आइजिपी खनाल भन्छन्– अब काठमाडौं सफा हुन्छ

आइजिपी खनाल भन्छन्– अब काठमाडौं सफा हुन्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७५

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यका सफा हुने दाबी गरेका छन् । ‘उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को बिहीबार शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले त्यस्तो दाबी गरेका हुन् । 

‘अब काठमाडौं उपत्यका सफा हुन्छ’ उनले भने, ‘प्रशासनिक निकायले एकपटक गरेको निर्णय कार्यान्वयन हुन्छ ।’ 

काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन बस पकेट निर्माण गर्ने उल्लेख गर्दै उनले भने, ‘अब धुवाँको मुस्लो फालेर हिँड्ने पुरानो गाडी नियन्त्रणमा लिइनेछ ।’ 

उनले धुवाँको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन कसैलाई सोध्न आवश्यक नरहेको ट्राफिक प्रहरीलाई निर्देशन दिए । ‘प्रदुषण जाँच स्टिकर अगाडि–पछाडि टाँसेको छ, तर धुवाँ उडाएर हिँड्ने गाडी नियन्त्रणमा लिन कसैलाई सोध्नुपर्दैन्’ ट्राफिक महाशाखालाई निर्देशन दिँदै खनालले भने, ‘आँखाले धुवाँको मुस्लो देखेपछि त्यस्तो सवारी नियन्त्रणमा लिनुस् ।’ 

फुटपाथ नियन्त्रण र मिटर ट्याक्सीको समस्या दिनानुदिन जटिल बन्दै गएको उनको भनाइ छ । उनले भने,  ‘फुटपाथ अतिक्रमण स्थानीय निकाय र हामी सबै मिलेर हटाउनुपर्छ ।’ 
पछिल्लो समय मिटर जडित ट्याक्सी भाडामा हिँड्न नमान्ने र ठगी गर्ने गरेको गुनासो बढ्दै गएको उनले बताए । 

ट्राफिक प्रहरी माहाशाखाले बिहिबारदेखि ‘ट्राफिक एक्सन टिम’ बनाएर उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक ब्यवस्थापन सुधार कार्ययोजना–२०७५ कार्यान्वयन थालेको छ । जसअन्तर्गत फुटपाथ अतिक्रमण हटाउने, ब्लक भएका बाटो खोल्ने र बाटोमा राखिएका निर्माण सामग्री हटाइने ट्राफिक महाशाखाले जनाएको छ ।