पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ
फाइल फोटो

लोकसंवाद संवाददाता  |  पर्यटन  |  कार्तिक ५, २०७७

पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । 

कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान शुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको  नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो 'हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ हौँ । अहिले दैनिक पोखरा र आसपासका करीब दुर्य सय आन्तरिक पर्यटकले उडान गर्नुभएको छ ।' उहाँले अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको बताउनुभयो । 

आन्तरिक पर्यटकको चहलपहलले  थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले सहुलियत दरमा तीन हजार रुपैयाँमा  उडान गरिएको छ । पहिले  सात हजार ५०० रुपैयाँमा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताउनुभयो । 

हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताउनुभयो । विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उहाँको भनाइ छ । नेपाल हवाई खेलकूद संस्थाको सचिव तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखराआसपासका जिल्लाबाट आउने गरेका छन् ।  यसअघि दैनिक करीब पाँच सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करीब दुई सयले उडान गर्ने गरेको उहाँको भनाइ छ । 

पोखरामा  हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा  १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०/१२ विदेशी प्यारापाइलट  यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करीब  एक अरब रुपैयाँको लगानी छ ।