महिला बालबालिका पुनःस्थापना केन्द्र्रको भवन उद्घाटन

महिला बालबालिका पुनःस्थापना केन्द्र्रको भवन उद्घाटन

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ५, २०७७

खोटाङ । महिला बालबालिका पुनःस्थापना केन्द्र खोटाङको भवन निर्माण सम्पन्न भएको छ । 

स्थानीय विकास मन्त्रालयको  छ लाख रुपैयाँ, तत्कालीन जिल्ला विकास समितिको  तीन लाख रुपैयाँ, प्रदेशसभा सदस्य उषाकला राईको संसदीय विकास कोषको  पाँच लाख रुपैयाँ र चन्दा सङ्कलनबाट जम्मा भएको ६२ हजार रुपैयाँ र अन्य गरी कूल २२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो एकतले पक्कीमा भवनमा तीन कोठा रहेका छन् । 

उक्त भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले दिक्तेलको रत्नपार्कस्थित किराँतचोकभन्दा माथिको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको केन्द्रकी अध्यक्ष पूर्णमाया तामाङले जानकारी दिनुभयो । 

केन्द्रको प्रथम साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हीरा गुरुङले सो नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता राईलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

साधारणसभाले केन्द्रको एकतले भवनमा तला थप गर्ने र घेराबार गर्ने, हिंसापीडित महिलालाई पुनःस्थापना गर्ने, मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्ने, पीडित महिलालाई आयआर्जन गर्न सक्ने सीप सिकाउनेलगायतका भावी योजना तय गरेको छ । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललगायत सहभागी हुनुहुन्थ्यो ।