कार्यालय प्रमुखका भरमा घरेलु कार्यालय

कार्यालय प्रमुखका भरमा घरेलु कार्यालय

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ४, २०७७

लमजुङ । विगत एक वर्षदेखि जिल्लाको एक सरकारी  कार्यालय कार्यालय प्रमुखको भरमा  सञ्चालन हुँदै आइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका दरबन्दीका सात कर्मचारीमध्ये अन्य कर्मचारी नहुँदा कार्यालय प्रमुख तोपलाल भुसालकै भरमा सञ्चालन हुँदै आएको हो ।
 
सङ्घीयता लागु भएपछि कर्मचारी समायोजन गरिएका कारण यहाँका कार्मचारी अन्यत्र गएकाले अघिल्लो वर्ष भदौं ११देखि कार्यालय प्रमुख भुषालले नै सेवा प्रवाह गर्दै आउनुभएकोे छ । सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ हुन नसकेको उहाँको भनाइ छ  ।

कार्यालय प्रमुख भुसालल भन्नुहुन्छ, 'प्रशासनमा दुई, लेखापालमा एक, कम्युटर सहायकमा एक र  कार्यालय सहयोगी दुई गरी छजनाको  दरबन्दीका कर्मचारी छैनन् । दरबन्दीका कर्मचारी नभएपछि करारमा कम्युटर सहायक एक र कार्यालय सहयोगी दुईजना राखेर सेवा प्रवाह गर्दै आइरहेको छु  । यसरी कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रवाह गर्न  समस्या हुँदै आइरहेको छ  ।'  पहाडी जिल्ला भएकाले  कर्मचारी अभावका कारण  स्थलगत कार्यक्रम गर्न सकिएको छैन र  गत चैतदेखि कोरनाका कारण लकडाउन हुँदा सेवा लिनबाट बन्चित भएकाहरूको गत असोजदेखि नै  भीड बढिरहेकाले समयमै सेवा दिन नसक्दा सेवाग्राहीको गुनासो बढेको उहाँले जानकारी गराउनुभयो । यतिबेला अनुदानका कार्याक्रमहरू कृषि र पशु सम्बन्धी फर्म भर्नलाई यही कात्तिक महिनासम्म कार्यालयमा बढी भीडभाड हुने कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार यस्ता फर्म भर्नलाई मात्र दैनिक ४० जनाको हाराहारीमा सेवाग्राही आउने गरेका र एक  सेवाग्राहीका लागि कम्तिमा आधा घण्टा समय लाग्ने गरेको छ । कर्मचारी अभावमा पनि आएका सेवाग्राहीहरूलाई साँझ छ बजेसम्म बसेर  सेवाप्रवाह गर्दै आइरहेको बताइएको छ । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ६६९ वटा नयाँ घरेलु उद्योग दर्ता ७६२ वटा नयाँ बाणिज्य कार्यालय दर्ता भएको थियो ।