माग घट्दै जाँदा मादल बनाउने पेशा लोप हुँदै

माग घट्दै जाँदा  मादल बनाउने पेशा लोप हुँदै

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १२, २०७७

तुलसीपुर । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताउनुभयो । 'मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं', उहाँले भन्नुभयो । 
 
बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताउनुभयो । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी  गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उहाँको भनाइ छ । 'अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ', उहाँले भन्नुभयो, 'यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा सङ्कटमा छ ।' घरमै आएर माग गरेपछि मादल  बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उहाँको भनाइ छ ।