तारादेवी राई : निरन्तर सङ्घर्ष, हण्डर र ठक्करले स्थापित नाम

तारादेवी राई : निरन्तर सङ्घर्ष, हण्डर र ठक्करले स्थापित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कार्तिक ७, २०७७

एउटा राजनैतिक परिवारको विरासत पाएको महिलाले जीवनमा फेरि आफैँ पनि एउटा निरन्तर सङ्घर्षपछि स्थापित भएको नाम हो तारादेवी राई । जीवनमा कति सङ्घर्ष हण्डर र ठक्कर खाएपछि एउटा नाम निर्माण हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो उहाँ । स्व. रामप्रसाद राईको नातिनी, संविधान सभाको समानुपातिक  सभासद्  र हाल रामप्रसाद प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएको तारादेवी राईको जीवन कथा हो यो । 

केही परिवारका कुरा 

उहाँको परिवार राजनीतिक परिवार हो । २००७ सालको क्रान्तिको नेतृत्व गर्ने रामप्रसाद राईको जेठो छोराको जेठी छोरी अर्थात् नातिनी हुनुहुन्छ उहाँ । उहाँको हजुरबुबा अर्थात् स्व.रामप्रसाद राई तत्कालीन श्री ३ को सरकारको शाही नेपाली सेनामा अधिकृत अर्थात् लेफ्टिनेन्ट पदमा  हुनुहुन्थ्यो । 

२००७ सालको क्रान्ति अगाडी उहाँले सैनिक अधिकृतको जागिर राजीनामा गरेर निरंकुश राणाका विरुद्ध भूतपूर्व सैनिकहरूलाई भूमिगत रुपमा सङ्गठित गरी विद्रोह थाल्नुभएको थियो । २००७ साल मङ्सिर २४ गते भोजपुरको मालपोत कार्यालयमा विना रक्तपात कब्जा गर्नुभएको थियो । जिल्लाको मालपोत कार्यालय यसरी विना रक्तपात कब्जा गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । 

रामप्रसाद राई त्यस बेला भूतपूर्व सैनिक अधिकृतका रुपमा मालपोत कार्यालय जानुभयो । पहरा गर्ने सुरक्षा जवानले भूतपूर्व सैनिकका नाताले उहाँलाई सलाम गर्‍यो । र, उहाँले सुरक्षा जवानको हतियार खोसेर कार्यालय बाहिर पठाउँदै भोजपुरको मालपोत कार्यालय विना रक्तपात कब्जा गर्नुभएको थियो । यी र यस्तै राजनीति तथा क्रान्तिका कुरा सुन्दै उहाँ अर्थात् तारादेवी राई हुर्कनु भएको हो ।

हजुरबुबा राजनीतिमा लागेका कारण घर खानतलासी गर्ने, बन्दुक बोकेका मान्छे आएर धम्क्याउने तर्साउने आदि गर्थे भन्ने उहाँले हजुरआमा अनि आमाबाट कथाका रुपमा सुन्दै आउनु भएको हो । 

उहाँको जिजु बुबा राईहरूको जिम्मावाल । त्यस कारण पनि उहाँको परिवार सम्पन्न परिवार हो । नगद केही कमी भए पनि जग्गा जमिन भने प्रशस्तै थियो । 

उहाँको हजुरबुबाको दुई परिवार । उहाँ जेठी हजुरआमा पट्टिको । उहाँको बुबा र दुई फुपू । उहाँको मावली पनि द्वारे पदबाट सम्मानित । यसरी हेर्दा उहाँको सम्पूर्ण परिवार नै राजनीतिक र ओहोदावाला रहेको देखिन्छ । 

उहाँको मावलपट्टिको हजुरबा निरबहादुर राई । द्वारे भएका कारण जग्गा जमिनको मालपोत सङ्कलन गरेर खोटाङमा बुझाउन आउनु हुन्थ्यो ।

अनि घरपट्टिको हजुरबा रामप्रसाद राई पनि राजनीतिकर्मी भएका कारण ठाउँ ठाउँ डुल्नुहुन्थ्यो । उहाँहरू दुवैको भेट खोटाङमा भयो । र, सम्धी सम्धी भन्ने वाचा पनि भयो । अनि उहाँको बुबा र आमाको बिहे भयो । बुबा केवल नौ वर्षको अनि आमा भने सात मात्र । उहाँको आमाका नौ सन्तान भए पनि हाल जीवित भने पाँच जना मात्रै  हुनुहुन्छ । उहाँ लगायत तीन बहिनी अनि एक भाइ ।

उहाँको बुबा नेत्रप्रसाद राई पनि राजनीतिकर्मी नै हो । उहाँ सत्ताइस वर्ष त गाउँपालिकाको अध्यक्ष नै हुनुभयो । उहाँको आमा पनि साह्रै सङ्घर्षशील नारी भन्नुहुन्छ, उहाँ । आमाको सात वर्षमा बिहे भए पनि उहाँ चौध वर्षको उमेरमा मात्र घरमा भित्रनु भएको हो ।

माइती सम्पन्न भएका कारण घर भित्रँदा पनि दुई चार सुसारे आएका थिए रे ! उहाँ भन्नुहुन्छ । तर पनि उहाँको आमा भने आध्यात्मिक, सामाजिक, सांस्कृतिक तथा धेरै नै संस्कारी हुनुहुन्थ्यो जसको प्रभाव उहाँहरूमा पनि परेको उहाँ बताउनु  हुन्छ । 

जन्म र बाल्यकाल

तारादेवी राईको जन्म २०१६ सालमा भोजपुरको बासिखोरा गाउँ पञ्चायतको सान्दिलुङमा भएको हो । हालको भने रामप्रसाद राई गाउँपालिका । त्यस बेलाको आठ वटा गाउँ पञ्चायत वा गाविसलाई समेटेर हिजोआज रामप्रसाद राईको सम्मानमा रामप्रसाद गाउँपालिका नामकरण गरेको हो । 

उहाँको नागरिकतामा भने जन्म २०१५ साल उल्लेख छ । त्यो भने त्यस बेला सोह्र वर्ष नपुगी एसएलसी दिन नपाइने कारण गरिएको हो । 

उहाँको घरमा त्यस बेला पनि नेपाली भाषा नै बोलिने रहेछ । आमा चाम्लिङ राई र बुबा वान्तता राई भएका कारण उहाँहरूको भाषा फरक पर्न गएका कारण त्यसो भएको रहेछ । गाउँमा अन्त भने त्यस बेला राई भाषा बोलिन्थ्यो उहाँ भन्नु हुन्छ ।  

उहाँको बुबा कला संस्कृतिमा पनि उत्तिकै रुचि राख्नुहुँदो रहेछ ।त्यस बेला भोजपुरबाट सांस्कृतिक टोलीको प्रतिनिधित्व गरेर काठमाडौँ आउनुभएको रहेछ । उहाँको त्यस बेला गायिका तारादेवीसँग भेट भएछ । तारादेवीको स्वर सारै राम्रो लागेर उहाँले छोरीको नाम पनि तारादेवी नै राख्न भन्नुभएको रहेछ । 

उहाँको बुबालाई २०१६ सालमा सरकारले वायरलेस सम्बन्धी तालिमका लागि सिंगापुर पठाएको थियो । उहाँ दुई वर्षे तालिम सकाएर २०१८ सालमा नेपाल फर्कनु भयो । त्यसपछि उहाँ राजनीतितर्फ लाग्नुभयो र बासिखोरा गाउँ पञ्चायतको उपप्रधानपञ्च हुनुभयो । र, २०२२ सालदेखि लगातार तेइस चौबीसवर्षसम्म गाउँपञ्चायतको प्रधानपञ्चदेखि गाउँ विकास समितिको अध्यक्ष हुनुभयो । 

आफ्नो छोरीको एसएलसीको बेलामा कर्मचारी संगठनको काममा बाहिर हुनुहुन्थ्यो । त्यस्तै छोराको ग्रयाजुएशन सेरेमोनीमा पनि । अनि अहिले उहाँ सम्झनुहुन्छ होइन म कति सारो एकोहोरो भएको हो ? धन्न छोराछोरीले राम्रो पढेका छन् र केही भएन नत्र त त्यो राजनीतिको ठुलो मूल्य चुकाउनु पर्थ्याे मैले, त्यसले भने उहाँलाई भावुक बनाउँदो रहेछ अहिले पनि !

उहाँको परिवार सचेत र शिक्षित भएकै कारण छोरा र छोरीमा भेदभाव नभएको उहाँ बताउनुहुन्छ । उहाँ जेठी छोरी बडो लाड प्यारमा हुर्कनु भयो । पाँच वर्षसम्म त उहाँलाई कोक्रोमा राखेरै डुलाएको उहाँलाई पनि अलि अलि याद छ रे ! 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा सिंहेश्वरी प्राविबाट भएको हो । त्यस स्कुलमा पढ्ने उहाँ नै पहिलो महिला समेत हुनुहुन्छ । उहाँको पहिरन समेत त्यस बेला केटाको जस्तो हाफ प्यान्ट र सर्ट थियो । भने कपाल पनि केटाको जस्तै ‘ब्वाइज कट’ ! उहाँ स्कुल जाँदा पनि ऊ लप्टन्नीकी नातिनी केटा पढ्न आई भनेर जिस्क्याउँथे रे !  

उहाँको स्कुलमा त्यस बेला पनि बस्ने डेस्क बेन्च थियो तर, सीमित । त्यस कारण को छिटो पुगेर बेन्चमा बस्ने भन्ने होडबाजी नै हुन्थ्यो । उहाँको कक्षामा त्यस बेला पन्ध्रदेखि बिस जना हुन्थे । उहाँ भने एक्लो केटी । जसरी पनि फर्स्ट बेन्चमै बस्नुपर्ने । रोल नम्बर भने त्यस्तै सात, आठ । बिचको । पढाई पनि त्यस्तै बिचको । न त लद्दु न मेधावी । ठिक्कको ।

उहाँको परिवार राजनीतिक परिवार भएका कारण जिल्लातिरबाट मानिसहरू भेटघाटका लागि आइरहन्थे । अनि त्यस बेला उहाँको घरमा मात्रै रेडियो थियो रे ! रेडियो सुन्न पनि मान्छे भेला हुँदा रहेछन् । अनि ती मानिसहरूको सङ्गत बस उठले होला उहाँलाई बोल्न यताउता केहीमा डर नलाग्ने । 

रेडियोमा गीत आएका बेला जिल्लातिरबाट मान्छे आउँदा पनि नाचेर देखाउने आदि गर्नुहुन्थ्यो । त्यसैले होला स्कुलमा मध्यान्हमा ककफाइट, डण्डीबियो, हरिगुडु आदि केटाहरूसँग खेल्दा पनि जसरी भए पनि आफैँले जित्नुपर्ने । नजिते चिथोरेर कोपरेर भए पनि जित्नुपर्ने उहाँको स्वभाव थियो । 

माध्यमिक शिक्षा 

बासिखोराबाट उहाँको ठूलोबाजेको छोरा, फुपूको छोरा र अर्को एक जना गरी तीन जना उहाँ भन्दा अघि नै भोजपुरको विद्योदय माविमा पढ्न गइसक्नु भएको थियो । उहाँ पनि पाँच कक्षा पास गरेपछि गाउँमा माध्यमिक स्कुल नभएका कारण लाग्नु भो दाईहरूले समातेको बाटो । 

उहाँको पढाई अगाडी बढाउनमा आमा बुबा त हुँदैहुनुहुन्थ्यो अझ त्यो भन्दा पनि उहाँको हजुरआमाको हात बढी छ । 

हजुरबुबा राजनीतिमा लागेपछि सारा व्यवहार हजुरआमामा आइपर्‍यो । र, अरूले जग्गा जमिन हडप्नेदेखि हेप्ने पेल्नेसम्मका व्यवहार खेप्नुपर्दा उहाँको हजुरआमा स्वाभाविक रुपमा कडा मिजासको हुन बाध्य हुनुपर्‍यो । 

मुद्दा मामिला तथा अन्य घरायसी कागजात समेत गर्नुपर्ने हुँदा हजुरआमाले उहाँलाई मेरी नातिनीलाई म न्यायाधीश बनाउँछु भन्नुहुन्थ्यो । तर, उहाँलाई भने यो मुद्दा मामिला भन्ने चिज मन नै नपर्ने ! उहाँको हजुरआमाले उहाँलाई पाँच कक्षा हुँदा देखिनै तमसुकहरू पढ्न लगाउने गर्नुहुन्थ्यो । उहाँलाई सानैमा तमसुक लेख्ने भाकाहरू पनि आउने रहेछ । 

उहाँ भोजपुरमा दाहीहरूसँग डेरामा बसेर पढ्ने गर्नुहुन्थ्यो । खाना आफैँ बनाउनु पर्दथ्यो । दाउरामा खाना बनाउनु पर्ने । दाउरा चिर्न, घाममा सुकाउने र कसरी धुवाँ नआउने गरी टाँड पारेर बाल्नुपर्छ भन्नेसम्मका कुरा पनि सिकाउनु भएको थियो रे हजुरआमाले ! 

उहाँको हजुरआमाले पनि त्यस बेला रामायण पढ्नुहुँदो रहेछ । पढ्दा गाउँमा लप्टन्नीले बोक्सी मन्त्र पढी भनेर भन्दा रहेछन् ! उहाँ भोजपुर पढ्न आएपछि गाउँमा अरु केटीहरूलाई पढाउने कुरा गर्दा अब लप्टन्नीको नातिनी उता पढ्न गएपछि बिग्रेर उतै बिहे गर्छे भनेर गाउँमा कुरा समेत काट्दा रहेछन् । 

अनि पछि उहाँ संविधान सभाको समानुपातिक तर्फबाट सभासद् भएर गाउँ जाँदा त्यस बेलाका अग्रजहरूले यो त पढेर बिग्रेर सांसद भएर पो गाउँ आई भनेर समेत भने, उहाँले भन्नुभयो । 

त्यस बेला भोजपुर बजारका मान्छेहरूले अरु गाउँबाट आएकाहरूलाई अलि हेप्ने चलन थियो । एक दिन उहाँ स्कुलमा नाम लेखाएर कक्षामा जाँदा एक जना बजारको केटीले ओइ केटी तँ कहाँ बाट को भनेर, तँ भनेर सम्बोधन गरी । उहाँलाई रिस उठेको थियो । तर, नयाँ ठाउँ भएको हुनाले केही भन्नु भएन । तर, अलि पछि घुलमिल गर्दै गएपछि उहाँले उक्त केटीलाई तिमीले यसो भनेकी होइनौ भनेर पनि भन्नुभयो । पछि उहाँले माफी समेत माग्नु बाध्य पारेकाे  स्मरण समेत ताजै छ ।  

उहाँ छ कक्षा पास भएर सात कक्षामा जाँदा उहाँको रोल नम्बर पन्ध्र थियो । त्यो उहाँको रोल नम्बर एसएलसी दिँदासम्मै कायम रह्यो । 

उहाँसँग त्यस बेला पढ्ने धेरै साथीहरू पेसागत हिसाबले पनि राम्रै स्थानमा पुगे । कोही निजामती कोही पुलिस प्रशासन तथा कोही शिक्षक भए । उपसचिवदेखि दसौँ एघारौँ तहसम्म पनि भएका छन् । 

उहाँ त्यस बेला पनि फस्ट बेन्चमै बस्नुहुन्थ्यो । उहाँ कहिल्यै पनि लास्ट बेन्चमा बस्नु भएँ । सरहरूसँग प्रश्न गर्न पनि कहिल्यै डर लागेन उहाँ भन्नुहुन्छ । उहाँको बुबाले जहिले पनि कोही मान्छेसँग कुरा गर्नु छ भने आँखामा आँखा मिलाएर कुरा गर्नु, आँखा लुकाएर गरेको मलाई मन पर्दैन । भन्नुहुन्थ्यो । मान्छेको कुटाई नखानु बरु कुटेर आउनु भनेर उहाँलाई हौस्याउनु हुन्थ्यो । उहाँको परिवार नै त्यस्तै भएको हुनाले पनि त्यसो भएको हो । पारिवारिक वातावरणले धेरै कुरा फरक पार्ने बताउनुहुन्छ उहाँ । 

त्यस बेला उहाँको घरमा बाहेक अरु घरमा शौचालय थिएन । उहाँ औंखरा लिएर शौचालय जानुहुन्थ्यो । गाउँका मान्छे भने यिनीहरू हातले आची धुन्छन्, फोहोरी छन् त्यसैले यिनको हातले छोएको खान हुँदैन भन्थे रे !

उहाँ शौचालय पछि मुख धोएर ब्रह्माण्ड नायक सूर्यलाई पानी चढाएर दैलो पोतेपछि गणेश पूजा गर्नुहुन्थ्यो । अनि सबैलाई नमस्ते गर्ने । बेलुकी आरती गरेपछि पनि नमस्ते गर्ने । तर, पिटाई खाएको बेला भने रिसाएर टाढैबाट नमस्ते गरेर कोठातिर लाग्नुहुन्थ्यो रे ! यो संस्कार उहाँलाई हजुरआमाले सिकाउनु भएको हो । त्यो आजपर्यन्त पनि कायम छँदै छ । 

प्यारी नातिनी

उहाँ खेल्न गएपछि रातपरेपछि मात्रै  घर आउने । अनि हजुरआमाले ओहो मेरो नातिनी थाकेर आई म तेल लाइदिन्छु भनेर लिने अनि लट्ठी लुकाएर राखेर यसो पिट्ने पनि गर्नुहुन्थ्यो रे ! 

अनि कहिलेकाहीँ रिसाएको बेला घरमा राखेको घ्यू, चिउरा र सक्खर घरको पुतली पाखामा बसेर खानुहुन्थ्यो । अनि पछि आमाहरूले थाहा पाएर गाली गर्दा अब त्यहाँबाट लड्यो भने त तल पुगिने हुनाले चुप लाग्नुहुन्थ्यो रे ! 

छुट्टीको बेला घर

भोजपुरमा पढ्दा महिनाको अन्तिम शुक्रवार घर आउने चलन थियो । अनि घर जाने हतारोले बिहानैदेखि कपडा मिलाउने आदि सबै काम सकिसक्नु भएको हुन्थ्यो । दाइ काका पनि सबै जम्मा भएर जाने हुनाले उहाँ सबैलाई कराएर चाँडै जाउन् न जाउन् भन्नुहुन्थ्यो । 

घर पुग्न छ, सात घण्टा लाग्थ्यो । दाहीहरू छिटो छिटो उहाँ भने हिँड्न नसक्ने । घर जाने बाटोमा जङ्गल थियो अनि त्यहाँ भने भूत आउँछ भनेर साह्रै डर लाग्थ्यो रे !

मान्छेसँग भने परिआए म पनि दिन्छु भन्ने उहाँ भूतसँग भने साह्रै डराउनु हुँदो रहेछ । कसैले भूतले अगाडिको तितो, बिचको मिठो, पछाडिको मिठो भन्छ भनेर सुनाइ दिएका कारण यस्तो भएको रहेछ । त्यसैले अगाडि हिंडनु पनि डर लाग्ने भूत झ्याम्मै आउला भनेर । पछाडि पनि मिठो मानेर खाला भनेर डर लाग्ने । बिचमा पनि त्यस्तै । 

बल्ल घर पुग्यो । घरमा कहिले छिरौँ हुने । तर, फेरी घरमा भने बजारमा को कोसँग छोएर के के खाएका हुन्छन् भनेर सुनपानी, जाँडको छोक्रा र पात्ले पत्ताले पानी छर्केर पितृसँग वर मागेर मात्र भित्र छिर्न दिनुहुन्थ्यो ।

उहाँलाई नौ कक्षा पुगेपछि भने राजनीतिक रङले समात्यो । पारिवारिक वातावरण, सङ्गीतमा रुचि भएका कारण राल्फा समूहले उहाँलाई आकर्षित गर्‍यो । 

स्कुल पढ्दाका कुरा

स्कुल पढ्दाको एउटा घटना, उहाँ नाटकमा पनि भाग लिनुहुन्थ्यो । बसाइँ नाटकको मूल पात्र धनेको रुपमा एक जना योगराज दाहाल दाइले अभिनय गर्नु भएको थियो । तर, नाटक सकिएर भित्र गएपछि उहाँ यति बेर रुनु भयो कि उहाँ त ट्वाल्ल परेर हेरेको हेरै ! यो घटना उहाँ कहिल्यै पनि बिर्सनुहुन्न रे ! 

उहाँ कुनै विषयमा पनि फेल भने हुनुभएन । २०३३ सालमा उहाँले एसएलसी दिनुभएको हो । सेकेन्ड डिभिजन आयो उहाँको । उहाँ भोजपुरको बासिखोरा गाउँ पञ्चायतबाट एसएलसी पास गर्ने पहिलो महिला पनि हो  । 

पहिलो जागिर अनि तलब

उहाँले एसएलसी दिएपछि पहिले आफूले पढेको सिंहेश्वरी प्राविमा पढाउन थाल्नुभयो । र, उहाँले घरघर गएर केटी मान्छेलाई पढाउनु पर्छ भनेर एउटा अभियान नै पनि चलाउनु भएको थियो ।  

उहाँले एक वर्ष उक्त स्कुलमा पढाउनु भयो । उहाँको तलब त्यस बेला एकसे पच्चीस रुपैयाँ थियो । त्यो सबै पैसा उहाँले हजुरआमालाई राख्न दिनुभयो । यस्तो रह्यो उहाँको पहिलो तलबको कथा । 

पार्टीको सङ्गठन विस्तार 

उहाँलाई पार्टीले त्यस बेला सङ्गठन विस्तारको काम समेत दिएको थियो । त्यस कारण उहाँको पढाई एकवर्ष ढिलो समेत भयो । एसएलसी गरेको एक वर्ष पछि मात्र उहाँ भोजपुर क्याम्पसमा मानविकी पढ्न थाल्नुभयो ।

उहाँहरूले स्कुलमा हुँदा टाकुरा नामक प्रगतिशील पत्रिका लेखेर निकाल्नु भएको थियो । पछि भने प्रधानाध्यापकले थाहा पाएर त्यसलाई बन्द गरिदिनु भयो । 

वर्तमान राष्ट्रपति विद्या भण्डारी स्कुल पढ्दा भने एक वर्ष उहाँभन्दा जुनियर हो । तर, पछि उहाँले एक वर्ष कलेज ढिलो पढेकाले कलेज भने सँगै पढ्नुभयो । उहाँहरू एउटै कोठामा बसेर पढ्नुहुन्थ्यो । 

रेड फ्ल्याग

उहाँ २०३२ सालदेखि रेड फ्ल्याग नामक कम्युनिस्ट सङ्गठनमा आबद्ध हुनुभयो । जुन झापाली विद्रोहसँग सम्बन्धित थियो । भूमिगत रुपमा भेला हुनुपर्थ्यो । एक घण्टाका लागि । एक अर्काको नाम, ठेगाना सोध्न पाइँदैन थियो । छद्म नाम हुन्थ्यो । कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत गाउनु पर्दथ्यो । मार्क्सवाद पढ्नु पर्थ्याे । उहाँलाई त्यसबेला जय शिवाहाङ राईले उक्त पार्टीमा संगठित बनाउनु भएको थियो । पछि २०३५ सालमा अशोक राईले उहाँहरूलाई प्रशिक्षण दिनुभएको थियो । मदन भण्डारीले पनि एक पटक प्रशिक्षण दिनु भएको थियो । 

पछि कलेजमा उहाँ अनेरास्ववियू पाँचौँमा हुनु हुन्थ्यो । वर्तमान राष्ट्रपति विद्या भण्डारी कोषाध्यक्ष हुनुभयो भने उहाँ भने सदस्य । उहाँहरूले सङ्गठन विस्तारका लागि एघार वटा माविलाई हेर्नु पर्ने जिम्मेवारी थियो । 

शिक्षकको जागिर

उहाँले २०३७ सालमा लोकसेवा पास गरेर शिक्षकको जागिर खानुभयो । आइए पास हुनु भएको थिएन । त्यस बेला एसएलसीलाई निमावि सरहको दरबन्दी दिने चलन थियो । उहाँ निमावि शिक्षक हुनुभयो । अब जिम्मेवारी फेरि बढ्यो । शिक्षक, कलेजको विद्यार्थी र पार्टीको सङ्गठन विस्तारका लागि कार्यकर्ता पनि । 

विवाह 

उहाँको विवाह २०३८ सालमा भएको हो । त्यो पनि करकापमा परेर । उहाँको हजुरआमाले मेरो जिउ छँदै बिहे गर । मेरो बुढेसकाल भइसक्यो भनेर रोएको रोयलै गर्नुहुन्थ्यो । एक पटक हजुरआमा बिमारी हुनुहुन्छ भनेर उहाँलाई घरबाट बोलाइयो । उहाँ भोजपुरमै हुनुहुन्थ्यो त्यस बेला । अनि घर आउँदा थाहा भयो काका मार्फत बिहे गर्नको लागि केटाको प्रस्ताव आएको रहेछ । 

उहाँको बिहे पनि भयो । र, बिहे भएको तीन महिना पछि हजुरआमा पनि बित्नुभयो । शायद बिहे नगरेको भए कति खुट्का लाग्ने रहेछ, उहाँ सम्झनुहुन्छ । 

उहाँको एक छोरा अनि एक छोरी । छोरा आफ्नो व्यवसायमा हुनुहुन्छ भने छोरी भने हाल लन्डनमा हुनुहुन्छ । 

बिहे भएपछि एक पटक उहाँको श्रीमान् बिमारी हुनुभयो र धरान आउनुपर्ने भयो । जागिर सरुवा भएन । शिक्षकको सरुवा हुन निकै गाह्रो छ, उहाँ भन्नुहुन्छ । 

नेपाल बैङ्कको जागिर

अनि त्यसपछि उहाँले नेपाल बैङ्क धरान औद्योगिक क्षेत्रमा जागिर खान थाल्नुभयो । र, शिक्षकबाट राजीनामा दिनुभयो । यो २०४२ सालतिरको कुरा हो । त्यतिखेर शिक्षकको जागिरमा उहाँको पाँच, छ हजार बचत भएको रहेछ । त्यो रकमले पनि त्यतिखेर निकै भरथेग गरेको सम्झनुहुन्छ उहाँ । 

त्यस बेला अनेरास्ववियूको चुनाव हुँदै थियो । उहाँलाई निर्वाचनमा उठ्न निकै ठुलो दबाब पनि थियो । तर, उहाँले जागिरका कारणले म उठ्दिन सहयोग मात्र गर्छु भनेर सहयोग गर्नुभयो । 

त्यसपछि उहाँको सरुवा विराटनगरमा भयो । टङ्की सिनवारिमा उहाँ पछि तेतै घर बनाएर नै बस्नुभयो । छोरा छोरी भर्खरका थिए । 

सामाजिक आन्दोलन

त्यस बेला जागिर, राजनीति, सामाजिक तथा घर व्यवहार सबै हेर्नुपर्थ्यो । भने, घरमै एउटा सत्यलाईको मन्दिर समेत बनाउनु भएको थियो ।  जहाँ उहाँले नानीहरूलाई सत्य साई बाल विकास कार्यक्रम अन्तर्गत नैतिक तथा आध्यात्मिक शिक्षा दिने काम समेत गर्नुहुन्थ्यो । 

सय जनाभन्दा बेसी नानीहरू थिए । अहिले उनीहरू ठुला भएका छन् । उमेरले मात्र होइन पदले पनि । अनि उनीहरू अहिले उहाँलाई सम्झन्छ रे ! तपाईँले दिनुभएको आध्यात्मिक तथा नैतिक शिक्षाका कारण हामी सफल भएका छौँ । शायद, त्यो नभएको भए हाम्रो स्थिति के हुन्थ्यो होला भनेर स्मरण गर्छन् उनीहरू, उहाँ भन्नुहुन्छ । 

टङ्की सिनवरी ब्राह्मणको बस्ती भएको स्थान हो । त्यसमा पनि वैष्णवहरू अत्यधिक । उहाँले त्यहाँ दलित तथा गैर दलित सबैलाई गायत्री मन्त्रदेखि अन्य जप पाठ पनि भाव तथा लयसहित सिकाउन थाल्नुभयो । त्यसले गर्दा त्यहाँ उहाँको विरोध भयो । एक त महिला त्यसमाथि राईको छोरीले यसरी गायत्री मन्त्र पाठ गर्दा उहाँको धेरै विरोध भयो । 

एक दिन ब्राह्मणहरूको गुरु आएका बेला उहाँलाई समेत बोलाइयो । र, उहाँले कुन वेद, पुराण वा शास्त्रमा महिलाले गायत्री मन्त्र जप गर्न हुँदैन भनेर लेखिएको छ भनेर प्रश्न गर्नुभयो । 

गुरुले शुद्ध हुँदैन भनेर त्यसो भनिएको हो भन्नुभयो । त्यसपछि उहाँले वाचन गरेर समेत सुनाउनु भयो । अनि गुरुले उहाँले एकदम राम्रो काम गर्नुभएको छ, तपाईँहरूले पनि सहयोग गर्नुस् भनेपछि उहाँले सहयोग पाउन थाल्नुभयो । 

त्यहाँ राधाकृष्णको मन्दिर बन्यो । तर, दलितहरूलाई प्रवेश गर्न दिइएन । उहाँले नै दलितले किन प्रवेश नपाउने भनेर विरोध गरेपछि दलितले मन्दिर दर्शन गर्न पाउन थाले । 

आर्थिक सहयाेगदेखि सहकारीसम्म 

उहाँले उक्त ठाउँमा धेरै नै सामाजिक काम गरेको उहाँ बताउनुहुन्छ । रगत नपाएकालाई रगत दिलाइदिनेदेखि सुत्केरी हुन खर्च नभएकालाई आफ्नो औँठी बन्धकी राखेर खर्च समेत उपलब्ध गराउनु भएको छ । 

तर, सधैँ यसरी हुँदैन महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनु पर्छ भनेर उहाँले मासिक बचत कार्यक्रम पनि सुरु गर्नुभयो । प्रत्येक महिना बिस रुपैयाँ जम्मा गर्ने र उनीहरूलाई आवश्यक परेका बेला सस्तो ब्याजदरमा उपलब्ध गराउने । 

त्यसमा पनि महिनाको बिस रुपैयाँ जम्मा गरेर के हुन्छ भनेर उहाँलाई निकै उडाए । तर, अहिले त्यही बिस रुपैयाँको समूह बाह्र तेह्र करोडको राजसती महिला सहकारी बनेको छ । केहीले रोजगारी पाएका छन् । बालबालिकाको शिक्षामा लगानी भएको छ । 

एक प्रकारले भन्नुपर्दा त्यहाँका महिलामा आमूल परिवर्तन नै भएको छ । उहाँ त्यसको अध्यक्ष हुनु भएको पनि बिसौँ वर्ष भइसक्यो । उहाँ जिल्ला सहकारी सङ्घको जिल्ला सदस्य समेत हुनुहुन्थ्यो ।  

सङ्घसंस्थामा संलग्नता 

उहाँ लायन्स क्लबको अध्यक्ष पनि हुनुभयो । लायन्स क्लब मार्फत आँखा शिविर सञ्चालन गरेर धेरैको आँखाको उपचार समेत गराउनु भएको छ । उहाँले गरेको वृक्षारोपणले पनि राम्रो हरियाली प्रदान गरेको छ उक्त स्थानमा । 

उहाँ नेपाल बैङ्क लिमिटेडको कर्मचारी सङ्घको केन्द्रीय सदस्य र महिला विभाग प्रमुख पनि हुनु भयो । उहाँ नेपाल बैङ्कमा सहायक प्रबन्धकको रुपमा रहँदा रहँदै अवकाश हुनु भएको हो । भने, शाखामा प्रबन्धक पनि चलाउनु भएको थियो । 

रामशरण महत अर्थमन्त्री भएका बेला नेपाल बैङ्क, वाणिज्य बैङ्क र कृषि विकास बैङ्कलाई निजीकरण गर्न लागिएको थियो त्यस बेला पनि पचपन्न दिने आन्दोलन गरेर त्यसलाई निस्तेज पार्ने काममा उहाँको ठुलो योगदान रहेको छ । 

त्यतिखेर महिलाहरूलाई केवल सासू ससुरा मर्दा मात्र बिदा दिने चलन थियो । बाबुआमा मर्दा बिदा दिने चलन थिएन । भने सुत्केरी हुँदा नब्बे दिन बिदा हुनुपर्छ र पुरुषहरूलाई पनि एक महिना बिदा हुनुपर्छ भन्ने आन्दोलन चलाउनु भएको थियो । यो सबैभन्दा पहिला नेपाल बैङ्कबाट सुरु भएको हो । पछि मात्र निजामतीमा लागु भएको हो । 

राजनीतिक रङ 

उहाँ मोरङ जिल्लामा जागिरे छँदै नेकपा एमाले पार्टीको जिल्ला सदस्य रुपमा अत्यधिक मत ल्याएर विजय हुनुभएको हो । पछि अञ्चल सदस्य पनि हुनुभयो ।

 अरु जागिरे सबै छद्म नामबाट चुनाव लड्थे उहाँ भने तारादेवी राईकै नाममा चुनाव लड्ने  । पार्टीले उहाँलाई भोलि तपाईँलाई पार्टीको चुनाव लडेका कारण जागिरमा तलमाथि परेका खण्डमा आफैँ व्यहोर्नु पर्छ भनेर भन्दा पनि उहाँ आफ्नै नामबाट चुनाव लड्नु भएको हो ।  नेकपा एमाले आठौँ तथा नवौँ महाधिवेशनमा पनि चुनाव जितेर नै प्रतिनिधित्व गर्नुभएको थियो । 

उहाँ २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य समेत हुनुभएको थियो । पार्टीले एउटा सहिद परिवार तथा उहाँ स्वयंको कामको समेत कदर गरेर संविधान सभा सदस्य बनाएकोमा उहाँ पार्टीलाई धन्यवाद पनि प्रकट गर्न चाहनुहुन्छ । 

हाल भने उहाँ नेकपाको प्रदेश सदस्य र महिला विभागको सहसंयोजक हुनुहुन्छ । 

रामप्रसाद राई प्रतिष्ठान 

उहाँको हजुरबुबा रामप्रसाद राईलाई दिल्ली सम्झौताको विरोध गरेका कारण बेपत्ता पारिएको हो । हालसम्म उहाँको अवस्था अज्ञात नै रहेको छ । 

दिल्ली सम्झौता धोका हो । राणाको स्थानमा राजालाई ल्याएर राखियो । तर, जनताले चाहेको यो प्रजातन्त्र होइन भनेर उहाँले २००८ साल माघ ८ गते भूगोल पार्कमा भाषण गर्नु भएको थियो । भाषण गरे लगत्तै उहाँलाई बेपत्ता बनाइएको थियो । उहाँ त्यस बेला केवल बयालिस वर्षको हुनुहुन्थ्यो । 

उहाँ हाल रामप्रसाद राई प्रतिष्ठानको अध्यक्ष समेत हुनुहुन्छ । रामप्रसाद राईका बारेमा थुप्रै पुस्तकहरू समेत प्रकाशित भएका छन् । हाल प्रतिष्ठानले रामप्रसाद राईका बारे एउटा सर्ट मूभि समेत बनाउँदै छ । रामप्रसाद राई स्मृति भवन निर्माण गर्नका लागि ललितपुरको साना गाउँमा जग्गाको समेत  व्यवस्था गरिसक्नु भएकाे छ ।

द्वन्द्वात्मक भौतिकवाद

मार्क्सवादले द्वन्द्वात्मक भौतिकवाद भने पनि उहाँ अध्यात्ममा गहिरो रुचि राख्नुहुन्छ । उहाँ जहिले पनि भगवानको एउटा फोटो भए पनि पूजा गर्नुपर्ने तर, उहाँको काकाहरू भने कम्युनिस्टले पनि यस्तो गर्छ र भनेर फोटोहरू मिल्काइदिनुहुन्थ्यो । त्यसमा सधैँ विवाद हुन्थ्यो । धर्म भित्रको कुसंस्कार हटाउनु पर्छ तर सबै कुराको विरोध होइन उहाँ भन्नुहुन्छ । नेताहरू पनि त धार्मिक कार्यमा सहभागी भई राखेकै छन् त ? 

आमाको मन

उहाँ आफ्नो छोरीको एसएलसीको बेलामा कर्मचारी संगठनको काममा बाहिर हुनुहुन्थ्यो । त्यस्तै छोराको ग्रयाजुएशन सेरेमोनीमा पनि । अनि अहिले उहाँ सम्झनुहुन्छ होइन म कति सारो एकोहोरो भएको हो ? धन्न छोराछोरीले राम्रो पढेका छन् र केही भएन नत्र त त्यो राजनीतिको ठुलो मूल्य चुकाउनु पर्थ्याे मैले, त्यसले भने उहाँलाई भावुक बनाउँदो रहेछ अहिले पनि !

र, उहाँको श्रीमानले पनि एकदमै राम्रो साथ र सहयोग रहेका  कारण उहाँले जे जति गर्नु भो त्यसमा सफल हुनुभयो । यसका लागि उहाँ सिङ्गो परिवारलाई नै धन्यवाद पनि दिन चाहनुहुन्छ । 

सम्मान तथा पुरस्कार 

उहाँले सामाजिक काम गरेबापत विभिन्न सङ्घसंस्थाबाट थुप्रै सम्मान प्राप्त गर्नुभएको छ  । स्कुल तथा कलेजकी सहकर्मी  राष्ट्रपतिबाट त्रिशक्ति पदक तेस्रो पनि प्राप्त गर्नुभएको छ । पुरस्कारको घोषणा भइसकेर  पनि कोरोनाका कारण हालसम्म उहाँले पदक भने प्राप्त गरिसक्नु भएको छैन । 

अन्त्यमा 

समाजको नारीप्रतिको दृष्टिकोणमा हाल पनि अवस्था दयनीय नै छ । तर, आजभन्दा करिब पचास वर्ष अगाडीको अवस्था कस्तो थियो होला ? एकदमै प्रतिकुल अवस्थामा समेत आफूलाई कमजोर नबनाई अनि कमजोर नठानी कसरी अगाडि बढाउने भन्ने कुरा उहाँको जीवनबाट सबैले सिक्न भने जरुरी छ ।