किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव

किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक ५, २०७७

एजेन्सी । किर्गिजस्तानका अधिकारीहरुले आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्नेगरी नयाँ मिति सार्वजनिक गरेका छन् । यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रुपमा विजय हासिल गरेका थिए । 

तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपति विरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए । विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिनु भएको छ । 

सरकारी कार्यालयहरुमा आक्रमण समेत हुन थालेपछि निर्वाचन अधिकारीहरुले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए । प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभ समेत धेरै विपक्षीहरुलाई मुक्त गरेका थिए । 

राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गर्नु भएको थियो । 

बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ । राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ । 

चीनसँग सीमा जोडिएको मध्य एसियाई राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा तीन पटक सत्ता विद्रोह भइसकेको छ । यसअघि सन् २००५ / २०१० मा सत्ता विद्रोह भइसकेको छ ।