डा. बाबुराम भट्टराई पहिलो अध्यक्ष भएको २४ घण्टा नबित्दै नेकपा विवादमा ‘रअ’ प्रमुखको 'इन्ट्री' !?

लाेकसंवाद टिप्पणी

डा. बाबुराम भट्टराई पहिलो अध्यक्ष भएको २४ घण्टा नबित्दै  नेकपा विवादमा ‘रअ’ प्रमुखको 'इन्ट्री' !?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ६, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद एकातिर टाल्यो अर्को तिर भ्वाङ परिरहेको छ । पछिल्लो समय कर्णाली प्रदेशको विवादसँगै  विवाद जटिल मोडमा पुगेको बेला   भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विंग (रअ) का प्रमुख सामन्त कुमार गोयल  नेकपाको विवादमा प्रवेश गरेका छन् ।  

नेकपाका अध्यक्ष द्वय केपी ओली, पुष्पकमला दाहाल र बरिष्ठ नेता माधव नेपालसँग अलगअलग भेट गरेर  विवादमा प्रवेश गरेका औपचािरक सन्देश दिएको छ ।

नेपालको राजनीतिमा पटक पटक हस्तक्षेपकारी भूमिका खेल्दै आएको 'रअ' का प्रमुखले नेकपाभित्रको विवाद जटिल भएको समयमा गुप्तचर निकायका प्रमुखले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनी केही घण्टाको बसाइका लागि काठमाडौँ आएको उच्च सुरक्षा स्रोतको भनाइ छ । 

यद्यपि उनी गोप्य रुपमा नेपाल भ्रमणमा आउनुको कारण भने खुलाइएको छैन । नेपाल र भारतबिच गत वर्षको अन्त्यदेखि नै नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयलाई लिएर विवाद रहँदै आएको छ । सो विवादका क्रममा भारतीय सेनापति मनोज मुकुन्द नरवणे आगामी महिना नेपाल भ्रमण गर्दैैछन् । भारतीय सेनापति नरवणेलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनापतिको उपाधि दिने कार्यक्रम तय भइसकेको  छ । 

लामो समयदेखि विवादको दुई पाटो बन्दै आएका ओली र नेपालबिच अहिले विवाद समाधान गर्ने विषयमा छलफल भए पनि त्यसले सार्थक रूप पाउन नसक्दा ओली अप्ठ्यारोमा परेका छन् । ओलीले कर्णालीलाई उदाहरण दिएर केन्द्रमा शक्ति प्रदर्शनको तयारी गरे भने त्यसले उल्टो ‘ब्याक फायर’ को खतरा पनि उत्तिकै छ । 

'रअ' प्रमुखको नेपाल भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने केही बताएको छैन । यद्यपि 'रअ' प्रमुख ७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । बिहीबार दिल्ली फर्कनुअघि उनले विभिन्न दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

मिल्दामिल्दै बल्झियो नेकपा विवाद

एक साताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरु भएको नेकपा विवादले केन्द्रमा नै हलचल ल्याइदिएको छ ।

कर्णालीको विवाद हल गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कमजोर देखिएको छ भने माधव नेपाल र प्रचण्डको समूह बलियो देखिएको छ । हार र जीतका आधारमा निकास पाएको कर्णाली प्रदेशको विवादले तत्कालै कुनै नयाँ घटनाक्रम विकसित नभएमा शुक्रवारको प्रदेश संसदीय दलको बैठकबाट औपचारिक रुपमा टुङ्गो लाग्नेछ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएका थिए । बहुमत प्रदेश सांसदहरूलाई एकतिर बनाउन सफल भए पनि यामलाल कँडेल अन्ततः त्यहाँको विवादमा कमजोर देखिएका छन् । नयाँ सहमतिअनुसार केपी ओली पक्षीय नेता गुलाबजंग शाहले समेत प्रमुख सचेतकको पद गुमाएका छन् ।

अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि ती नेताहरूलाई प्रस्ताव अघि नबढाई काठमाडौँ आउन निर्देशन दिएका थिए । अध्यक्षद्वयको निमन्त्रणमा काठमाडौँ आएका नेताहरू सुर्खेत फर्किन थालेका छन् । 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल कर्णालीको विवाद समाधान गर्न सहमत बनेका छन् । जसअनुसार बहुमतका आधारमा समाधान खोज्न तयार भएका छन् ।  गुलाबजंगमाथिको कारबाही जसरी पनि खुला गर्ने प्रधानमन्त्रीको योजना रहेपछि अब ओली पक्षीय नेताहरू किनारा लाग्ने अवस्था सिर्जना भएको बताइन्छ । 

मङ्गलवार मात्रै नेकपाका दुई अध्यक्षबिचको भेटवार्तालाई लिएर अलग अलग विज्ञप्ति जारी गरिएका छन् । यस बिचमा नेपाल र प्रचण्ड समूह बलियो बनेको छ भने ओली पक्षधर कमजोर बनेका छन् । 

नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा पूर्वमाओवादी ३ र माधव नेपाल पक्षमा ७ सांसद छन् । कर्णाली प्रदेशमा समस्या समाधानका क्रममा तीव्र हस्तक्षेप गर्दा ओलीमाथि थप आलोचना हुने अवस्था छ । उनले केन्द्रमा गत साता मन्त्री फेर्दा नेपाल र प्रचण्ड पक्षलाई ‘बाईपासईपास’ गरेपछि नेपाल र प्रचण्ड पक्ष पनि कर्णालीमा ‘ओलीलाई देखाइदिने रणनीतिमा’ मा रहेको  बताइदैछ  । 

अविश्वासको प्रस्तावविरुद्ध नेपाल र प्रचण्ड पक्षका सांसद एक भएमा सिधै अल्पमतमा पर्नेछ । यसमा मुख्यमन्त्री हटाउने ओली पक्षको योजना मात्रै असफल भएन, ओली पक्षका मुख्य सचेतकको पद पनि खुस्कियो । अब मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपाली प्रमुख सचेतक बन्नेछिन् । 

कर्णालीका सभामुख, दुई जना मन्त्रीहरू ओली निकटका छन् । शुक्रवारको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव असफल भएमा आगामी साता मन्त्रिपरिषद पुनर्गठन हुने सम्भावना छ । 

कोरोना सङ्क्रमितको उपचारको दायित्वबाट सरकार भागेको भन्दै जनआक्रोश बढिरहेका बेला मङ्गलवार माधव कुमार नेपाललाई मङ्गलवार नै बोलाएर छलफल गरेका थिए । 

प्रधानमन्त्री ओलीले माधव नेपालसँग मङ्गलवार भेट गरेका बेला नेपालले कोभिड १९ को उपचारसम्बन्धी सरकारी निर्णयमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन आग्रह गरेका थिए । लामो समयदेखि विवादको दुई पाटो बन्दै आएका ओली र नेपालबिच अहिले विवाद समाधान गर्ने विषयमा छलफल भए पनि त्यसले सार्थक रूप पाउन नसक्दा ओली अप्ठ्यारोमा परेका छन् । ओलीले कर्णालीलाई उदाहरण दिएर केन्द्रमा शक्ति प्रदर्शनको तयारी गरे भने त्यसले उल्टो ‘ब्याक फायर’ को खतरा पनि उत्तिकै छ । 

जे भएपिन नेपालको राजनीतिमा पटक पटक हस्तक्षेप गर्दै आएका 'रअ' का प्रमुख नेकपा विवादमा हात हालेको छ । जनता समाजवादी पार्टीले पूर्व प्रम डा. बाबुराम भट्टराईलाई सङ्घीय परिषद् तथा पहिलो बरीयताको अध्यक्ष बनाएको २४ घण्टा पनि नबिदै नेकपा विवाद जटिल बनेका बेला ‘रअ’ प्रमुखको 'इन्ट्री' लाई अर्थपूर्ण डङ्गले हेर्न थलिएको छ । कतै 'अस्थिर'  सरकार तर्फको यात्राको प्रारम्भ त होइन !