बन्धकीमा वकालत पेसा : ठुलो हुने कि असल वकिल बन्ने !

बन्धकीमा वकालत पेसा : ठुलो हुने कि असल वकिल बन्ने !

प्रदिप थापा  |  दृष्टिकोण  |  कार्तिक १४, २०७७

पृष्ठभूमि

कानुनी क्षेत्रलाई भनिने ‘ल’शब्द ल्याटिन भाषाको ‘लेक्स’ भन्ने शब्दबाट आएको हो । यो सामाजिक विज्ञानको सबभन्दा पुरानो शब्द पनि हो । विश्वमा कानुन व्यवसायीको  इतिहास २००० वर्ष पुरानो रहेको छ । दार्शनिकहरूले प्रकृति, धर्म, नैतिकता, सामाजिक तथ्य आदिको आधारमा कानुनको परिभाषा  गरेको पाइन्छ । सामाजिक तथ्य, परम्परा, उपयोग, मापदण्डको ऐतिहासिक विकासको परिणामको आधारमा कानुनको मस्यौदा हुँदै आएको छ । कानुन व्यवसायी पेसा संसारभर धेरै सम्मानित, प्रतिष्ठित र  मर्यादित पेसाका लिइन्छ । विश्व इतिहासमा नाम लेखिएका धेरै राजनीतिज्ञहरू वकिल हुन र त्यसैले वकिलहरू वास्तवमा  नै इतिहासको निर्माताको रूपमा लिइन्छ । 

कानुनी व्यवसायी पेसा

नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा २२ अनुसार वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई सर्वोच्च अदालतलगायत नेपालका जुनसुकै अड्डा अदालत वा अधिकारीका समक्ष आफ्नो पक्षका तर्फबाट उपस्थित हुने,  पैरवी गर्ने र बहस गर्ने अधिकार हुनेछ भनी व्यवस्था गरिएको छ । 

नेपालको संविधान २०७२ मा मौलिक हकको न्यायसम्बन्धी हकमा असमर्थ पक्षलाई कानुन बमोजिम निःशुल्क कानुनी सहायता पाउने हक हुने भनी उल्लेख गरिएको छ । यदि कुनै व्यक्तिले पैसा नभएकै कारण आफूमाथि लागेको मुद्दाको प्रतिरक्षा गर्न नसकेमा सरकारले नै उसको पक्षमा कानुन व्यवसायीको व्यवस्था गरिदिने व्यवस्था समेत गरिएको छ । नेपालको संविधानको मौलिक हकमा उल्लेखित न्यायको हकमा रोजेको कानुन व्यवसायीसँग पुर्पक्ष गर्न पाउने हक दिइएको छ । संविधानको धारा २० को उपदफा (२) मा लेखिएको छ, ‘पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन, पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुनेछ ।’

संविधानको धारा २० को (५) मा लेखिएको छ, ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुर दार मानिने छैन ।’ अर्थात् अदालतले फैसला नगर्दासम्म अभियुक्त निर्दोष नै मानिन्छ । कसैले आफूमाथि लगाएको अभियोग लगाए पनि आफू निर्दोष भएको प्रमाण पुर्‍याएमा उसले सजायबाट छुटकारा पाउँछ । त्यसका लागि उसलाई कानुनको ज्ञान भएको मान्छेको सहायता र राय चाहिन्छ र वकिलको आवश्यकता पर्दछ । 

सर्वोच्च अदालतले यस भन्दा अगाडि पहुँचको आधारमा वरिष्ठ अधिवक्ता वितरण गरेसँगै वरिष्ठ अधिवक्ताहरू ठुला वकिलहरू नै मात्र वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको भन्ने वकिलहरू पनि धेरै छन् । हाम्रो समाज यसरी विकास हुँदै आएको छ कि सम्पत्ति कमाउनु नै मानिसको सफलताको मापन बन्न पुगेको छ । यस्तो मापनले गर्दा पनि नव कानुनी व्यवसायीहरूलाई असल वकिल बन्नु भन्दा पनि ठुलो वकिल बनेर धन सम्पत्ति कमाउन तिर अग्रसर हुँदै आएका छन् ।

कानुनी व्यवसायी पेसा प्रतिको मोह

कानुनी व्यवसायी पेसा आजको रोजगार बजारको सबैभन्दा आकर्षक पेसा मानिन्छ ।  देशभर उद्योग, कल कारखाना तथा व्यापार व्यवसायको बुद्धिले गर्दा पनि कानुन व्यवसायीको पेसा आज राम्रो कमाई हुने मध्यको एउटा पेसा भएको छ । पहिले–पहिलेका वरिष्ठ अधिवक्ताहरूको कुरा सुन्दा लाग्छ यो पेसामा एक दम दुःख, मिहिनेत र सधैँ पढी रहनु पर्ने पेसा हो । एक दम दुःखी पेसा भएको हुँदा सामाजिक सेवा भावना भएको व्यक्ति मात्र यो पेसा टिकिरहन सक्छ । उदाहरणको लागि २०५५ देखि २०६५ को एक दशकमा यो पेसा प्रति आफ्नो भविष्य निर्माण गर्ने युवा विधार्थीहरुको जमात एकदम न्यून थियो । तर आज नेपालभरका ल कलेजहरूमा पढ्नको लागि हजारौँ विधार्थीहरुको आवेदन तथा नेपाल ल क्याम्पसमा दशौँ हजार विधार्थीहरुको आवेदनले पनि यो कुरालाई पुष्टि गर्दछ । यो पेसा सम्मानित पेसाको रुपमा विकास भइरहेको छ ।  तर यसरी दिन प्रति दिन कानुन व्यवसायी पेसा प्रति उत्साह बढेसँगै यसमा विकृतिहरू पनि मौलाउँदै गएको पाइन्छ । 

कानुनी व्यवसायी पेसा कता जादैछ ?

काँग्रेस, कम्युनिस्ट, मधेसी दल, राप्रपाका वकिल भनेर चिन्ने मात्र होइन कि यहाँ जातिगत वकिलको नामले पनि कति कानुन व्यवसायीहरूको नाम चर्चामा ल्याउन थालिएको छ । कुन जातको व्यक्तिले कुन जातको वकिल राख्ने भन्ने ‘चलन’ बिस्तारै बढ्दै गइरहेको छ । ठुला घरानीयसँग जोडिएका मुद्दामा त प्रत्येक राजनीतिक दलबाट एक जना वकिल नियुक्ति गर्ने विषय झन् गम्भीर भएको छ जसले गर्दा न्यायाधीशहरुलाई फैसला नै उनीहरूको पक्षमा गर्न दबाब सिर्जना हुने गरेको छ । अझ त्यति मात्र होइन मुद्दाको हार–जितसँगको सम्भावनाको आधारले मुद्दा नै ठेक्का लिने प्रथा पनि बिस्तारै विकास हुँदै छ र मुद्दा ठेक्का लिने वकिलले नै एक दर्जन वकिल बुक गर्ने र लाखौँ पारिश्रमिक वितरण गर्ने गरेको पाइन्छ । 

आज वकिलहरूले लाखौँ रुपैयाँ फि लिइरहेका छन् र उनीहरू दुई मिनेटमा उपस्थित हुन्छन्, अगाडि बोल्ने वकिलले बोलेका कुरा दोहोर्‍याउँछन् । वरिष्ठ अधिवक्ताहरुनै अल्छी भएका छन् । बिस्तारै नयाँ वकिलको अनुसन्धान गर्ने, पढेन, मिहिनेत गर्न भन्दा  बिचौलियाको रुपमा आफूलाई विकास गर्ने आतुरता भएको देखिन्छ । यसले नयाँ वकिलहरूलाई  'A Good Lawyer Knows the Law but a Great Lawyer Knows the Judge' भन्ने बाटो हिँडाउने प्रस्ट देखाउँदैछ। 

अहिले नव प्रवेश कानुन व्यवसायीहरूलाई ठुलो वकिल बन्नु परेको छ । उनीहरूको भाषामा ठुलो वकिल हुनको लागि मासिक लाखौँ रुपैयाँ कमाउने, गाडी, महल, देश, विदेशको यात्रा, टेलिभिजन र मिडियामा सधैँ देखिने र कुनै राजनीतिक दलको पिठुवा भएर सो दलको वकालत गर्ने वकिललाई ठुलो वकिलको स्थानमा राखिने प्रचलन बढ्दो क्रममा छ । कानुन व्यवसायी पेसाबाट नै महंङ्गो गाडी चढेन, फाइभ स्टार होटेलमा बैठक गर्ने र न्यायाधीश तथा सरकारी कर्मचारीहरू मुद्दामा  कसरी सेटिङ्ग गर्ने ? नयाँ वकिलहरूको ध्यान जान थालेको छ । सर्वोच्च अदालतले यस भन्दा अगाडि पहुँचको आधारमा वरिष्ठ अधिवक्ता वितरण गरेसँगै वरिष्ठ अधिवक्ताहरू ठुला वकिलहरू नै मात्र वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको भन्ने वकिलहरू पनि धेरै छन् । हाम्रो समाज यसरी विकास हुँदै आएको छ कि सम्पत्ति कमाउनु नै मानिसको सफलताको मापन बन्न पुगेको छ । यस्तो मापनले गर्दा पनि नव कानुनी व्यवसायीहरूलाई असल वकिल बन्नु भन्दा पनि ठुलो वकिल बनेर धन सम्पत्ति कमाउन तिर अग्रसर हुँदै आएका छन् ।

असल वकिल बन्नको लागि ल कलेजहरूले पनि प्रेरित गर्नु पर्दछ । असल वकिलमा हुनु पर्ने गुणहरू ल कलेजका प्रारम्भिक दिनहरूबाट नै शिक्षित गरे पक्के पनि कानुनी व्यवसायी पेसाका भविष्य उज्ज्वल हुने छ । मैले यस्ता कानुन व्यवसायीहरु पनि देखेको छु जसले आफूले गरेको काममा गर्व गर्छन् र आर्जन गरेको ख्याति कसरी जोगाउने भनेर मुद्दाहरू हेर्न छाडेका छन् ।  असल वकिल हुनुको लागि पेसागत मर्यादा भित्रै रहेर, उच्च नैतिक चरित्र र आफ्नो इमानलाई साक्षी राखेर काम गर्ने अठोट लिई काम गर्नु पर्दछ । धनीको वकिल भन्दा पनि गरिबको वकिल, न्यायको लागि वकिल, समानताको लागि वकिल, लोकतन्त्रको लागि वकिल हुनु पर्नेमा यहाँ वकिलको पेसा नै बन्धकी राखी वकालत गर्नेहरु बिगबिगि बढ्दाे छ ।  

अन्तमा 

२०६५ सालमा वकालत पेसामा प्रवेश गर्दा मेरो ल फर्मका गुरुले भनेको कुरा अहिले पनि सम्झना आईरहेन्छ, Work Work- No Money, More Work-Little Money, Work-Money (Equal), Less Work-More Money, No Work- Money Only गरि वकालतको तथा वकिलको चार वटा चरणहरु हुन्छन् । तर अहिलेको कानुनी व्यवसायीहरूले  NO WORK -ONLY MONEY  को पछि मात्र दौडने आचरण हाबी हुँदै आएको सर्वत्र महसुस हुन थालिएको छ । साँच्चै वकालत पेसा एक जिम्मेवारीको पेसा हो, यसले कसैको जीवन र सम्पतिसँंग जडिएर काम गर्नु पर्दछ । त्यसैले असल वकिल बन्नको लागि सबैलाई प्रेरणा दियौँ ।