सन्दर्भ 'छुटौँ अब दिन ढल्यो भेटौँ कुनै दिन' : 'के भो तिमीलाई, अनुहार त फुङ जलेछ नि ? हेर यो उमेरमा' !

सन्दर्भ 'छुटौँ अब दिन ढल्यो भेटौँ कुनै दिन' :  'के भो तिमीलाई, अनुहार त फुङ जलेछ नि ? हेर यो उमेरमा' !

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  कार्तिक १३, २०७७

 ' छुटौँ अब दिन ढल्यो भेटौँ कुनै दिन 
 धेरै पछि भेट भयो तिमीसँग यो दिन 
यति राम्रो मुहारको कसरी झरयो जून
यो उमेरमा शिरफूलको कसरी डुब्यो जून
सोधी हाले माफ रहोस बितेका तिम्रा दिन ।'  

खोटाङ बजारमा कार्यक्रम सकेर केही युवाहरुकोसाथ घर फर्कदै थिएँ । अचानक यो गीतको पृष्ठभूमि खि खोला नजिक आउँदै गर्दा देखा परेको थियो । भलिबल टुर्नामेन्ट खोटाङ बजारमा मैले आयोजना गरेको थिएँ । सातवटा  माविबाट सहभागी टिमहरु थिए । 

यो मेरो रचना वरिष्ट सङ्गीतकार /गायक बालन्द राईले आफ्नो सङ्गीतमा गाउनु भएको छ । बालन्द राईलाई यहाँ सम्झना चाहन्छु ।  

राजनीतिको चासोमा भौतारीरहेको लामो मौसममा फेला परेको यो गीत हो । तर धेरैपछि मात्र लेख्न सकेको हुँ  मैले । 

म राजनीतिक चेपारोमा परेको कारण राजनीतिको जरो खोज्न शाखा अधिकृत घरेलु विभागको जागिर छोडेर गाउँ फर्केको थिएँ ।  सिम्पानी माविका हेडसर आदरणीय गणेश अधिकारी सरले मलाई भनेको सम्झन्छु 'तिमीले राजनीतिमा आउनु गल्ती गरेऊ, यो दुखी काम हो । तिमीले भनेऊ म बिधार्थी भलिबल खेल्न पठाउँछु ।  अरुले भनेको भए हुँदैन भन्ने थिएँ ।' अहिले पनि मेरो अविभावक जस्तो माया गर्नुहुने गणेश सरलाई आभार प्रकट गर्दछु ।

वास्तवमा राजनीति विज्ञान हो ।  प्रख्यात राजनीतिक समाजशास्त्री Joseph Masciulli and W. Andy Knight भने जस्तो 'leadership is a historically concrete phenomenon; that is its structure and method change with the passage time.'  वास्तवमा बिच भागबाट पलाएको मेरो राजनीति थियो न जरा न त टुप्पो थियो । मेरो बाजे भने नेपाली कांग्रेस भएका कारण उदयपुर जेलबाट छुटेर दुई हजार सातसलमा बित्नु भएको रहेछ । किसानी मेरो परिवारमा राजनीतिक माहौल थिएन ।

पछि थाहा भयो, जब जीवनको क्रिम समय राजनीतिमा खर्च भयो ।  यसको अन्त्य र प्रारम्भ थाहा नहुँदो  रहेछ । तर राजनीतिमा कमजोर विश्लेषण हुन्छ । भन्छन् - हार्नेको अब सधैं अन्त्य हुन्छ, तर होइन जित्नेको पनि अन्त्य हुन्छ ।  बरू दुखलाग्दो कुरा के हो भने, आज नैतिक राजनीति समाप्त भएको छ । भ्रष्ट्रचारी र नातावाद बलियो भए  मात्र राजनीति सम्भव देखिदैछ । 

प्रजातन्त्रका महान सेनानी गणेशमान सिंहको चाक्सीबारीमा संयुक्त बाम मोर्चासँग मिलेर नेपाली कांग्रेसको नेता सिहंको नेतृत्वमा पञ्चायत तथा राजाको बिरुद्धमा आन्दोलन गर्ने घोषणा सभाको दिन म पुगेको थिएँ । दिल्लीको चाँदनी चोक बजारमा प्रत्येक दिन भिड भए जस्तै रत्नपार्कदेखि ठमेल ठूलो भिडले रुमल्लिएको थियो । 

कतिलाई लाग्ला गीतमा किन ? स्रष्टाले बेकारमा राजनीति जस्तो टर्रो कुरा मुलायम गीतसँग जोडेको । यो मेरो बाध्यता ठानिदिनोस् । म जस्तो मान्छेले पनि यो भूमिमा एक पल्ट राजनीति सिकेको थिएँ । मेरो गीत र कविताको चर्चा गर्दा म बितेका मेरो सुखद दुखद समयभित्र अनायस संबेदना प्रकट गर्न नतमस्तक हुन्छु ।  यो समयमा धेरै देखें भोगें ।  यो उर्जाशील मेरो समय थियो । 

केही दिनपछि काठमाडौँबाट घर फर्कें । दिक्तेलमा सरकारले पञ्चभेला बोलाएको रहेछ ।  उक्त भेलामा केही साथीहरुको तर्फबाट मलाई बोल्न आग्रह गरेका थिए ।  'जब सिट हल्लन्छ अनि जनता खोज्दै हिंड्ने पञ्चायती प्रवृति कदाचित राम्रो होइन 'मात्र मैले समिक्षालयको हलमा बोलेको थिएँ  । राष्ट्रिय पञ्चायतकका तत्कालिन उपाध्यक्ष परशुराम राईले आपत्ति जनाउनु भयो । स्वभाबिक थियो आपत्ति पनि । नजिकमा बसिरहनु भएको सिडिओ तुलसी भट्टराईलाई सभामा आपत्ति जनाउनु भयो ।  बोल्न पाइनँ । एक दुई कुरा राखेर बाहिर निस्कें । बहुदलवादीको खुट्टा भाँच्ने आदेस थियो तर कोही देखापरेको थिएन ।  सर्वधन राईलाई भने कोचिसकेको रहेछन् ।  

समयले मान्छेलाई कता धकेल्छ भन्न सकिन्न ।  तरपनि उभिन खोज्ने क्रम निरन्तर जीवनको क्रमबद्धता हुँदोरहेछ । यस्तै यात्राको कुनै विन्दुमा सोंचेको गर्तभित्र कुनै कामको प्रयोग गरिंदोरहेछ ।  भलै त्यसको अर्थ होस् या नहोस  । मैले मेरो गाउँमा एक पल्ट जिल्लाभरिको युवाहरुलाई जमघट गराउने उदेश्यले सम्भवत २०४३ सालताका 'जन सेवा क्लव' स्थापना गरेको थिएँ ।  त्यो अवधिसम्म जिल्लामा कतै पनि यस्तो खेलकुदका संस्था खोलिएको थिएन । केही बर्ष हामीले खोटांङ जिल्लाको दक्षिण क्षेत्रमा भलिबल जस्ता सम्भाव्य खेलकुद संचालन गरेका थियौं ्र यसले युवाहरुमा मित्रता र सदभाववको विकास गरेको थियो । 

यस्तै बाङ्गो टिङ्गो जीवनको भोगाइमा जीवन बुझ्ने र संसार हेर्ने अवसर पाएँ ।  एक प्रकार पिडादायक पनि थियो ।

गीतको आकार प्रकार कसरी प्रारम्भ हुन्छ भन्न पहिले कठिन हुन्छ । लेख्नलाई जब मनभित्र दबाब बढ्छ अनि अनौंठो झंकार मुटुमा खेल्न खोज्छ । स्रष्टालाई कुनै चोटले वा दृश्यले लेख्न आग्रह गरिरहन्छ । 

मलाई यो घटनाले दर्दको रुपमा पोलिरह्यो । त्यसो नभनिदिएको भए कस्तो हुन्थ्यो ? उनको अनुहारमा अचानक घाम अस्ताएको देखेको थिएँ ? यस विषयमा लेख्न प्रयास गरिरहेको थिएँ ? यो गीत २०६२  सालमा एक सेटिंगमा लेखेंको थिएँ । बालन्द जीले त्यो वर्ष नै रेकर्ड गर्नु भएको थियो । कामको व्यस्तताले रेकर्डिङमा जान सकिन । छिट्टो सुन्न पाल्नोस दाइ गीत राम्रो बनेको छ । सबैले मन पराईसके भनेर तारन्तार फोन गर्नु भयो ।  सुने साँच्चै सुन्दर गीत बनेछ जस्तो लाग्यो । 

मेरो समय राजनीतिक भन्दा पनि सामाजिक क्षेत्रमा केन्द्रित थियो ।  तर बुझ्दै जाँदा जीवनको रङ्ग मुम्वई धुम्न जाँदा एक मानिसले गेट अफ इन्डियामा भनेको 'नाच्न नजाने आगन तेडा हें क्या'  जस्तो भएछ । यो भनाइ हामी कहाँ हिन्दीबाट आएको रहेछ । कहिले घाम कहिले पानी खपेको शरीरमा अभाव त थिएन तर आज जस्तो समय पनि थिएन । 

जनताको प्रजातान्त्रिक आन्दोलनबाट तानाशाह राजसंस्थाले घोडा टेक्यो । जनता रैतीबाट नागरिक भएपछि २०४७ सालमा संवैधानिक राजा, बहुदलीय ब्यबस्था अनुरुपको प्रजातान्त्रिक संविधान निर्माण भयो । म घरमा थिएँ । बहुदलीय ब्यबस्थाको वकालत गरें । अब देस बन्छ भन्नेमा म ढुक्क थिएँ किन भने चन्द्रशेखर, नेपाली कांग्रेसको र बामपन्थी जोस चाक्सीबारीमा देखेको थिएँ । आखिर म लम्फु रहेछु । बिस्तारै धमिजा, लाउडाजस्ता चर्चित भ्रष्टचार  काण्डहरु हुँदै गए । खान पाउने र नपाउने झगडाले कांग्रेसको बहुमतको सरकार सकियो, अन्तरिम चुनाव भयो । 

बामपन्थीहरुको जिल्लामा आक्रामक सभाहरु प्रारम्भ भयो तर नेपाली कांग्रेस कोही निस्केन । मलाई छट्पटी भयो ।  सिम्पानी बजारमा मैले मेरो माइक बोकेर गएँ । मेरो गाउँका आदरणीय काका जयबहादुर राई हुनुहुन्थ्यो । उहाँ र काशी राईसँग पहिलो हिम्मतसाथ सभामा भाषण ठोक्यौं ।  अब विस्तारै  राजनीतिक  माहोल तातिदै गयो । अर्को शनिबार खोटाङ बजारमा सभा सम्पन्न भयो । बामपन्थीको डरले कोही बोलेनन् ।  म पनि चुपचाप घर आएर बसेको थिएँ ।  घरमा कौशलराज रेग्मी भेट्न आउनु भयो । उहाँ मेरो बिए अध्ययन गर्दाको गुरु हुनुहुन्थ्यो । मैले भने अब भोलि खोटाङ गएर माणिकलाल प्रधान सरलाई भेटौं अनि के गर्ने भन्ने योजना बुनौंला ।  छलफलमा कांग्रेस बन्न रुचाउने साथीहरु करिब आठ नौं जना टुडिखेलमा भेला भयौं । तर गाउँ कार्य समिति निर्माण गर्न जान कोही तयार भएन । मेरो आदरणीय गुरु माणिक सरले फाइनल कुरा गर्नु भयो ' यो काम अहिले सक्छ भने विष्णुले सक्छ ' ।

मैले नानीबाबु ओझा, भोला गेलाल, जयबहादुर काका साथी लिएर एघार दिनमा सावा खोलापारी भेटघाट गरेर फन्को लगायौं । सम्भव भएको स्थानमा समिति गठन पनि भयो । प्रारम्भमा यो काम गर्न जटिल र ठूलो चुनौती थियो ।

म  पनि अवसरको खोजीमा थिएँ । त्यसैले तल्लो कार्यकर्ता भएर धैर्य बस्न सकिनँ ।  सायद यो मेरो कमजोरी हो ।  यो कुरा नेपाली कांग्रेसको नेताहरुलाई काठमाडौँमा भेट्ने अबसर मिलेपछि अझ थाहा पाएँ । विशाल समुद्रभित्र अनेक तहका महान, कर्मठ, नेता ,कार्यकर्ताहरु थिए ।  त्यसभित्र झन् नातावाद, जातिवादको अनौठो बन्द ढोकाहरु देखें । लाग्यो म जस्तो फुच्चेको लागि जीवनभर यो ढोका खोल्ने तागत छैन ।  अहिले पनि देख्छु कांग्रेसभित्र अरु पार्टीमा भन्दा ज्यादा जातिवाद छ ।  झर्ला र  खाउँला भन्ने चाकरी र सिद्धान्तको निष्ठा राजनीति मात्र मेरो विचारको केन्द्र थिएन । केही गर्नको लागि शक्ति केन्द्रको पोकाभित्र हात लगाउनपर्छ भन्ने संकल्प थियो ।  मेरो लागि मिथ्या रहेछ ।  राजनीतिको दृश्य फटाफट केन्द्रबाट निर्वाचनको टिकट बोकेर जिल्ला राम्रा नेताहरु आउन थालेपछि अर्को जीवनको फर्मुला थाहा भयो । 

मैले सोंचेको जस्तो भएन राजनीति देसमा । म जस्तो भुसुनाले केही गर्न सक्ने कुरै भएन । अनेक पिडा मनमा बोकेर आफैं त्यसै बरालीरहें, कहिले घर कहिले काठमाण्डौँ । यस्तै क्रमभित्रको उकाली ओराली त कहिले सुसेलीको एउटा शिलशिलामा लेखिएको यो गीत हो । मानौं राजनीतिको परिभाषाको खोजीमा निरन्तर हिंडिरहेको बेला भेटिएको हो यो मेरो गीत ।  

नेपाली कांग्रेसको बृहत भेला दशरथ रंगशालामा थियो । कालुमान गुरुङ र मलाई चैते कांग्रेस भने पछि मन् निक्कै काटियो । बेलुका दुवैभाइ कुरा गर्दै वीर हस्पिटलसम्म आयौं । बेलुका मेरो घरमा नै बसेर रातभर चैते शब्दको ब्याख्या गर्दै म पार्टीमा नबस्ने निर्णय गरें । कालुमान गुरुङ निरास थिए । 

यो जीवनको महत्वपूर्ण समय राजनीतिक कार्यकर्ताको रुपमा नै मेरो बितिरहेको थियो ।

जब खिखोला र भडारे गाउँको बिचमा अबस्थित किरातीहरुले मृतक आफन्तको नाममा बनाएको नयाँ चौतारामा पुग्यौं । दाउरा काट्ने महिलाहरु भारी बिसाएर चौतारीमा बसिरहेका थिए । सोही समयमा उताबाट एक पैतीसे उमेर जस्ती महिला कुम्लो कोसेली पिठ्युमा बोकेकी, त्यसमाथि आफ्नो सानी नानी च्यापेर टुप्लुक्क आइपुगिन् । त्यसैबेला उनीसँग दाउरेनीहरु रमाएर गफिन थाले ।

 माइत आइपुगेकी रहिछन् अनुमान गरें । अर्कीले भनिन– 'के भो तिमीलाई अनुहार त फुङ जलेछ नि ? हेर यो उमेरमा' ! मैले यति छिटो महिलाको सुन्दर अनुहारमा डढेलो लागेको दृष्य देखें । एक सेकेन्ड अगाडि उनको अनुहारमा मध्यरातको जून थियो । मेरो अनुभव छ हरेक महिलासँग भन्न नसकिने सुन्दरता हुन्छ । म आफैं झस्कें । यसरी नहिंडेको भए यो सुन्दर पोट्रेट कहाँ देख्नु सक्थें र !

मलाई यो घटनाले दर्दको रुपमा पोलिरह्यो । त्यसो नभनिदिएको भए कस्तो हुन्थ्यो ? उनको अनुहारमा अचानक घाम अस्ताएको देखेको थिएँ ? यस विषयमा लेख्न प्रयास गरिरहेको थिएँ ? यो गीत २०६२  सालमा एक सेटिंगमा लेखेंको थिएँ । बालन्द जीले त्यो वर्ष नै रेकर्ड गर्नु भएको थियो । कामको व्यस्तताले रेकर्डिङमा जान सकिन । छिट्टो सुन्न पाल्नोस दाइ गीत राम्रो बनेको छ । सबैले मन पराईसके भनेर तारन्तार फोन गर्नु भयो ।  सुने साँच्चै सुन्दर गीत बनेछ जस्तो लाग्यो । 

समाप्त

'छुटौं अब दिन ढल्यो भेटौं कुनै दिन' बोलकाे यो गीत युट्युबमा  पनि सुन्न सक्नुहुन्छ