विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक ४, २०७७

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । 

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उहाँले सो रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएका श्रेष्ठले उक्त कोषमा तीन लाख रुपैयाँ थप गर्नुभएको छ । उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो ।

सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । 

अवकाशसँगै एक लाखको अक्षयकोष

सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । शिक्षकबाट अवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत हुनुभएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताउनुभयो ।