फगत कथाहरू, उम्कनै पर्ने जीवनका कथाहरू

फगत कथाहरू, उम्कनै पर्ने  जीवनका कथाहरू

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  कार्तिक १२, २०७७

कथाहरू छन्, हामीहरू बिच कथाहरू छन्, हामीहरूसँग कथाहरू छन् ! हामी को हौँ भनेर हामीले नै निर्माण गरेका, भोगेका कथाहरू, कल्पना गरेका कथाहरू ! लेखिका बाइरन क्याटी भन्छिन, तिमी र म अर्थात हामी बिच कथाहरू छन्, जसले हामीहरू जे हौँ त्यो देख्न दिन्नन, तिनले सत्यको बिचमा पर्दाको काम गर्छन । हो, आँखाहरूमा हुनसक्थे हाम्रा उत्तरहरू, जब हामी आमने सामने हुन्थ्यौं, हो आँखा अघि नै हुन सक्थ्यो हाम्रो सत्य, जब हामीबिच कुनै कथाका पर्खाल हुँदैनथे । मैले तिमीलाई बिना कुनै मूल्यांकन, बिना कुनै नापजोख देख्न सक्थें र तिमीले पनि मलाई !

कथाहरू शब्दले बनेका हुन्छन, शब्दहरू भावनाको हत्या र हिंसामाथि टेकेका हिंस्रक औजारहरू हुन् । मैले तिमीलाई शब्दहरूमा मेरा भावना कहिले बुझाउन सकिन, न त तिमीले नै मलाई ! बस, हामीले शब्दहरूमा रोटेपिंग खेल्यौं, पेलियौं, दुख्यौँ, उदास भयौं । शब्दहरूले कहिले न्याय गरेनन् हाम्रा भावनाहरूलाई ! बस, तिनले कथा बनाए, कि तिमी आँखामा तिनको पर्दा लगाएर बाँच, म आँखामा तिनको पर्दा लगाएर बाँचौं र तिमी र म बिच वास्तविक तिमी र म नै नदेखियोस् ।

समाचार छापिन्छ, कोरोना रिपोर्ट पोजिटिव देखिएपछि हृदयाघात भएर एकको मृत्यु ! कोरोनाको बारेमा सत्य जे सुकै होस्, तर यो प्रमाणित छ, यो ठूलो रोग होइन, यसले बहुत कम मान्छेलाई मात्र मृत्युको मुखमा धकेल्छ, यो न त प्यान्डेमिक हो इभन यो इपिडेमिक नै पनि होइन ! ऐले मरेका जति मान्छेहरू सामान्य अवस्थामा पनि मर्न सक्थे ! यो एउटा सामान्य रोगको रिपोर्ट पोजिटिव आउनासाथ किन कोही हृदयाघात हुने अवस्थामा पुग्छ ? यसको कारण हो, कथाहरू ! कोरोनाको सत्य र हृदयाघातको बिचमा कथाहरू छन् !

कोरोनालाई महामारी भनेर प्रचार गरेर फाइदा लिन सफल वर्गले गरेका प्रोपगन्डाहरूका कथाहरू ! कोरोनाले गाह्रो पार्छ भनेर सेलिब्रिटीहरूले गरेका स्वीकारोक्तिहरू ! सब कथाहरू हुन् ! तिनै कथाहरू हुन्, जसले मान्छे र रोग बिच ठूलो खाडल पारेका छन् ! मान्छे रोग लाग्यो भन्नासाथ यसका असरहरूको भयावह आकलन गर्छ, उसलाई यमराज स्वयम् आएर घाँटी थिचेको महसुस हुन्छ ।

हो, कथाहरूले सत्यलाई मार्छन, मार्छन मात्र होइन, बदल्दै समेत लान्छन् ! दशैं जहिले एकै छ वा एकैनास छ र ?  छैन, यसमा कथाहरू जडिएका छन्, बच्चाहरूका बेग्लै कथा छन्, बुज्रुकहरूका बेग्लै ! अनि कथाहरूलाई लिएर तँ भन्दा म बुझ्ने वा जान्ने भनेर आफूलाई स्वघोषणा गर्ने र कथाका लागि लड्नेहरू पनि छन् ! कथाको प्रकृति बुझ्ने हो भने यो सब कति निस्सार कुरा हो ?

हो, कथाहरू हत्यारा हुन्, कथा बुन्न छोडौं वा मृत्युलाई आमन्त्रण गरौँ, दिमाग छ, सोच छ, आफू अनुकुलका कथा तिमी बनाउँछौ, म बनाउँछु, तिनको फाइदा केही छैन, सत्य त्यो होइन, त्यो त हामीले खन्दै लगेको खाडल हो, आफैंलाई पुर्न, हाम्रा सम्बन्धहरूलाई पुर्न, हाम्रो अस्तित्वलाई नांगै साक्षात्कार गर्न नदिन, त्यसलाई गहिरो गर्तमा गाड्न कि सत्य कहिले उजागर नहोस्, हामी भ्रमित नै मरौं  ।

लेखिका बाइरन क्याटीको पुस्तक ‘हु उड यु बी विदआउट योर स्टोरी’ संवादको रूपमा लेखिएको पुस्तक हो, संवाद मार्फत नै क्याटीले धेरै पात्रहरूलाई मानव निर्मित, विचार निर्मित कथाहरू बाहिर उसको स्वतन्त्र र पीडा रहित अस्तित्व रहेको बोध गराउन सफल भएकी छिन्, त्यसको लागि उनले केही गरेकी छैनन्, बस दिमाग र तिनमा उठ्ने विचार र भावनाहरूलाई प्रश्न गर्न सघाएकी छिन्, पात्रहरू बुझ्दै जान्छन्, कसरी तिनीहरूले बनाएका कथाहरूले तिनीहरू आफैंले आफैंलाई पीडित गरेका थिए ।

 स्टान भन्ने सानो केटो आफ्नो बुबाले आफूलाई दुर्व्यवहार गरेको विगतको स्मृतिमा अल्झिएको छ, विगतका कथाहरूले उसलाई ठूलो चोट दिएका छन्, उसलाई ती सब कुराहरू वर्तमानमा महसुस भैरहेका छन्, विगतका भारी कथाहरूले उसको वर्तमानलाई, वर्तमानका भावनाहरूलाई प्रभावित गरिरहेका छन्, तिनकै कारण ऊ नारकीय जीवन बिताईरहेको छ । स्टानसँग संवाद गर्दै क्याटीले कसरी उसलाई कथा बाहिर उसको स्वतन्त्र अस्तित्व बोध गराउँछिन्, संवादमा हेरौं ।

आफ्नो बाबुले आफूमाथि दुर्व्यवहार गरेको कथा बोकेर जिन्दगी बाँचिरहेको छ स्टान ! उसले कथा बाहिरको आफू कहिले सोचेको छैन, कथाहरूलाई आफ्नो वास्तविकताको निर्धारक मान्छ । उसलाई कथा बाहिर बाँच्न थालें भने म के हुन्छु ? भन्ने डर र कौतुहलताले गाँजेको छ । यिनै आफ्ना म यो हुँ भनेर परिभाषित गर्ने कथाहरूले मान्छेको इगो निर्मित गरेका हुन्छन् तर कथा बाहिर बाँच्न सक्ने सम्भावना मान्छेमा नै छ !

चर्चित लेखक युवल नोह हरारी समेत २१ औं शताब्दीमा मान्छेले किलिंग थट अर्थात आतंकित दिमागले निर्माण गरेका विचार र कथा मार्नु पर्ने शिक्षा दिन्छन् ! यदि कथाहरू नमर्ने हुन्, मान्छेको दिमाग जहिले आफूलाई परिभाषित गर्न आउने हो, विचारहरू उसरी नै चन्चल भएर आउने हुन् र विगतका दुखद यादका कथाहरूले र भविष्यको त्रासका कथाहरूले मान्छेलाई पिरोलिराख्ने हो भने तनावग्रस्त समाजको बाहेक अर्को परिकल्पना हुन्न, मान्छे आफैंले आफैंलाई दिमागी आतंकको गर्तमा धकेल्छ, यो अवस्थामा मान्छे कहिले सत्य बाँच्दैन, आफ्नो वर्तमान बाँच्दैन, आफ्नो अस्तित्व बाँच्दैन ।

झेन वा पूर्वीय दर्शनहरू होलिस्टिक बाइनरीमा छन्, उपनिषदले ‘शब्द ही ब्रह्म हैं !’ भन्छन्, यसको ठिक विपरित शब्द केही होइन वा शब्दहरू निस्सार छन् भन्ने हो ! यी दुवै कुराहरू, उल्टो होस् या सुल्टो, दुवै सारको हिसाबले एकै हुन् ! मुख्य कुरा कुन ज्ञानेन्द्रिय बाट मान्छे माथि उठेर विचारशुन्य, कथा रहित अवस्थामा पुग्यो भने मात्र महत्वपूर्ण हो !

 एक सन्तले ‘अन्न ही ब्रह्म हैं !’ पनि भनेका छन् ! उनले दिमागलाई प्रयोग गरेर कथाबाट उम्केका होइनन्, उनी जिब्रो र अन्नको स्वादको चरम महसुसबाट आफू कथाबाट उम्केका हुन् ! कथाबाट उम्केको अवस्था नै ब्रह्मत्व वा आफ्नो सही अस्तित्वको प्राप्ति हो !  जे कुराको स्वाद एकदमै उच्च रूपमा लिएर मान्छे त्यसबाट माथि उठ्यो र वर्तमानलाई बोध गर्यो वा कथाहरूलाई पार गर्यो, त्यो नै ब्रह्म हो !

विचार, शब्द र ती निर्मित कथाहरूबाट दिमाग प्रयोग गरेर मात्र उम्कन सम्भव छ, अन्य ज्ञानेन्द्रिय मार्फत कथाहरूबाट उम्कन फरक किसिमका साधनाहरू जरूरी छन् ! ब्रह्म सत्य जगत मिथ्या किन भनिएको हो भने हाम्रा कथाहरूले हाम्रो जिन्दगी र जगतको निर्माण गरेका छन्, कथा निर्मित कुराहरू सत्य होइनन्, हुन सक्दैनन् ! त्यो बुझेर तिनबाट पार पाएको अवस्था नै ब्रह्मत्व प्राप्ति हो !

चाडबाडहरूको मौसम छ ! बच्चाहरू दशैंमा टीका लाएको दक्षिणा गन्नमा मस्त छन् ! तिनको कथा टीको लाएर आशिर्वाद पाइने कथा होइन, तिनको कथा कसले कति दक्षिणा भेला गर्ने भन्ने हो ! कथाहरू व्यक्तिको उमेर, वर्ग, लिंग, संस्कृति सबै कुराले निर्धारित भएका हुन्छन् ! दही र अक्षता मुछेर बनाइने टीकामा समय अनुसारका रङ्गहरू हालिंदै गयो ! अझ टीका मजाले टाँसियोस् भनेर मान्छेहरू अक्षता मुछ्दा चिनी समेत राख्न थाले ! चिनी नै नभएको युगबाट प्रचलनमा रहेको दशैं चिनी युगमा पुग्दा बेग्लै किसिमको कथा जडित चाड बन्न पुग्यो !

हो, कथाहरूले सत्यलाई मार्छन, मार्छन मात्र होइन, बदल्दै समेत लान्छन् ! दशैं जहिले एकै छ वा एकैनास छ र ?  छैन, यसमा कथाहरू जडिएका छन्, बच्चाहरूका बेग्लै कथा छन्, बुज्रुकहरूका बेग्लै ! अनि कथाहरूलाई लिएर तँ भन्दा म बुझ्ने वा जान्ने भनेर आफूलाई स्वघोषणा गर्ने र कथाका लागि लड्नेहरू पनि छन् ! कथाको प्रकृति बुझ्ने हो भने यो सब कति निस्सार कुरा हो ?

कहिले सोच्नु भएको छ ?

वा बुझ्ने प्रयास गर्नु भएको छ ?

वा कथा बाहिर फगत मान्छे बन्न बल गर्नु भएको छ ?

छैन भने शुरू गर्नोस् !

बुझ्नेलाई ईशारा काफी हुन्छन् !

जदौ !