अमेरिकी निर्वाचन : ५ करोड ३० लाखद्वारा अग्रिम मतदान र नतिजामा यसले पार्ने असर

अमेरिकी निर्वाचन : ५ करोड ३० लाखद्वारा अग्रिम मतदान र नतिजामा यसले पार्ने असर

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १२, २०७७

अमेरिकामा आगामी साता राष्ट्रपति चयनका लागि औपचारिक मतदान हुँदैछ । तर धेरै अमेरिकीले यो राष्ट्रपति निर्वाचनमा आफ्नो मत दिइसकेका छन् । अमेरिकामा निर्धारित मितिभन्दा अघि नै मतदान गर्न पाउने व्यवस्था छ । जसलाई अग्रिम मतदान भनिन्छ । 

यो अग्रिम मतदान पनि दुई तरिकाले गर्न सकिन्छ । पहिलो बुथमा पुगेर गर्ने मतदान या हुलाकका माध्यमबाट गरिने मतदान । अमेरिकाभन्दा अरु देशमा पनि मतदानका यी तरिकाहरु अपनाइन्छ । फिनल्यान्ड र क्यानडामा व्यक्तिगत रुपमा उपस्थित भएर मतदान गर्नु सामान्य मानिन्छ भने बेलायत, स्विटजरल्यान्ड र जर्मनीमा हुलाकमार्फत पठाइएको भोट स्वीकार गरिन्छ । 

अमरिकामा मानिसहरुले आगामी ३ नोभेम्बरमा राष्ट्रपति चयनका लागि मतदान गर्नेछन् । त्यसअघि अमेरिकी जनताले यी दुवै तरिका अर्थात बुथमा पुगेर या हुलाकमार्फत पनि मतदान गर्न सक्नेछन् । 

हरेक चुनावमा ‘अर्ली भोटिङ’ अर्थात् अग्रिम मतदान गर्ने मतदाताको संख्या बढिरहेको छ । सन् १९९२ को निर्वाचनको तुलनामा २०१६ मा अर्ली मतदान गर्नेको संख्या ५ गुणाले बढेको थियो । यो वर्षको निर्वाचनमा कोरोना भाइरसको महामारीको पनि असर छ । अमरिकामा सबै ५० राज्यमा अर्ली मतदान भइरहेको छ र यसक्रममा मतदान हुने बुथहरुमा पनि ठूलो भीड देखिएको छ । 

अग्रिम मतदानको सबैभन्दा ठूलो प्रभाव भनेको नै यसले मतदान प्रतिशत बढाउनेछ । प्रोफेसर म्याकडोनाल्डका अनुसार यस पटक १५ करोडभन्दा बढीले अग्रिम मतदान गर्न सक्छन् अर्थात यो ६५ प्रतिशतभन्दा बढी मतदान हुन सक्छ । जुन १९०८ पछि अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत मतदान हुनेछ । 

हालसम्म कति मानिसले अर्ली मतदान गरिसके ?

यूएस इलेक्शन प्रोजेक्टका अनुसार २३ अक्टोबर सम्ममा ५ करोड ३० लाख मतदाताले आफ्नो मत व्यक्त गरिसकेका छन् । सन् २०१६ मा भएको अर्ली मतदानको संख्या पार गरिसकेको छ ।  यूएस इलेक्शन प्रोजेक्टको एक वेबसाइट छ ।

जसलाई यूनिभर्सिटी अफ फ्लोरिडाका प्रोफेसर माइकल म्याकडोनाल्डले चलाउँछन् । उनी अर्ली मतदानका विशेषज्ञ हुन् र हरेक राज्यमा भएको अर्ली मतदान र कुल मतदानको तथ्याङ्क राख्छन् । 

उनको तथ्याङ्क अनुसार हालसम्म टेक्सासमा सबैभन्दा बढी अग्रिम मतदान भएको छ । यहाँ ६३ लाख भन्दा बढीले मतदान गरिसकेका छन् । गत निर्वाचनमा यो राज्यमा ट्रम्पलाई मत दिने कुल मतदाताभन्दा यो संख्या २० लाख बढी हो र गत निर्वाचनमा टेक्सासमा खसेको कुल मतभन्दा २० लाख मात्रै कम हो । 

अग्रिम मतदान कसले गरिरहेको छ ?

कति मानिसले मतदान गरे भन्नेसँगै अब उनीहरु को हुन् र कहाँ बस्छन् भन्ने समेत प्रष्ट जानकारी भइरहेको छ । यस वर्ष अर्ली मतदानमा सहभागी हुनेमध्ये सबैभन्दा बढी युवाहरू रहेका छन् । टफ्ट यूनिभर्सिटीका सेन्टर फर इन्फर्मेसन रिसर्च अन सिविक लर्निङ एन्ड इन्गेजमेन्टका अनुुसार २१ अक्टोबरसम्म १८–२९ वर्षको उमेरका ३० लाखभन्दा बढीले मतदान गरिसकेका छन् ।

यसमध्ये २० लाख मत यस्ता राज्यमा खसेको छ, जहाँ दुई उम्मेदवारबीच कडा टक्कर छ । हालसम्म भएका चुनावी सर्वेक्षणअनुसार अघिल्लो चुनावभन्दा यो चुनावमा बढी युवा मतदाताले मतदान गर्ने देखिएको छ । 

सन् २०१६ मा १८–२९ वर्ष उमेरका योग्य मतदातामध्ये ४६ प्रतिशतले मात्रै मतदान गरेका थिए । जबकि ६५ वर्षभन्दा बढी उमेरका ७१ प्रतिशतले मतदान गरेका थिए । 

हार्वर्ड यूथ पोलका अनुसार यो वर्ष ६३ प्रतिशत युवाले मतदान गर्न सक्छन् । यसपटक अफ्रिकी–अमेरिकी मूलका मतदाताले अर्ली मतदान गरिरहेका छन् । डाटा फर्म टार्गेटस्मार्टको विश्लेषणअनुसार २०१६ को तुलनामा यसपटक अफ्रिकी–अमेरिकी मूलका ६ गुणा बढी मतदाताले १८ अक्टोबरभन्दा अघि नै मतदान गरिसकेका छन् । 

किन यति धेरैले छिटो मतदान गरिरहेका छन् ? 

यसको एक प्रमुख कारण भनेको कोरोना भाइरसको महामारी हो । 

मतदान गर्ने पारम्परिक तरिकामा मानिसहरू लामो लाइन लागेर मतदान गर्छन । यो सामाजिक दुरी अनुसार हुँदैन । हालसम्म ३० वटा राज्यले निर्धारित मितिभन्दा अघि नै मतदान र हुलाकका माध्यमबाट मतदानलाई सहज बनाउनका लागि विशेष व्यवस्था गरेका छन् । 

जसमा हुलाकबाट भोट हाल्नुपर्ने कारण बताउनुपर्ने अनिवार्यतालाई पनि ती राज्यले हटाएका छन् । कोभिडको महामारीलाई पनि हुलाकका माध्यमबाट भोट हाल्नुपरेको अवस्थालाई कारणका रुपमा स्वीकार गरिएको छ । केही राज्यमा मतपत्र हाल्नका लागि ड्रप बक्सको पनि व्यवस्था गरेका छन् भने केहीले हुलाकमार्फत मतपत्र पठाउन लाग्ने रकम कटौती गरेका छन् । 

क्यालिफोर्निया र कोलोराडो जस्ता राज्यले सबै मतदातालाई पोस्ट ब्यालेट घरमा नै पठाइदिएका छन्। यस प्रक्रियालाई युनिभर्सल मेल इन भोटिङ भनिन्छ ।

यस्तै नर्थ क्यारोलिनाले ३ नोभेम्बरभन्दा पहिले पठाएका सबै पोस्टल ब्यालेटलाई १२ नोभेम्बरसम्म मतगणनामा सामेल गर्न सकिने जनाएको छ । 

केही राज्यले अग्रिम मतदानको मितिलाई अझै अघि सारेका छन् । उदाहरणका लागि टेक्सासमा अग्रिम मतदानको तारिख १३ अक्टोबर बनाइएको थियो । 

मिनेसोटा र साउथ डकोटामा त मतदानको दिन ३ नोभेम्बरभन्दा ४६ दिन अघि नै मतदान सुरु भएको थियो । सबै राज्यमा बुथमा पुगेर अग्रिम मतदानको व्यवस्था छैन । यी राज्यमा पनि पोस्टका माध्यमबाट आउने मतपत्रलाई स्वीकार गर्न सुरू गरिएको छ । 

यद्यपि अग्रिम मतदानको मतलब सहज मतदान होइन । उदाहरणका रुपमा जर्जियामा अग्रिम मतदान गर्नका लागि बुथमा केही घन्टा सम्म पर्खिनुपरेको छ । 

यस्तै पेन्सिलभानियाको अदालतले पोस्टका माध्यमबाट आउने मतपत्रमा गोप्य खाम हुन आवश्यक रहेको र मतदाताको पहिचान सुरक्षित राख्न आदेश दिएको छ । 
यद्यपि यो आदेशपछि गोप्य खाम बिना पठाइएका मतपत्रलाई अवैध घोषणा गर्नसक्ने चिन्ता पनि पैदा भएको छ । 

यतिमात्रै होइन, ४४ राज्यमा अग्रिम मतदानको मतगणना र पोस्टका माध्यमबाट पठाइएका मतपत्र स्वीकार गर्ने प्रक्रियालाई लिएर विवादका तीन सयभन्दा बढी मुद्दा दायर भएका छन् ।

रिपब्लिकन पार्टीको सत्ता भएका राज्यले फर्जी मतदान रोक्न केही प्रतिबन्ध आवश्यक रहेको भन्दै अनेकन बाधा खडा गरेका छन् । उता डेमोक्रेटिक पार्टीले भने यस्तो गर्नु मतदातालाई मतदानबाट बन्चित गर्ने खेल भएको आरोप लगाएको छ । 

चुनावमा यसको के असर पर्छ ?

अग्रिम मतदानको सबैभन्दा ठूलो प्रभाव भनेको नै यसले मतदान प्रतिशत बढाउनेछ । प्रोफेसर म्याकडोनाल्डका अनुसार यस पटक १५ करोडभन्दा बढीले अग्रिम मतदान गर्न सक्छन् अर्थात यो ६५ प्रतिशतभन्दा बढी मतदान हुन सक्छ । जुन १९०८ पछि अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत मतदान हुनेछ । 

प्रोफेसर म्याकडोनाल्डले संकलन गरेका तथ्यांकअनुसार पोस्टका माध्यमबाट आइरहेका मतपत्रबाट डेमोक्रेट पार्टीले बहुमत हासिल गर्ने संकेत देखिएको छ । 

यद्यपि अहिलेसम्म निर्वाचनमा कसले जीत हासिल गर्छ भन्ने विश्वसनीय संकेत भने प्राप्त भइसकेको छैन । राष्ट्रपति ट्रम्पले यसैवर्ष पोस्टल ब्यालेटकाविरुद्ध अभियान सुरु गरेका थिए । उनले पोस्टका माध्यमबाट मतदान हुनु अहिलेसम्मकै सबैभन्दा भ्रष्ट चुनावको कारण बन्नसक्ने उनले तर्क दिएका थिए । 

उनले यो व्यवस्थाका कारण मानिसले एक भन्दा बढी पटक मतदान गर्न सक्ने उनको दाबी थियो । पोस्टका माध्यमबाट मतदानप्रति ट्रम्पको आक्रोशले उनका समर्थकलाई मतदानको अन्तिम दिन पर्खिनका लागि प्रेरित गर्न सक्छ । 

अहिलेसम्म पोस्टका माध्यमबाट मतदान हुँदा फर्जी मतदान भएको कुनै संकेत पाइएको छैन । वास्तविकता यस्तो छ कि अमेरिकामा २०१७ मा भएको एक शोध अनुसार फर्ज़ी भोटको संख्या ०.००००४ प्रतिशतदेखि ०.००००९ प्रतिशतसम्म थियो । यो शोध ब्रेनन सेन्टर फर जस्टिसले गरेको थियो ।