महिला सहकारी सदस्यका  खसीबोका कारोवार

महिला सहकारी सदस्यका  खसीबोका कारोवार

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ६, २०७७

दाङ । बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् । 

महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप दुई सय खसीबोका खरीद गरेर काठमाडौंँ पठाउने योजना  छ । 

दाङबाट यस वर्ष एक हजार खसीबोका खरीद गरेर काठमाडौंँ पठाउने योजनानुसार अहिलेसम्म आठ सय खसीबोका खरीद गरिएको खाद्य कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिनुभयो । शुरुमा छ सय खसीबोका खरीद गर्ने कार्यक्रम आए पनि पछि थप चार सय खसीबोका खरीद गर्ने जिम्मेवारी आएको कम्पनीले जनाएको छ । उहाँले भन्नुभयो ‘खसीबोका सहजरुपमा पाउन थालेपछि जिम्मेवारी पनि बढेको छ । सहकारीमार्फत किसानले व्यावसायिक बाख्रा पालन गर्न थालेपछि उत्पादन बढ्यो ।’

प्रतिकिलो जिउँदो खसी  ५३० रुपैयाँ देखि  ५५० रुपैयाँ मा कम्पनीले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रतिकिलो ५३० रुपैयाँ सम्ममा किन्ने गरेको छ । सहकारीले लिने सेवा शुल्क किसानलाई कार्यक्रममार्फत फर्काउने गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले जानकारी दिनुभयो । सहकारीमार्फत कारोवार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले यस वर्ष कारोवार बढेको उहाँको भनाइ छ ।