चेन्नईको विजयी यात्रामा पूर्णविराम

चेन्नईको विजयी यात्रामा पूर्णविराम
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २१, २०७५

काठमाडौं । चालू आइपिएलमा अपराजित रहेको चेन्नई सुपर किंग्सको विजयी यात्रामा पूर्णविराम लागेको छ । 

बुधबार राती मुम्बईको वाङखडे स्टेडियममा सम्पन्न खेलमा चेन्नई मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो । 

टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले अन्तिम १७ बलमा ४५ रन बनाएपछि १७० रनको सम्मानजनक स्कोर बनाउन सकेको हो ।  

अलराउन्डरद्वय हार्दिक पाण्ड्या र क्यारोन पोलार्डले आक्रामक ब्याटिङ गरेपछि मुम्बईले सम्मानजनक स्कोर बनाएको हो । पाण्ड्याले ८ बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रन जोडे भने पोलार्डले ७ बलमा दुई छक्काको मद्दतमा १७ रनको योगदान दिए । 

मुम्बईका लागि सर्वाधिक रन सूर्यकुमार यादवले जोडे । उनले ५९ रनको योगदान दिए । यस्तै, कुर्णाल पाण्ड्याले ४२ रन जोडे । जवाफी ब्याटिङ थालेको चेन्नईको सुरुवात राम्रो हुन सकेन । चेन्नईले ओपनर ब्याट्सम्यान अम्बाती रायडुलाई शून्यमै गुमायो । यस्तै, सेन वाट्सन पनि पाँच रनमै पेवेलियन फर्केपछि चेन्नईको इनिङ धरमराएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुरेश रैनाले पनि टिमका लागि खासै योगदान दिन सकेनन् । उनी पनि १६ रनको निजी स्कोरमा आउट भए । त्यतिबेला चेन्नईले ३३ रनमा तीन विकेट गुमाइसकेको थियो । 

त्यसपछि चौथो र पाँचो नम्बरमा ब्याटिङ गर्न आएका केदार जाधव र महेन्द्र सिंह धोनीलाई टिमको इनिङ सम्हाल्ने प्रयास गरे । उनीहरूले ५४ रनको साझेदारी गरे । तर, धोनी आउट भएसँगै लगातार विकेट पतन हुँदै गयो । निर्धारित ओभरमा टिमले आठ विकेट गुमाएर १३३ रन मात्रै जोड्न सक्यो । 

चेन्नईलाई कम रन स्कोरलाई समेट्न म्यान अफ दि म्याच हार्दिका पाण्ड्याले तीन विकेट लिए । उनले धोनी, रविन्द्र जडेजा र दिपक चहरको विकेट लिए । यस्तै, लासिथ मलिंगा पनि समान तीन विकेट लिए । मलिंगाले सेन वाट्सन, केदार जाधव र ड्वेन ब्राभोको विकेट लिए । यस्तै, जेसन बेहोन्ड्रफले दुई विकेट चट्काए ।