पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक ८, २०७७

तनहुँ । तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट पौने चार करोड रुपैयाँको बहुवर्षीय बजेट विनियोजन भएको हो । 
चालु आर्थिक वर्षको लागि ८० लाख रुपैयाँ विनियोजित भई टेन्डर गरिएकोमा ६० लाख रुपैयाँमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ । पम्प हाउस निर्माण पश्चात रिर्जभ ट्याडकीसम्म जिआई पाइप र विद्युत लाइन जडान गर्ने योजना रहेको पोल्याङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष भरतराज नहर्कीले जानकारी दिनुभयो । सिसा खोला र बुल्दीखोलाको दोभानबाट करिब साढे दुई किलोमिटर लामो दूरीमा पर्ने निर्बु डाँडामा पानी लिफ्ट गरी दुई लाख लिटर क्षमताको रिर्जभ ट्याङकीमा सङ्कलन गरेर घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

स्थानीय बराह खोलाबाट विसं २०५७ मा ल्याएको पानीले १९ वटा धारा जडान गरी त्यसक्षेत्रमा पानी बितरण गर्दै आएपनि घरधुरी सङ्ख्या बढ्दै गएकोले पानीको समस्या हुन थालेको हो । विगतका वर्षदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीयबासीले पोल्याङ लिफ्ट खानेपानी योजनाको लागि बजेट निकासा भई काम शुरु गरेपछि खुशी हुन थालेको समितिका सचिव रमेश आचार्यले बताउनुभयो । 

आयोजनाको लागि स्थानीय उपभोक्ताले रु।चार लाख सङ्कलन गरी बैंकमा धरौटी राखेर निर्माण कार्य अघि बढाइएको अध्यक्ष नहर्कीले बताउनुुभयो । बोरिङ हाउस निर्माणको लागि स्थानीय गणेशराज अधिकारीले तीन आना जग्गा निःशुल्क रुपमा आयोजनालाई दिई मालपोत कार्यालयबाट रजिष्टेशन पास गरिदिएर सहयोग गर्नु भएको छ । यस आयोजनाबाट हाललाई ३५० घरमा धारा पु¥याउने र जनसङ्ख्या बढ्दो क्रममा रहेकोले  भविष्यमा एक हजार घरधुरीलाई वितरण गर्न सकिने गरी पूर्वाधार निर्माण भईरहेको समितिका सचिव आचार्यले जानकारी दिनुभयो । 

बराहखोलाबाट ल्याई बितरण गरिएको पानीले आपूर्तिमा सहज नभएपछि स्थानीयबासीले खानेपानीको चर्को सामना गर्नुपरेको छ  । योजनाको निर्माण कार्य शुरु हुन थालेसँगै अब भने त्यसक्षेत्रका बासिन्दाले खानेपानी राहतको महसुस गर्न पाउने विश्वास गरिएको छ ।