प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक ७, २०७७

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई  कारोना सङ्क्रमण भएको छ ।  मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ ।  मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।  उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।  उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य  छ । 
दुईको मृत्यु 

कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको  मृत्यु भएको छ । नोबेल शिक्षण  अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एकएक पुरुष र महिलाको उपचारका क्रममा  बिहान  मृत्यु भएको  अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

अस्पतालमा बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु  भएको हो । उनी फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।  सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा  मृत्यु भएको दाहालले बताउनुभयो ।