माछापालनका लागि ५०  पोखरी बनाउँदै नगरपालिका

माछापालनका लागि ५०  पोखरी बनाउँदै नगरपालिका

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ४, २०७७

इलाम । माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि ४० हजार रुपैयाँ अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । 
  
नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ । माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन् । 
 
'इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो', नगरका सूचना अधिकारी रामकुमार साहले भन्नुभयो, 'सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।' नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ । नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताउनुभयो ।