राहत वितरण अव्यवस्थित, पीडितको संख्‍या अझै खुलेन

राहत वितरण अव्यवस्थित, पीडितको संख्‍या अझै खुलेन

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

भलुनी । बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

हुन्डरीमा परी पटेलको टाउकोमा चोट लागेको छ। हुन्डरीमै परी घाइते नाति राजन र बुहारी मुन्नीदेवी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन्। नाति र बुहारी कहिले ठीक भएर आउनेहुन् भन्ने चिन्तामा पटेललाई रात काट्ने ठाउँ पनि चाहिएको छ। नेपाली सेनाले बुधबार एउटा टेन्ट गाडिदिएपछि उनलाई केही राहत महसुस भयो। पत्नीसहित नातिनातिनालाई त्यसमै सुताएका पटेल भने भत्केको घरको भग्नावशेषमै सानो पालको सहारामा रात काट्न थालेका छन्। लुगादेखि अन्नपात सबै हुरीले खतम बनाएपछि मेसमा गएर भोक मेटाएका उनले रातको चिसो आगो तापेर कटाउने गरेको सुनाए। लगाएको एकसरो लुगाबाहेक खाने, लगाउने मात्र नभएर पकाउने र चलाउने भाँडाकुडासमेत नभएको सुनाउँदै उनले भने, ‘के गर्ने हजुर। यही घुरको सहारामा रात कटाइरहेको छु।’ आजको नागरिक दैनिकमा खबर छ ।