पेट्रोलियम पदार्थको भण्डारण कुन देशमा कति ?

पेट्रोलियम पदार्थको भण्डारण कुन देशमा कति ?

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७५

काठमाडौं । आजसम्म संसारमा इन्धनको सबैभन्दा ठूलो स्रोत पेट्रोलियम पदार्थ अर्थात् पेट्रोल र डिजल नै हो । पेट्रोलियम पदार्थको प्रयोग झनै बढ्दो छ ।

सन् २०१७ मा प्रतिदिन विश्वभर ९.७२० करोड बैरल (Barrel) तेल खपत हुन्थ्यो । तेल उत्पादक देशहरूको संगठन अर्गनाइजेसन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक)को रिपोर्ट अनुसार सन् २०१८ मा प्रतिदिन तेलको खपत बढेर ९.८८२ करोड बैरल हुन पुग्यो । सन् २०१९ मा तेलको खपत प्रतिदिन १० करोड बैरल हुने ओपककै आँकलन छ । 

एक बैरल पेट्रोलियम पदार्थ भनेको युएस स्ट्यान्डर्डमा ४२ गैलन (Gallons) हो । यस्तै, युएस स्ट्यान्डर्डमा एक गैलन भनेको २३१ क्युबिक इन्च अथवा ३.७८५४११७८४ लिटर हुन्छ । यस अनुसार एक बैरलमा १५८.९७ लिटर पेट्रोल अथवा डिजल हुन आउँछ । 

सन् २०१९ मा प्रतिदिन खपत हुने अनुमान गरिएको १० करोड बैरल भनेको झण्डै १५ अबै ९० करोड लिटर हो । गणना गरी हेर्नुस्, एक दिनमा तपाईं कति लिटर पेट्रोलियम पदार्थको खपत गर्नुहुन्छ ? \

कहाँ कति छ तेल भण्डारण ?

तेल भण्डारणमा सबैभन्दा अग्रणी देश भेनेजुएला हो । यहाँ ३० हजार २ सय ३० करोड बैरल तेल छ ।

दोस्रो नम्बरको तेल धनी राष्ट्र साउदी अरब हो । योसँग २६ हजार ६ सय २० करोड बैरल तेल मौज्दात छ । 

यस सूचीमा क्यानडा तेस्रो नम्बरमा आउँछ । क्यानडासँग १७ हजार ५० करोड बैरल तेल रहेको अनुमान गरिएको छ । 

यस्तै, इरानसँग १५ हजार ७ सय २०, इराकसँग १४ हजार ८ सय ८०, कुवेतसँग १० हजार १ सय ५०, युएईसँग ९ हजार ७ सय ८० र रुससँग ८ हजार करोड बैरल तेल भण्डारण छ । 

– एजेन्सीको सहयोगमा