सङ्गठन भएको जानकारी पनि दिएका थिएनन् र नेपालमा त्यो बेलासम्म खेलकुद पत्रकारहरूको कुनै सङ्गठित संस्था थिएन पनि ।

यो जम्मै कुरा थाहा पाएको कृष्णले हामी नै हौँ भनेपछि पार्कले विश्वास नगर्ने कुरो पनि भएन र मचाहिँ कृष्णको त्यो प्रत्युत्पन्न मतिका कारणले अलमलमा परेँ र सिउला भेट्ने वाचासहित त्यहाँबाट बिदा भएँ । कृष्ण हाँस्न थाल्यो र भन्यो- आज नयाँ  जोखिम मोलियो र नयाँ संस्थाको जन्म गराइयो चीनमा नेपालको खेलकुद लेखकहरूको संस्था । सायद चिनियाँ मिस्टर वाङ, एसियाली खेलकुद पत्रकारहरूको अध्यक्ष थिए र हालै उनी प्रमोसन पाएर अर्कै मन्त्रालयमा गएकाले त्यो पद छोड्नै पर्ने रहेछ ।

थाहा छैन, हामीलाई पार्कले जे भने त्यही मात्र थाहा थियो । अनि यो कुरा बेलुका हरिहर विरहीजीसँग मैले गोप्यरुपमा भनेँ र उहाँले यसलाई सहजतरिकाले लिनु भयो र नेपालमा गएपछि मिलाएर नयाँ कमिटी गठन गरौंला भन्नुभयो । तर अहिले यो कुरा संस्था दर्ता नगरी नभन्ने भन्ने पनि भयो । मात्र हाम्रो विचारमा एउटा कुरा आयो - हामी पनि किन अन्तर्राष्ट्रिय संस्थाहरूमा सहभागी नहुने ? नेपालले अब स्वतन्त्रताको उपभोग गर्न पाउनु पर्छ समानताको आधारमा ।

सौभाग्यवश त्यही संस्था नेपालको खेलकुद लेखकहरूको इतिहासमा पहिलो हुन गयो । तर त्यसलाई निरन्तरता दिन सकिएन । त्यसका कारणहरू छन् तर म र कृष्णले १९९० को सिउला भएको अधिवेशनमा भाग लियौँ र नेपाललाई पूर्ण सदस्य बनायौँ । आज पनि त्यो सदस्यता कायम छ । क्रमशः