प्रविधिको प्रयोग गरी ‘सिसिफस’ लोकार्पित

प्रविधिको प्रयोग गरी  ‘सिसिफस’ लोकार्पित

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक ४, २०७७

मङ्गलबारे । कवि सोम निरौलाको नयाँ कवितासङ्ग्रह ‘सिसिफस’ विमोचन गरिएको छ । प्रविधिको प्रयोग गरी उहाँको नवप्रकाशित कृति विमोचन गरिएको हो । इलाम नगरपालिका –५ स्थित अमर माविका प्रधानाध्यापक निरौला पछिल्लो समय नेपाली साहित्यमा समेत क्रियाशील हुनुहुन्छ । उहाँको कवितासङ्ग्रह कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द–चौतारी  साहित्यिक संस्थाको सहकार्यमा सोमबार विमोचन गरिएको हो । 

सङ्ग्रहमा ४९ छन्द कविता समेटिएका छन् ।  सामाजिक सञ्जालको प्रयोग गरी आयोजित विमोचन कार्यक्रममा मनोज भण्डारी, नीरा रानाभाट, भवानी खतिवडा र पुष्कल किरणले ‘सिसिफस’ भित्रका कविता वाचन गर्नुभयो । ग्रीसेली पात्र सिसिफसले अग्लो पहाडमा ठूलो ढुङ्गा लैजान आदेश पाएको हुन्छ जुन गुल्टेर तल पुग्छ र फेरि फेरि माथि लगिरहन विवश हुन्छ । 

सामाजिक सञ्जालमा छन्द चौतारी नामक समूह सञ्चालन गरी नेपाली छन्द कविताको जागरणमा सक्रिय निरौलाको यो पहिलो कृति हो । उहाँ गजल तथा अन्य विधामा समेत कलम चलाउनुहुन्छ ।  उहाँले आगामी दिनमा अझै साहित्यिक कृति सार्वजनिक गरिने बताउनुभयो ।