विष्णुधाममा योग तथा ध्यान केन्द्र बन्ने

विष्णुधाममा योग तथा ध्यान केन्द्र बन्ने

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ७, २०७७

कञ्चनपुर । भीमदत्त नगरपालिका –३ तिलकपुरस्थित विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा केन्द्र बनाउन लागेको हो ।

केन्द्र निर्माणका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । विष्णु मन्दिर आउने दर्शनार्थी, भक्तजन र स्थानीयवासीका लागि केन्द्र बनाउन लागिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले बहूपयोग हुने गरी  केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो ।

विष्णु मन्दिर साकेत धाम धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण  छ ।  यहाँ आउने भक्तजन र स्थानीयवासीलाई ध्यान र  योग गर्न सहयोग पुगोस् भनेर बनाउन लागिएको केन्द्रको काम अब केही दिनमा  शुरु गरिने छ । 

नगरपालिकाले विष्णु मन्दिर साकेतधाम क्षेत्रको गुरुयोजना बनाएर धार्मिक पर्यटकीयस्थलका रुपमा  विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख विष्टले बताउनुभयो । रौटेलादेखि ब्रह्मदेवसम्म जैविक– धार्मिक –पर्यटकीय मार्ग निर्माण गरी सबै धार्मिक पर्यटकीयस्थललाई जोडिएको र  पूर्णागिरि माताका दर्शनार्थीलाई पनि विष्णु मन्दिरधाम पुर्‍याइने उहाँको भनाइ छ ।

विष्णु मन्दिर धाम क्षेत्रमा धर्मशाला निर्माण, पोखरी मर्मतसम्भार, परिक्रमा पथ सुधारलगायतलाई प्राथमिकता दिइएको जनाइएको छ ।  विष्णु मन्दिर धाम क्षेत्रमा दृश्यावलोकनस्तभ्म बनाउन सम्भाव्यता अध्ययनसमेत गरिएको थाहा भएको छ ।