बजार, मिठाई पसल तथा होटल अनुगमन

बजार, मिठाई पसल तथा होटल अनुगमन

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ७, २०७७

कैलाली । कैलालीको धनगढी, अत्तरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य, मिठाई पसल तथा होटलहरुको अनुगमन गरिएको छ । 'अनुगमनका क्रममा धेरैजसो पसलमा म्याद गुज्रेको खाद्यपदार्थ (बेकरीजन्य, चिसो पेयपदार्थ) पाइएकामा उक्त खाद्यपदार्थ जफत गरिएको छ', वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले भन्नुभयो, 'कतिपय सिलबन्दी खाद्यमा लेबल नराखेको र कतिपयको लेबलमा उत्पादन मिति र उपभोग्य मिति स्पष्ट उल्लेख नगरिएको (चामल, मैदा, दालजन्य) पाइयो ।'

त्यस्तै, बजार अनुगमनबाट कतिपय उद्योगहरुले मापदण्डअनुरुप काम नगरेको पाइएकाले त्यस्ता उद्योगहरुलाई उक्त मापदण्ड सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

खाद्य पसलहरुले आफ्नो पसलमा लेबल नभएको र म्याद गुजे्रको खाद्य पदार्थबारे विचार नगरेकामा अबदेखि सुधार गर्न निर्देशन दिइएको र कतिपय मिठाई पसल र होटेलले असल स्वच्छता अभ्यासको मापदण्ड पूरा नगरेको पाइएकामा सो सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा संयुक्त अनुगमन समितिबाट बजार अनुगमन गरिएको छ । अनुगमनमा खाद्य किराना मिठाई, हल्का पेय तथा अल्कोहलिक पेयपदार्थहरु, तरकारी पसल, मासु पसलहरु लगायतको अनुगमन गरी केही म्याद गुज्रेका (हल्का पेय, चिया) ढुसी परेको बदाम र ढुसी परेको नरिवल खुल्ला खाद्यपदार्थ जफत गरिएको छ । स्वच्छता मापदण्ड विपरीत सञ्चालित मासु पसलहरुलाई स्वच्छता सुधारका लागि निर्देशन दिइएको बताइएको छ । 

नुनको गुणस्तर अनुगमन सम्बन्धमा  सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आयोडिनयुक्त नुन आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने गरेको नुनको आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नुनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरिएको जनाइएको छ ।