प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  कार्तिक १४, २०७७

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि  २० लाख रुपैयाँ बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम शुरु भएको हो ।

सुर्नया गाउँपालिकाको सनशेरीमाण्डौंँदेखि रौलाकेदार धामको सल्म्यासम्म सडक निर्माण गर्ने लक्ष्य रहेको सुर्नया गाउँपालिका वडा नं ४ का वडाध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडीका प्रसिद्ध धार्मिकस्थलमध्ये केदारनाथ ज्योर्तिलिङ्गको रुपमासमेत रहेको रौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको हो । प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको रौलाकेदार धाममा पुग्न दर्शनार्थीलाई सजिलो होस् भनेर सडक निर्माण कार्य शुरु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो 'आस्थाको केन्द्र रौलाकेदारमा सडक पुर्‍याउनका लागि सडक निर्माण कार्य शुरु भएको छ । यसले धार्मिक पर्यटकलाई रौलाकेदारमा पुग्न सजिलो हुने विश्वास लिएका छौं ।'

भगवान शिवका १२ ज्योर्तिलिङ्गमध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले यसअघि नै बताइसक्नुभएको छ । रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको र यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकलाई भित्रयाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो 'रौलाकेदार भनेको केदारनाथ ज्योर्तिलिङ्ग भनेर हामीले सम्झिनु पर्दछ । केदारनाथको दर्शन गर्नका लागि रौलाकेदार पुगे भइहाल्छ ।'

प्रचारप्रसार र रौलाकेदारसम्म पुग्ने सडक अहिलेसम्म नबन्दा रौलाकेदार धाम ओझेलमा रहेको भए पनि पर्यटकीय सडक मार्ग निर्माणले केही उत्साह थपिएको स्थानीय रामबहादुर महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'यो सडकले रौलाकेदारको दर्शन गर्न जानेको सङ्ख्या बढ्नेछन् ।' रौलाकेदारमा श्रावणभर दर्शनार्थी जाने गरेका छन् भने कात्तिक शुक्ल अष्टमीका दिन जात्रा समेत लाग्ने गरेको छ । पर्यटन सडक निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो 'पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ।'