कोरोनाको दोस्रो लहर रोक्ने सकसमा युरोप : फ्रान्समा लकडाउन, विद्यालय र फ्याक्ट्रीहरू भने खुला !

कोरोनाको दोस्रो लहर रोक्ने सकसमा युरोप :  फ्रान्समा लकडाउन,  विद्यालय र फ्याक्ट्रीहरू भने खुला !

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक १४, २०७७

गत मार्च, अप्रिल र मे महिनामा कोरोना भाइरस संक्रमणको केन्द्र बनेको युरोपमा पुनः कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको लहर तीव्र गतिमा फैलिएपछि कतिपय देशहरु प्रतिबन्धात्मक नियम लगाउने दिशातिर अघि बढ्न थालेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आगामी नोभेम्बरसम्म लागू हुनेगरी शुक्रबारदेखि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन् । यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाहिर निस्कन पाउने छन् । लकडाउनको समयमा रेस्टुरेन्ट बारहरू बन्द हुनेछन् । यो पटक विद्यालय र फ्याक्ट्रीहरू भने खुला रहनेछन् । 

फ्रान्समा गत अप्रिलपछि नै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि हुन थालेको छ भने मंगलबार एकैदिन ३३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्न थालेपछि राष्ट्रपति म्याक्रोंले पहिलो भन्दा कोरोना भाइरसको दोस्रो लहर कठिन हुने भन्दै देशले त्यस्तो खतरा नमोल्ने बताएका छन् । 

यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोना नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोना भाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन् । युरोपेली देशहरूमा संक्रमण तीव्र गतिमा फैलिएपछि धेरै देशमा कफ्र्यु लगाइएको छ । फ्रान्समा रातिको समयमा कर्फ्यु लगाएपनि सामाजिक गतिविधिलाई रोक्न असफल भएपछि पुनः लकडाउन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४८ हजार, रुसमा १८ हजार, स्पेनमा २४ हजार, बेलायतमा २३ हजार, इटालीमा २६ हजार, जर्मनीमा १९ हजार, बेल्जियममा २१ हजार, पोल्यान्डमा २० हजार, नेदरल्यान्ड्समा १० हजार संक्रमित थपिएका छन् । यस्तै रुसमा, ३६५, फ्रान्समा १३५, स्पेनमा १७३, बेलायतमा २८०, इटालीमा २१७, पोल्यान्डमा ३०१ जनाको मृत्यु भएको छ । समग्र युरोपमा २४ घन्टामा २ लाख ८० हजार संक्रमित थपिएका छन् भने २ हजार ५६६ जनाको मृत्यु भएको छ । 

युरोपेली मुलुकहरु पुनः कोरोना भाइरसको ‘हटस्पट’ बन्ने खतरा बढेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोंले महामारीको वेगलाई बढ्न नदिन ‘निर्मम तरिकाले ब्रेक’ लगाउनुपर्ने बताए । फ्रान्समा कोभिडका बिरामीको चापले अस्पतालहरूका सघन उपचार कक्षहरू आधाजसो भरिभराउ भइसकेका छन् । 

यो पटकको लकडाउनमा फ्रान्सका फुटबल गतिविधिहरु भने सुचारु हुनेछन् । घरबाट कामका लागि बाहिर निस्किन, उपचारका लागि, आफन्तलाई सहायताका लागि र घर नजिकै बाहिर हिडडुल गर्न भने पाइनेछ । यस्तै यो लकडाउनमा सार्वजनिक सेवा र उद्योगहरु खुला हुनेछन् भने अर्थतन्त्र पनि सुचारु राखिनेछ । फ्रान्समा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको लकडाउन आगामी १ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर पुनः निर्णय हुनेछ । 

फ्रान्समा हाल दैनिक ५० हजारको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिन थालेका छन् । राजधानी पेरिसमा ७० प्रतिशत शैय्याहरु कोभिड बिरामीले भरिएका छन् । 

कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि गरिएको लकडाउनको असर त्यहाँको अर्थतन्त्र र व्यापार व्यवसायका लागि अर्को ठूलो धक्का मानिएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नराम्ररी प्रभावित बनेको युरोपको अर्थतन्त्र तेस्रो त्रैमासिकमा आएर केही चलायमान बनेको थियो । फ्रान्स सरकारले सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतले गिरावट आउने अनुमान गरिसकेको छ । 

मृत्युदर ४० प्रतिशतभन्दा बढीले वृद्धि

यस वर्षको सुरुमा कोरोना भाइरसको महामारीको केन्द्र बनेको युरोपमा पुनः संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ । कोभिडका कारण मृत्यु हुनेको संख्या गत साताको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । 

फ्रान्स, स्पेन, बेलायत, नेदरल्यान्ड र रुसमा संक्रमित संख्या अत्यधिक मात्रामा बढिरहेका छन् । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४८ हजार, रुसमा १८ हजार, स्पेनमा २४ हजार, बेलायतमा २३ हजार, इटालीमा २६ हजार, जर्मनीमा १९ हजार, बेल्जियममा २१ हजार, पोल्यान्डमा २० हजार, नेदरल्यान्ड्समा १० हजार संक्रमित थपिएका छन् । यस्तै रुसमा, ३६५, फ्रान्समा १३५, स्पेनमा १७३, बेलायतमा २८०, इटालीमा २१७, पोल्यान्डमा ३०१ जनाको मृत्यु भएको छ । समग्र युरोपमा २४ घन्टामा २ लाख ८० हजार संक्रमित थपिएका छन् भने २ हजार ५६६ जनाको मृत्यु भएको छ । 

अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का धेरै संक्रमित रसिया, फ्रान्स र स्पेनमा रहेका छन् । इटालीमा २४ घन्टामा मात्रै २६ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ सोमबारदेखि नै नयाँ प्रतिबन्धहरू घोषणा गरिएको थियो । प्रतिबन्धका विरुद्ध इटलीभर प्रदर्शन समेत भएका थिए । 

युरोपको अर्को समृद्ध मुलुक बेल्जियमका अस्पतालहरूमा संक्रमित बिरामीको चाप बढेपछि संक्रमित चिकित्सकले समेत बिरामीको हेरचाह गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार युरोपमा दैनिक संक्रमितको सङ्ख्या एक तिहाइले र मृत्यु हुनेको सङख्या ४० प्रतिशतले बढेको छ । कोरोना महामारीको दोस्रो लहर पहिलोभन्दा बढी खराब रुपमा देखिने डब्लुएचओको चेतावनी  दिएको छ । 

राम्रो खबर भनेको रोगको अवस्थाबारे अस्पतालहरू पहिलेभन्दा जानकार छन् र धेरै संक्रमित गम्भीर बिरामी नहुने उमेर समूहका छन् । बेलायतको इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसहरूमा जुन महिनादेखि सेप्टेम्बर महिनाको बिचमा करिब एक चौथाइले एन्डीबडी घटेको पाइएको छ । यसले अर्को खराब अवस्थाको संकेत गर्छ ।