विपन्नलाई दशैँलक्षित राहत

विपन्नलाई दशैँलक्षित राहत

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ५, २०७७

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले नगरका विपन्न परिवारलाई आज चौथो चरणको राहत वितरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको अवस्थामा हाल नगरपालिकाले हाल दाताको सहयोगमा दशैँलक्षित ११२ विपन्न परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।
 
यसअघि नगरपालिकाले कोरोना सङ्क्रमणपछि पहिचान भएका ३६३ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत राहत वितरण शुरु गरिएको र अहिले चौथो चरणको राहत वितरण गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । 'कोरोना सङ्क्रमण शुरु भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट र त्यसपछि दाताको सहयोगमा राहत प्याकेज सञ्चालन गरिरहेका छौँ', उहाँले भन्नुभयो ।

चौथो चरणको राहत प्याकेजमा प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल र एक प्याकेट नुन रहेको छ । हाल नेपाल जेसुइस सामाजिक संस्थाले नगरपालिकामार्फत विपन्नलाई राहत उपलब्ध गराएको हो । यसअघि नगरपालिकालाई दोस्रो र तेस्रो चरणको राहत नमोबुद्धस्थित ठाङ्गू गुम्बाले सहयोग गरेको थियो । ११ वडा रहेको नगरपालिकामा हाल दुई महिलासहित १९ सक्रिय सङ्क्रमित रहेका छन् ।