दुई देशका सेना प्रमुखको प्रयास ! नेपाल-भारत कूटनीतिक र राजनीतिक नेतृत्वबिच संवाद !?

दुई देशका सेना प्रमुखको प्रयास ! नेपाल-भारत कूटनीतिक र राजनीतिक नेतृत्वबिच संवाद !?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १३, २०७७

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएपछि नेपाल सरकारलाई के सन्देश दिदैछन भन्ने प्रश्नले सर्वत्र चासो र चर्चा पाएको  छ । भारतीय सञ्चार ‘द प्रिन्ट’ले सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको मिति तय भएको र भ्रमणको क्रममा दुई देशको सीमा विवादबारे छलफल हुने  जनाएपछि के साँच्चै सीमा विवादको विषयमा कुराकानी हुन्छ वा औपचारिकतामा मात्रै सीमित हुन्छ त्यो भने भ्रमणको क्रममा देखिने भए पनि नेपाल भारतको बिचमा संवादहीनताको अवस्थालाई भने केही हदसम्म सुल्झाउने अपेक्षा गरिएको छ ।  ‘दुई देशको सीमामा देखिएको समस्याबारे छलफल हुनेछ’, भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’मा उल्लेख थियो ।

भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’का अनुसार नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग १८ सय किलोमिटर लामो सीमाको व्यवस्थापनका पक्षहरूमा महत्त्वपूर्ण छलफल गर्ने कार्यसूची रहेको छ । भारतीय सेनाध्यक्षले कात्तिक १९ देखि २१ गतेसम्म नेपालको भ्रमण गर्ने मिति टुङ्गो लागेपछि ‘द प्रिन्ट’ले भारतीय सरकारी अधिकारीलाई उल्लेख गर्दे सो समाचार प्रकाशन गरेको हो । 

गत वर्षको कात्तिकदेखि बिग्रेको नेपाल भारत सम्बन्धलाई पुनः स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण सुरु गरेको पनि सो सञ्चारमाध्यममा उल्लेख छ । यद्यपि यो विषयमा नेपाली सेनाका अधिकारीहरूले केही बताएका छैनन् । भारतको गुप्तचर एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयल आएर फर्केको दुई साताभित्र हुन लागेको भारतीय सेना प्रमुखको भ्रमणलाई नेपालले दुई देशबिच एक वर्षदेखि ठप्प कूटनीतिक संवाद सुचारु हुन लागेको हो ।

सन् २०१६ मा नेपालमा नाकाबन्दी थियो र त्यस वेला पनि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यस वेला नेपालमा जारी भएको नयाँ संविधानबारे असमझदारी हुँदा नेपाल र भारतको कूटनीतिक र राजनीतिक नेतृत्वबिच संवाद बन्द थियो ।

त्यस वेला संवाद सुचारु गर्न नेपाली सेनाले प्रयास गरेको थियो । नेपाली सेनाका तत्कालीन प्रमुख राजेन्द्र क्षेत्रीको भारत भ्रमणपछि नेपालमा नाकाबन्दी अन्त्य भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण  समेत गरेका थिए ।

चार वर्षपछि प्रधानमन्त्री ओलीले सैन्य कूटनीतिमार्फत सम्बन्ध सुचारु गर्न चाहेका छन् । प्रधानमन्त्री ओलीको चाहना अनुसार नेपाली सेना प्रमुख पूर्णचन्द्र थापाको प्रयासमा भारतीय सेना प्रमुख नरवणे नेपाल आउन लागेको नेपाली सेनाको बुझाइ छ ।

भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता तथा एकान्त वार्ता गर्नेछन् । भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् ।

पछिल्लो पटक ०७३ माघमा नाकाबन्दी हटाउन प्रधानमन्त्री ओलीले सैन्य कूटनीति प्रयोग गरेजस्तै यस पटक पनि उनको रुचि अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रयास र निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपाल आउन लागेका हुन् । तर, नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भारतीय सेनाध्यक्षको भ्रमण नियमित र पारम्परिक भएको प्रतिक्रिया दिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य व्यक्तिहरूसँग पनि उनको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको यस अगाडी नै भ्रमण मिति तय भए पनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो । भारतीय सेनाध्यक्षको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिन थालेको छ ।

नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउँदा नेपाल सरकारले नेपालकै तर्फबाट नयाँ नक्सा जारी गरेर आपत्ति र विरोध जनाएको थियो । साथै नेपालमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नयाँ नक्सा कार्यान्वयनमा समेत आइसकेको छ । त्यति बेला नर बनेले अन्य  देशको इशारामा नेपालले नक्सा जारी गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि नेपालमा भारतीय सेनाध्यक्षको पनि विरोध भएको थियो ।

त्यति बेला उनको विवादास्पद अभिव्यक्ति कारण उनको नेपाल भ्रमणका क्रममा केही असजिलो भएपछि रोकिएको थियो ।  अहिले भने  नेपाली सेनाले यसको व्यवस्थापन गरिसकेको र महत्त्वपूर्ण भेटघाटको समय तय भैसकेको छ । उनको भ्रमणका एजेन्डाहरू पनि तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

द प्रिन्टका अनुसार, उनले आफ्नो समकक्षी नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालगायत नेपालका शीर्ष नेता र सेनाका सक्कल दर्जाका अधिकृतहरूसँग छलफल गर्नेछ । ‘सेना प्रमुखले कात्तिक १९ देखि २१ गतेसम्म नेपालको भ्रमण गर्ने छन् जसको उद्देश्य रक्षा र सुरक्षाको क्षेत्रलगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्य राखिएको  छ,’ भारतीय सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै  ‘द प्रिन्ट’ले लेखेको छ ।

१९५० देखि सुरु भएको एक पुरानो परम्पराको निरन्तरताका लागि पनि उनी काठमाडौँ आउन लागेका हुन् । त्यस बेला  देखि दुई देशका सेनाध्यक्षलाई एक अर्को देशको मानार्थ महारथीको दर्जा  दिने परम्परा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथी पदको दर्ज्यानी चिन्ह लगाएर सम्मान गर्नेछिन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमि मा आफ्नो नक्सामा समेटेर सडक मार्ग खोल्ने सम्मको काम गरेपछि नेपालले प्रतिवाद गदै आएको थियो ।

नेपालले पनि अन्ततः आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा ती भूमिलाई समेटेर संविधानमा समेत लिपिबद्ध गरेपछि दुई देश बिच सम्बन्धमा चिसिएको थियो । एक वर्षयता नेपाल भारतका अधिकारीहरूबिच औपचारिक रुपमा कुराकानी समेत भएको थिएन । सीमा सुरक्षाको विषयमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलकाबीचमा पोखरामा एउटा बैठक बाहेक अन्य विषयहरूमा दुई देशबिच कुनै पनि छलफल र बैठकहरू बस्न सकेका छैनन् ।  त्यसयता दुई देशका बिचमा उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद हुन सकेको थिएन । नरवणेको यो भ्रमण त्यसयताकै भारतीयको तर्फबाट उच्च स्तरको भ्रमण हुने अपेक्षा गरिएको छ ।

केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी ओली स्वंमले निम्तो दिएर भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोललाई बालुवाटार मा भेट गरेका थिए । जुन भेटघाट नेपालमा निक्कै आलोचित बनिरहेको छ । प्रधानमन्त्री ओली र उनका निकट सहयोगीले यसको बचाउ गर्न खोजे पनि ओलीको राष्ट्रवाद बोली र व्यवहारमा तालमेल नमिलेको भन्दै आलोचना भइरहेको छ ।

यस्तो बेला भारतीय सेनाध्यक्षको पनि भ्रमण हुन लागेको छ । जसले पनि नेपालको मामिलामा विवादास्पद अभिव्यक्ति दिएका थिए । राष्ट्रवादी नेपालीहरूले भने नेपालको सन्दर्भमा विवादास्पद अभिब्यीक्त दिने सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गर्न नहुने बताइरहेका छन् । यही  बेला सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण हुन लागेको हो । तर भारतले सेना प्रमुखलाई नेपाल पठाउँदै गरेको निर्णयलाई नयाँ दिल्लीले म्यानमार, मालदिभ्स, बङ्गलादेश, श्रीलङ्का, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने ठुलो अभ्यासको रुपमा लिइएको छ ।

यस क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि भारतले सेनाध्यक्षलाई प्रयोग गर्न थालेको अर्थमा पनि लिन थालिएको छ । किनकि यसै महिनाको सुरुमा भारतीय सेनाध्यक्ष नरवणेले  विदेश सचिव हर्षवर्धन सँगै म्यानमारको यात्रा गरेका थिए र यस अवधिमा भारतले म्यानमारसँग पनडुब्बी आपूर्ति गर्ने निर्णय गर्नुका साथै सैन्य र रक्षा सम्बन्ध अझ गाढा गर्ने सहमति गरेको थियो ।

नेपाली सेनाले गत मंगलबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नरवाणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ । 

भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता तथा एकान्त वार्ता गर्नेछन् । भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् । त्यस क्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरवाणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।