बाबियाचौरमा उद्यान निर्माण

बाबियाचौरमा उद्यान निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक १३, २०७७

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ । 

गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको ५० लाख रुपैयाँ बढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा तीब्र रुपमा बजारीकरण भैरहेको छ । 'बजारबासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो होस भनेर उद्यान बनाएका हौं', अध्यक्ष रोकाले भन्नुभयो 'कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ ।'

बाबियाचौर बजारको म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो भएको छ । शहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने ब्यवस्था मिलाउन मङ्गला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएको हो । 

पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौँमा बस्नुहुने इन्द्रबहादुर अधिकारीले पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गादाताको सम्मानका लागि उद्यानलाई 'मङ्गला इन्द्रेणी पार्क' नामाकरण गरिएको छ । उद्यान बनाउन पखो जग्गालाई सम्माएर पर्खाल लगाई खण्ड खण्डमा बिभाजन गरिएको छ । बिश्रामस्थलका लागि टहरा निर्माण भएको छ । उद्यानलाई रमणीय र आकर्षक बनाउन दुवो तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ । 

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको पार्क निर्माण योजनामा गाउँपालिकाको  ३४ लाख रुपैयाँ  र डिभिजन वन कार्यालयको १८ लाख रुपैयाँ लगानी भइसकेको छ । घेराबार, बालबालिका खेल्ने ठाउँ लगायतका संरचना बनाउन चालू आर्थिक वर्षमा गाउँपालिकाले थप २८ लाख रुपैयाँ वजेट विनियोजन गरेको वडा सदस्य चक्रलाल पाण्डेले बताउनुभयो । 

'पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरबको आयोजना हो,' उहाँले भन्नुभयो 'बाबियाचौरमा आउने पाहुनाहरुलाई देखाउने ठाउँ पनि पार्क बनेको छ ।' उद्यान परिसरमा सांस्कृतिक सङ्ग्रहालय समेत बनाएर पर्यटक आकर्षित गर्ने गाउँपालिकाको योजना छ । 

गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालयमा राखिने बताइएको छ ।