आत्महत्या : आफ्ना पिर मर्का, दुःख, समस्याका बारेमा विश्वासिलो आफन्तसँग बाँड्न नपाउँदाको परिणाम !

आत्महत्या : आफ्ना पिर मर्का, दुःख, समस्याका बारेमा  विश्वासिलो आफन्तसँग बाँड्न नपाउँदाको परिणाम !

आशिष पौडेल  |  दृष्टिकोण  |  कार्तिक २, २०७७

अहिले संसार कोभिड–१९ त्रासले आक्रान्त छ । मानिसहरू आफ्नो कामकाजमा बाहिर निस्कन पाएका छैनन् । विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । बाहिरी सम्पर्क शून्यप्राय  छ । कतै कुनै जरुरी कामले जानुपरे पनि कसैले छोला वा छोइएला भनेर आफूले आफैँलाई छोइछिटो गर्नुपर्ने बाध्यता छ । 

मानिस स्वतन्त्र प्राणी हो भन्नेमा अब मतैक्य नहोला । उसले स्वतन्त्रताका नाममा लडेका ठूला ठूला युद्ध यसका प्रमाण हुन् । यसरी स्वतन्त्रताको लागि ज्यान उत्सर्ग गर्न तयार हुने प्राणी जुनसुकै कारणले भए पनि घरभित्रै थन्किएर बस्नुपर्ने बाध्यता आइलाग्दा उसमा के कस्तो उकुसमुकुस र छटपटी होला  सहजै अनुमान गर्न सक्ने कुरा हो । 

अझ त्यसमा रोगबाट जोगिन भन्नुस वा आफ्नो आत्म रक्षार्थ मुखमा मास्क लगाउनुपर्ने, हातमा स्यानिटाइजर घस्नुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता आइलागिरहको छ । अझ डाक्टर सापका हकमा त पिपिई सेट लगाएर हरदम तयार भएर बस्नुपर्ने । 

कसैलाई कोरोनाको शङ्का लाग्यो वा सामान्य लक्षणका रुपमा देखा पर्ने रुघाखोकी नै लाग्यो भने पनि ऊ घरपरिवार, समाज, साथीभाइ आफन्तबाट टाढा हुने भो । झन् परीक्षण पछि कोरोना लागेको प्रमाणित नै भए त उसमाथि टोल छिमेक देखि परिवारबाट समेत एक प्रकारको बहिष्करणका कारण उसमाथि मानसिक तनाव नै हुनभयो ।

यसमा उसको न केही भूमिका छ, न त केही गर्न सक्छ । आफू भन्दा धेरै माया गरेको घरपरिवार साथीभाइबाट यस किसिमको व्यवहार हुँदा उसमा एक किसिमको मानसिक आघात नै पर्न जान्छ । अझ मन कमजोर भएको र मनोरोगी नै रैछ भने त त्यसको निकै ठुलो गहिरो असर पर्ने भयो । 

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्ति स्वयं हो । उसले आफ्ना पिर मर्का, दुःख, समस्याका बारेमा आफ्नो विश्वासिलो कसैसँग बाँड्ने तथा आफू रहे मात्र संसार रहन्छ त्यस कारण कसले के भन्छ भन्ने भन्दा पनि आफूलाई कसरी ठिक हुन्छ र हुने उपाय के के हो भनेर त्यसका बारेमा अध्ययन जानकारी तथा उपाय अवलम्बन गरेका खण्डमा आत्महत्याको दरमा साँच्चै कमी ल्याउन सकिन्छ । 

सामाजिक रुपमा हिँडडुलमा प्रतिबन्ध, काममा प्रतिबन्ध र आय आर्जन समेत नहुने हुँदा  चर्को मानसिक दबाबमा जीवन जिउन बाध्य हुन्छ  मानिस । यस्तै मानसिक तनाव अनि दबाबका कारण उसले सबै पक्षमाथि विचार गर्न सक्दैन र अब म सकिएँ, खत्तम भएँ भन्ने लागेर उसले देखेको सजिलो बाटो आत्महत्यातिर लाग्ने प्रबल सम्भावना हुन्छ ।

यस कारण यही कोरोना कहरकाबीच एउटा बहस पनि छेडिएको थियो, कोरोनाका कारण भन्दा पनि अन्य प्रकारका रोग, भोक र मानसिक तनावका कारण धेरै मानिसको ज्यान गइरहेका छ  अर्थात् मानिसले आत्महत्या गरिरहको छ । आखिर आत्महत्या के हो ? किन मानिस यस प्रकारको दुष्कर्म गर्न अग्रसर हुन्छ र यसबाट जोगिने उपायका बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । 

आत्महत्या के हो ?

व्यक्ति स्वयंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । हामीले बुझेको आत्महत्या यही हो । नेपाली वृहत् शब्दकोश आत्महत्याका बारेमा भन्छ, आफूले आफैँलाई मार्ने काम, जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात । के यो भन्दा पृथक् छ त मनोचिकित्सकमा यसको अर्थ ? बिलकुल फरक छैन, वरिष्ठ मनोचिकित्सक डा.काकोल चक्रवर्ती भन्नुहुन्छ । 

आत्महत्याका प्रकार भने फरक छन् । कहिलेकाहीँ हामीले सामूहिक आत्महत्याका बारेमा पनि सुन्ने गरेका छौँ । कुनै एक व्यक्तिले धेरै मानिसलाई आत्महत्या गर्न प्रेरित गर्दछ र उसले पनि आत्महत्या गर्छ भने त्यो सामूहिक आत्महत्या हो । तर, एउटा कुरा के स्पष्ट भन्न सकिन्छ भने बिना कारण कसैले पनि आत्महत्या गर्दैन । कारण अनगिन्ती हुन सक्छन् । भलै त्यो कारण आत्महत्या गर्ने व्यक्तिलाई अहम् लागेर अरूलाई गौण लाग्न सक्छ । र, अर्को कुरा गरिबी र पछौटेपनका कारण अविकसित देशमा आत्महत्याको दर बढ्दो देखिन्छ । यसको अर्थ फेरी समृद्ध मुलुकमा आत्महत्या नै हुँदैन भन्ने होइन खाली मात्रा मात्र फरक हो । 

माया प्रेमको कमी, घरेलु झगडा, जाँडरक्सी अभाव र गरिबी प्रमुख कारण हुन सक्छन् आत्महत्याका । तर, मानसिक रोग, उदासी, दिक्दारीपन, अति महत्त्वाकाङ्क्षा आदि पनि आत्महत्याका बलिया पक्ष हुन् । मानसिक रोगलाई भने आत्महत्याको सबैभन्दा बलियो कारणका रुपमा लिइन्छ । किनकि जस्तोसुकै गरिबी, अभाव र दिक्दारीमा पनि मान्छे बाँच्ने कोसिस गर्छ । अन्य कुनै उपाय भएन वा देखेन भने मात्र उसले आफूले आफूलाई सिद्ध्याउने उपायको खोजी गर्छ । 

कडा डिप्रेसन तथा सिजोफ्रेनियाका रोगीले आत्महत्या गर्ने सम्भावना एकदमै धेरै रहन्छ । रोग रहँदा भन्दा पनि औषधी खाएर केही ठिक भएको अवस्थामा आत्महत्या गर्ने सम्भावना बढी देखिन्छ । यसमा घरपरिवारमा रहेका अन्य विवाद र कलह पनि थपिए भने त्यसको सम्भावना झनै धेरै हुन्छ । कसैको आनुवंशिक रुपमा नै आत्महत्याको केस छ भने पनि त्यसमा व्यक्तिले आत्महत्या गर्ने सम्भावना बढी रहन्छ । 

आत्महत्याको प्रयासका लागि भने उसलाई जे सजिलो लाग्छ र सहज उपलब्ध हुन्छ त्यस्ता चिजको बढी प्रयोग हुने गरेको पाइन्छ । नेपालका हकमा भने पासो लगाएर झुन्डिने तथा खेतीवारिमा प्रयोग गर्ने विषादीको प्रयोग अत्यधिक देखिएको छ आत्महत्याका लागि । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भने नेपालमा अन्य विकसित देशको दाँजोमा आत्महत्याको दर बढी रहेको छ । तर, यसको कुनै आधिकारिक तथ्याङ्क भने छैन । यस विषयमा नेपालमा कुनै पनि किसिमको अनुसन्धान पनि भएको छैन र तथ्याङ्क पनि उपलब्ध छैन । हाल कोभिडका कारण आत्महत्याको केस बढेको भन्ने विश्लेषणमा पनि खासै सत्यता रहेको देखिँदैन । किनकि जो मानिसले आत्महत्या गर्‍यो ऊ मानसिक रोगी थियो थिएन भन्ने कुनै अध्ययन नभएका कारण उसको मृत्यु के कारणले भएको त्यसको वास्तविकता भने लुक्ने गरेको छ ।

यसै सन्दर्भमा नेपालमा सामान्यतया दैनिक १५ जनाले आत्महत्या गर्ने गरेकोमा कोभिडका कारण बढेर २० पुगेको बताइन्छ । यसअघि मासिक ४ सय आत्महत्याको केस रहेकोमा त्यो बढेर ५ सय पुगेको पनि बताइन्छ । साउनसम्मको लकडाउनको अवधिमा झन्डै २ हजार आत्महत्याको केस भेटिएको र यसमा २० प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्कमा देखाइएको छ । तर, यसमा पनि अध्ययनको जरुरी रहेको देखिन्छ । 

आत्महत्याबाट जोगिन के गर्ने 

आत्महत्याको प्रमुख कारण भनेको नै मानसिक रोग हो । आफूमा मानसिक रोग भए नभएको यसका लक्षणका आधारमा आफैँले विचार गर्ने र आवश्यक परेका खण्डमा डाक्टरको पनि सहायता लिने । 

अर्को भनेको मानसिक रोग भनेर हामीले समाजमा विभेद कायम गरेका छौँ त्यसलाई हटाउन कोसिस गर्ने र मानसिक रोगका अस्पताल तथा डाक्टरले पनि स्नायु तथा नशा सम्बन्धी अस्पताल वा डाक्टर भनेर भनेका खण्डमा मानसिक रोगीलाई डाक्टरकोमा आउन पनि सहज हुने र समाजले हेर्ने दृष्टिकोणमा पनि बिस्तारै परिवर्तन ल्याउन सकिन्छ । 

त्यस्तै समुदायमा मानसिक रोग सम्बन्धी जनचेतना फैलाउने र मानसिक रोगीप्रति हुने विभेदमा कमी ल्याउने किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने । 

अनि सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको घरपरिवारको हो । घरपरिवारले जत्तिको व्यक्तिलाई अरूले बुझ्दैन र बुझ्न सक्दैन र चाहँदैन पनि । कारण यो संसारमा मानिसलाई आफ्ना बारेमा त सोच्ने फुर्सद छैन भने अरूको बारेमा टाउको दुखाउने फुर्सद कहाँ ? 

घरपरिवारले मानसिक रोग लागेको शङ्का लागेमा डाक्टरकोमा लैजाने, परामर्शमा लैजाने, माया ममता तथा उसका कुरा सुन्ने र उसलाई सहज हुने किसिमको व्यवहार गरिदिने हो भने आत्महत्याको दरमा धेरै कमी ल्याउन सकिन्छ । 

अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्ति स्वयं हो । उसले आफ्ना पिर मर्का, दुःख, समस्याका बारेमा आफ्नो विश्वासिलो कसैसँग बाँड्ने तथा आफू रहे मात्र संसार रहन्छ त्यस कारण कसले के भन्छ भन्ने भन्दा पनि आफूलाई कसरी ठिक हुन्छ र हुने उपाय के के हो भनेर त्यसका बारेमा अध्ययन जानकारी तथा उपाय अवलम्बन गरेका खण्डमा आत्महत्याको दरमा साँच्चै कमी ल्याउन सकिन्छ ।