रोल्पाको शिक्षामा  नौ करोड रुपैयाँकाे बजेट

रोल्पाको शिक्षामा  नौ करोड रुपैयाँकाे बजेट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  कार्तिक ४, २०७७

रोल्पा । यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा आठ करोड ७६ लाख १३ हजार ५०० रुपैयाँ विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् । जिल्लामा एक नगरपालिकासहित १० स्थानीय तह छन् । पालिकामध्ये सबैभन्दा बढी शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्ने गङ्गादेव गाउँपालिका रहेको छ भने सुनछहरी गाउँपालिकाले सबभन्दा कम बजेट विनियोजन गरेको छ । गङ्गादेव गाउँपालिकाले चालू आवका लागि करार शिक्षक पारिश्रमिक खर्च  दुई करोड ४५ लाख रुपैयाँ, विद्यालय व्यवस्थापन खर्च  दुई लाख २५ हजार रुपैयाँ, शिक्षक तालीम आठ लाख रुपैयाँ र बालविकास तालीम पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लामै सबभन्दा कम बजेट विनियोजन गर्ने सुनछहरी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

यसैगरी माडी गाउँपालिकाले शैक्षिक अनुदान शीर्षकमा रु एक करोड ४० लाख प्रस्ताव गरेको छ । जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले एक करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा विकासका लागि एक करोड रुपैयाँ र प्राविधिक छात्रवृत्तिका लागि ३० लाख रुपैयाँ विनियोजित गरेको छ । लुङ्ग्री गाउँपालिकाले शिक्षक अनुदान शीर्षकमा एकमुष्ट ४४ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । परिवर्तन गाउँपालिकाले शिक्षक अनुदानतर्फ  ६७ लाख १८ हजार ५०० रुपैयाँ विनियोजन गरेको छ । 

सुनिलस्मृति गाउँपालिका अध्यक्ष कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ, उपाध्यक्ष छात्रवृत्तिअन्तर्गत चार लाख र शैक्षिक सुधार शीर्षकमा रु ८६ लाख ५० हजार रुपैयाँ गरी कूल ९५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । थवाड गाउँपालिकाले शैक्षिक विकास शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्रिवेणी गाउँपालिकाले शिक्षा विकास शीर्षक दिएर ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी रुन्टीगढी गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि एकमुष्ट ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 

रोल्पाका ४०७ सामुदायिक विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययन गर्दछन् । जिल्लाका २०० बढी विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन । ती स्कूलको खर्च अभिभावकले धान्नु परेको बालकल्याण नमूना मावि लिवाङ शिक्षक अभिभावक सङ्घका अध्यक्ष ऋषिराम रोकाले बताउनुभयो । प्राविमा २५२, निमावि ४३१ र माविमा २९८ दरबन्दी अपुग रहेको शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाको तथ्याङ्कले देखाएको छ । पाँच हजारभन्दा बढी विद्यार्थी रहेको रोल्पाको सुनछहरी गाउँपालिकामा एउटा पनि मावि दरबन्दी छैन ।

जिल्लाको एकमात्र नगरपालिकाभित्र चार वटा मावि, ११ वटा निमावि, १४ वटा प्रावि तहमा सरकारी दरबन्दी छैन । ती विद्यालय र सात वटा बालविकाससमेत गरी ३६ वटा विद्यालयलाई स्वयंसेवक शिक्षक उपलब्ध गराएको नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले बताउनुभयो । उहाँका अनुसार, प्रतिमहिना २० हजार रुपैयाँ मावि, १५ हजार रुपैयाँ निमावि र  १० हजार रुपैयाँ प्रावि तहका शिक्षकलाई पारिश्रमिक दिने गरी ती विद्यालयमा पठाइएको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकले निजी स्रोतका १७० शिक्षकको तलब भत्ताका लागि वार्षिक दुई करोड ७६ लाख रुपैयाँ ब्योहोर्दै आएका थिए । 

परिवर्तन गाउँपालिकाले ६८ शिक्षक दरबन्दी सिर्जना गरी त्यसको खर्च ब्योहोरेको छ । यसअघि त्यहाँका अभिभावकले निजी शिक्षकको तलबबापत हरेक वर्ष एक करोड ४३ लाख चार हजार रुपैयाँ खर्च ब्योहोर्दै आएका थिए । रोल्पाका गङ्गादेव, माडी, लुङ्ग्री र त्रिवेणी गाउँपालिकाले पनि निजी शिक्षक अनुदान शीर्षकमा बजेट विनियोजन गरी शिक्षामा अभिभावकको भार कम गरेका छन् ।

स्थानीय तहहरुले शैक्षिक विकासमा ध्यान दिन थाले पनि विद्यालयमा भने माध्यमिक तह पूरा नगर्दै विद्यालय छाड्ने छात्रको दर बढ्दै जान थालेको छ । तल्ला तहमा विद्यार्थीको सङ्ख्यामा खासै अन्तर नदेखिए पनि कक्षा बढ्दै जाँदा केटाको सङ्ख्या घट्दै गएको तथ्याङ्कमा देखिएको छ । कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या बराबर रहे पनि कक्षा ८ देखि छात्रले पढाइ छाड्न शुरु गर्ने गरेको रोल्पा नगरपालिकाका शिक्षा अधिकृत कर्ण पुनले बताउनुभयो । 

उहाँले सानै उमेरमा विवाह गर्ने, गरिबीका कारण रोजगारी खोज्न जिल्ला बाहिर जानुपर्ने कारण केटाले माध्यमिक तह पूरा नगर्दै विद्यालय छाड्ने गरेको शिक्षक प्रकाशकुमार गिरी बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहका जनप्रतिनिधिले शिक्षामा प्राथमिकता दिन थाले पनि विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जानुले जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ चुनौती थपिएको छ । विद्यालय उमेरका बालबालिका पढाइ छाडेर काठमाडौँका इँटाभट्टा, भारत, वैदेशिक रोजगारीका लागि खाडी तथा अरब मुलुकमा जाने गरेको बताइन्छ ।