छन्दका साधक, सर्जक, उपासक अनि अभियन्ता कवि रमेश खकुरेल

छन्दका साधक, सर्जक, उपासक अनि अभियन्ता कवि रमेश खकुरेल

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कार्तिक १५, २०७७

काव्यको ज्ञान हो उहाँ, छन्दको हो चेतना
काव्यमै छ साधना आखिर, छन्दमै मस्त ‘मस्ताना’ 
छन्दका सर्जक, अभियन्ता, छन्दकै हो भेल
खण्डकाव्य, महाकाव्य, छन्दकै मूल हो खकुरेल 

                                        –आशिष पौडेल 

यी माथिका पङ्क्ति पङ्क्तिकारका भए पनि छन्दोबद्ध कविताको उत्थान, पुनर्स्थापना तथा विकासका साथै काेक गाेष्ठीकाे अध्यक्षकाे रूपमा रजत जयन्ती मनाइसक्नु भएका कवि रमेश खकुरेलका सन्दर्भमा भने अत्युक्ति होइन । 

नेपाली छन्दोबद्ध कविता विधाका सशक्त हस्ताक्षरको परिचय मात्रमा सीमित गरे उहाँमाथि अन्याय हुन जान्छ । त्यस कारण नेपाली छन्दोबद्ध कविताको उहाँ ऊर्जा हो, उचाइ हो र आन्दोलन पनि । शायद यसकारण नै हाेला वासु शशी प्रतिष्ठानबाट उहाँले ‘आधुनिक आशुकवि’को उपाधि समेत प्राप्त गर्नु भएकाे छ । 

एक प्रकारले भन्नुपर्दा करिब करिब मुर्झाउन आँटेको छन्दको प्रयोगलाई उहाँले एउटा नयाँ धरातल प्रदान गर्नुभएको छ । यति मात्र होइन उहाँले छन्दको एउटा आँधीबेहरी नै सृजना गर्नुभएको छ । 

जसको झोँकाको प्रभाव स्वरूप नेपाली साहित्यमा यतिखेर छन्दोबद्ध कविता लेख्ने लहर नै चलेको छ । छन्दका नयाँ नयाँ सर्जक जन्मिएका छन् । पछिल्लो समय त उहाँको यस छन्द अभियानमा साथ दिन थुप्रै स्रष्टा जुटेका छन् । 

यसले कुनै बेलाको नेपाली साहित्यको मानकको रूपमा चिनिएको छन्द कविताले पुनर्जीवन नै पाएको छ भन्दा अन्याय नहोला । 

यस आलेख उहाँको यो व्यक्तित्व निर्माणका कथादेखि जीवनका अन्य भोगाइको सार संक्षेप समेत हो । 

केही पारिवारिक कुरा 

उहाँको बुवा पूर्व एक नम्बर काभ्रेपलान्चोकबाट तेह्र वर्षको उमेरमा भागेर काठमाडौँ आउनुभएको हो । पछि उहाँ नरदेवी आयुर्वेद अस्पतालको मुख्य कविराज हुनुभयो । उहाँले चन्द्र शमसेरका पालामा नियुक्ति भएर टङ्कप्रसाद आचार्यको पालासम्म छत्तीस वर्ष सरकारी सेवामा बिताउनु भयो । कविराज बन्नुको पनि बडो रमाइलो कहानी छ उहाँको बुवाको । 

शालिग्राम पुजारी बाजे

उहाँको बुवा काठमाडौँमा भए पनि नित्य शालिग्राम पूजा गरेर मात्रै खाना खाने । काठमाडौँमा सधैँ फूल कहाँ पाउनु । उहाँ भिमसेनस्थान मुनि विष्णुमतीपारि एक जना नानक मठको महन्तको फूलबारीमा सधैँ फूल चोर्न जाने गर्नुहुन्थ्यो । यसरी दैनिक जाँदा उहाँ एक दिन समातिनु भयो । महन्तले केरकार गरेर के गर्छौ भन्दा तर्क शास्त्र पढ्छु भनेपछि यसले केही दिँदैन, बरु म तिमीलाई आयुर्वेद पढाइदिन्छु भनेर आयुर्वेद पढाइदिनु भएको रहेछ । 

महन्तले बनाएका कविराज 

पछि महन्तले चन्द्रसमशेरकोमा लगेर, महाराज यो मेरो चेलो अब तयार भएको छ भनेर आयुर्वेदको कविराज तथा शिक्षक समेत बनाएर राखिदिनु भयो । त्यो भनेको हालको नरदेवी आयुर्वेद अस्पताल हो । पहिले भने त्यो आयुर्वेदीय औषधालय तथा विद्यालयको नामले चिनिन्थ्यो । र, त्यसको आफ्नो भवन समेत थिएन । 

जुद्धसमशेरको जलोदर

एक पटक जुद्धसमशेर जलोदरको समस्याले निकै ठुलो बिरामी पर्नुभयो । झन्डै मृत्युकै मुखमा पुग्ने गरीकै बिरामी । उहाँले अजयपाल विष मिसाएको औषधि दिनुभयो । चन्द्र शमसेर त्यस बेला विष दियो कविराजले भनेर असाध्यै रिसाउनु पनि भयो रे ! तर, उहाँले विष मिसिएको भए पनि यस किसिमको औषधि पहिले अरूलाई पनि दिइसकेको हुनाले यो औषधि दिएको हो भन्नुभयो । औषधिले जुद्धसमशेरको ज्यान जोगियो । 

नरदेवी अस्पतालको कुरा

पछि जुद्धसमशेर श्री ३ भएपछि खुसी भएर हाल नरदेवी अस्पताल रहेको करिब सत्र रोपनी जग्गा र पैसा समेत बक्सिस दिने भए । त्यो जग्गामा सरकार लागेको रहेछ । तर, उहाँको बुवाले आयुर्वेदको आफ्नो भवन तथा जग्गा छैन त्यसैले यो मलाई भन्दा पनि आयुर्वेद अस्पताललाई दिनुस् महाराज भनेपछि हालको नरदेवी आर्युेवेद औषधालय तथा अस्पतालको सूत्रपात भएको हो । 

गणबहालको घर र निःशुल्क औषधि

केही समय उहाँहरू डेरामा पनि बस्नु भयो । तर, पछि भने उहाँको बुबाले गणबहालमा करिब तेह्र रोपनी जग्गामा पुरानो दरबार जस्तो घर बनाउनु भयो । जुद्धसमशेरले सप्तरीमा बिर्ता पनि दिएका थिए त्यसबेला । उहाँको बुवाले बिरामी हेरेबापत फी कहिल्यै लिनुभएन । र, औषधिको हकमा पनि यस्तै । औषधि बेचेर पनि कहिले पैसा लिनुभएन । कसैले दिए लियो नत्र सेवा नै परम धर्म । औषधि बनाउन मात्र उहाँले घरमै एक जना बैद्य र दुई जना खल कुट्ने घरमा काम गर्न राख्नु भएको थियो । ती सबैलाई तलब दिएर राखिएको थियो । 

औषधि लिन मान्छे आइरहन्थे । बुवा भएका बेला बुवाले नभए बैद्यले जाँचेर औषधि दिन्थे । पैसा दिए ठिकै छ नत्र मागेर लिने चलन थिएन । 

माता त्रय

उहाँको बुवाको तीन परिवार, अर्थात् तीन श्रीमती । जेठी आमाबाट दुई दाजु । जेठो दाजु पढेर आउने बित्तिकै बित्नुभयो । अर्को दाजुको भने ग्यांग्रिन (बाेन टिबी) भएर खुट्टा काट्नु पर्‍यो । 

उहाँको पलान्चोकमा पनि जग्गा थियो । अर्की आमा पहाड नै बस्न मन पराउने । उतै हुनुहुन्थ्यो । बुवालाई यता व्यवहारमा समस्या पर्‍यो भनेर नुवाकोट थानसिङको पाठकको छोरी बिहे गर्नुभयो । उहाँबाट कुनै जायजन्म भएन् । र पछि उहाँ बित्नुभयो । 

पछि उहाँको आमासँग बिहे भयो । नुवाकोटमै । उहाँबाट भने पाँच दाजुभाइ र पाँचै दिदीबहिनी भए । उहाँ भने माहिलो । 

उहाँको बुवा सामान्यतया रातको नाै बजे सुत्नुहुन्थ्यो । तर, राति दश, एघार बजे कविराज बाजे भन्दै ढोकामा हान्न आइपुग्थे । अनि उहाँ घोडा लिएर बिरामी हेरेर औषधि दिएर रातको बाह्र बजे फर्कनुहुन्थ्यो । 

फेरि तीन बजे उठेर प्राणायाम गरेर चार बजे बाग्मती नुहाउन पचली जानुहुन्थ्यो । अनि घर फर्केर पूजा, तर्पण, हवन गर्दा प्रायः आठ बज्थ्यो । यो उहाँको नित्यकर्म थियो ।

भारतमा काँग्रेसले तालिम केन्द्र खोलेको छ रे ! त्यसको खबर पत्ता लगाउन हाम्रा दुई जना विद्यार्थी पठाउनु पर्‍यो भन्नुभयो । त्यसका लागि कति लिन्छन् होला भनेर उहाँलाई सोध्नुभयो । उहाँले हजार भन्दा कममा त कसले काम गर्ला र महिनाको भन्नुभयो । त्यसो भए तपाईँले दुई हजारको व्यवस्था गर्नुपर्‍यो भन्नुभयो । चार सय खाने कर्मचारीले कहाँबाट दुई हजारको व्यवस्था गर्नु उहाँले भन्नुभयो । उहाँले उसो भए भैगो भन्नुभयो भन्न त ! तर, राजाको भ्रमणको क्रममा यो एकदमै घुस्याहा हो भनेर कुरा लगाइदिएछन् । अनि स्पष्टीकरणको मौका समेत नदिई विभागले एकै पटक खोसुवाको पत्र पठायो उहाँलाई ।

जमानीको फन्दा

कमल पोखरीका एक जना हरेराम ज्ञवालीले उहाँको बुवासँग व्यापार गर्न भनेर केही पैसा माग्नुभयो । उहाँको बुवाले आफूसँग नभएका कारण     क्षेत्रपाटीका व्यापारी चेतकृष्ण बेलकृष्णसँग आफू जमानी बसेर ऋण लिइदिनुभयो । 

कपाली तमसुक त ज्ञवालीसँग पनि गरिएको थियो । तर, ज्ञवालीको व्यापार डुब्यो । पैसा तिर्न सकेनन् र मनसाय पनि गरेनन् । माग्न जाँदा दुःख देखाउने हुनाले उहाँको बुबाले कडाइ गर्न पनि सक्नुभएन । 

र, केवल आफू जमानी बसेका कारण उक्त ऋण तिर्न गणबहालको घर बेच्नुभयो । र केही समय डेरामा गुजारेपछि हाल उहाँ बस्दै आएको कमल पोखरीको घर नै उहाँहरूको स्थायी बसोबास बन्दै आएको छ । 

जन्म र बाल्यकाल 

उहाँको जन्म विसं १९९९ सालमा भएको हो । तर, एसएलसी अर्थात् पूर्व मध्यमा दिन उमेर नपुगेकोले आधिकारिक रुपमा उहाँ दुई वर्ष बुढो हुन बाध्य हुनुभयो । अर्थात् १९९७ साल । 

उहाँको बुवाले आफ्नो ज्ञान, विद्या र परम्परा हराउने भयो अब गुरुकुल परम्परा ब्युँताउनु पर्छ भनेर योगी नरहरीनाथ, बुद्धिसागर पराजुली तथा बालकृष्ण सम समेत मिलेर बुढानीलकण्ठमा एउटा ब्रह्मचर्य आश्रम खोल्नुभयो । त्यो आश्रम करिब तीन वर्ष जति चल्यो । 

पछि भने त्यो आश्रम पशुपतिमा सारियो । भोलानाथ पौडेल, ज्ञानमणि नेपाल, देवराज पौडेल र अग्निहोत्रको काम गर्ने एक जना गुरुसहित उहाँ पनि उक्त आश्रममा जानुभयो । केवल पाँच वर्षको उमेरमा । 

मोहन समशेरको जन्मदिन

२००६ सालमा गुरुले केटा हो कविता लेख भन्नुभयो । मोहन समशेरको जन्मदिनका अवसरमा । उहाँ त्यस बेला सात वर्षको हुनुहुन्थ्यो । उहाँहरू करीब बीस जना सबै जानुभयो सिंहदरबार । 

पहिलो चोकमा उहाँहरू पश्चिम फर्केर बस्नुभयो । दुई तला माथिबाट मोहन समशेरले दर्शन दिनुभयो । सबैले स्वस्ति महाराज भने ।

उहाँको बुबाले यी केटाहरूले कविता लेखेका छन् महाराज भन्नुभयो । मोहन समशेरले माथि पठाउनु भन्नुभयो । आठ पहरियाले डोरीमा बानेर झोला झारिदिए । अनि झोलामा हालेर कविता पठाइयो । 

चार सय इनामको कविता

उहाँको बुवाले यो सात वर्षको केटोले पनि लेखेको छ महाराज भन्नुभयो । अनि मोहन समशेरले ल सुनाउनु भन्नुभयो । उहाँले पनि कड्केर सुनाउनु भयो । जम्मा एक श्लोक थियो । मोहन समशेर खुसी भएर ल एक/एक लाइनको एक/एक सय दिनु भन्नुभयो । यसरी उहाँले संस्कृतको छन्द कविताबाट छ सालमा चार सय इनाम पाउनु भयो । त्यो पनि सात वर्षकै उमेरमा । शायद, यो नै उहाँको छन्द प्रतिको लगावको पहिलो आकर्षण थियो । 

समितिले कुन कुन परीक्षा विद्यार्थीले पास गरेको भन्ने देखिनु पर्‍यो भन्ने । गुरुहरू हामीले ज्ञानका लागि पढाएका हौँ भन्ने । यसै विषयमा सञ्चालक समिति र गुरुहरूमा सामान्य मतान्तर देखियो । गुरुहरू सबैले छोडेर जानुभयो । उहाँ पनि त्यसपछि आश्रम छोडेर निस्कनु भयो । 

शान्ति विद्यागृह 

आश्रमबाट निस्किएपछि उहाँ शान्ति विद्यागृहमा पढ्न थाल्नुभयो । तीन कक्षामा भर्ना हुनु भयो । दोस्रो पनि हुनुभो । अनि कक्षा फड्केर पाँच कक्षामा जानुभो । अनि छ कक्षा सकेपछि दरबार स्कुलको तल संस्कृतमा बुवाले लगेर भर्ना गरिदिनु भयो । एकै पटक पूर्व मध्यमा दिने भनेर । पूर्व मध्यमा भनेको एसएलसी सरह हो । बरु अंग्रेजी इच्छाधीन लिने भनेर । 

पूर्वमध्यमा पछि संस्कृत महाविद्यालयमा उत्तर मध्यमा पढ्न थाल्नुभयो । सँस्कृत मूल साहित्य साथमा अंग्रेजी इच्छाधीन पनि । 

एसएलसी

दरबार हाइस्कूलमै राति पढाई हुने आदर्श विद्यापीठबाट एसएलसी पनि गर्नुभयो । सेकेन्ड डिभिजन आयो एसएलसीमा उहाँको । कुन बेन्चमा बस्ने भन्ने खासै चासो रहेन उहाँ भन्नुहुन्छ । 

संस्कृत र साइन्ससँगै पढ्ने हामीले देखेका छैनौँ भनेर साथीले भनेपछि उहाँले मनमनै म यो गरेर देखाइदिन्छु भन्ने लाग्यो । अनि उहाँ भर्ना हुनुभयो पब्लिक साइन्स कलेज अर्थात् अहिलेको अमृत साइन्स कलेजमा । 

यता उहाँले शास्त्री सकाउनु भयो । उता बिएस्सी पढ्दै हुनुहुन्थ्यो । अनि निजामतीमा शाखा अधिकृतको आवेदन खुल्यो । पचहत्तर जना मागेको थियो । लिखित परीक्षा थिएन् । अन्तरवार्तामा उहाँ छनौट हुनुभयो । नौ सय जनाले भाग लिएका थिए अन्तरवार्तामा । 

पहिलो जागिर 

अनि २०२२ सालमा उहाँको जागिर भयो टक्सार विभागमा । बिहान छ बजेदेखि बेलुका छ बजेसम्म हुन्थ्यो जागिर । ओभर टाइमको पनि पैसा पाइन्थ्यो । दिउँसो एक घण्टा खाना खाने समय पनि दिन्थे । 

दुई वर्षसम्म जागिर गर्नुभयो टक्सार विभागमा । तीन महिना तालिम थियो । तलब दुई सय पचास भन्ने थियो । तर, तालिमको दौरान नै तलब चार सय भयो । 

विवाह 

उहाँको विवाह २०२३ सालमा भएको हो । मागी विवाह । पूर्व मन्त्री पुष्करनाथ उप्रेतीको छोरी । उहाँको एक छोरा अनि एक छोरी । अहिले दुबै अमेरिकामा हुनुहुन्छ । छोरा अमेरिकाको भर्जिनियामा हुनुहुन्छ भने छोरी सिन्सिनाटी । 

विराटनगर सरुवा

दुई वर्षपछि दरबन्दी छटनीमा परेर उहाँको सरुवा कर कार्यालय विराटनगरमा भयो । पाटनका केदार बहादुर अमात्य हाकिम थिए । उहाँ भने शाखा अधिकृत । 

आयकर, बिक्रीकर र मनोरञ्जन कर हाकिमले हेर्थे । बाँकी घरजग्गा कर, घरबहाल कर, ठेक्का कर, हवाई उडान कर, विदेशी लगानी कर र होटेल कर गरी छ वटा कर उहाँले हेर्नुपर्थ्यो । 

घरजग्गा कर लगायत अन्य करको हिसाब कम्ता झन्झटिलो हुँदैनथ्यो । त्यो पनि केही नभएका बेला । अनि उहाँ भन्दा अघिका कर्मचारीले अग्रिम दाखिला गर् भनेर कर तिराउँदा रहेछन् अन्दाजका भरमा । फाइलका चाङै चाङै । यसरी भएन भनेर उहाँले दिनको दश वटासम्म फाइलको फरकफारक गरिदिनु भयो । हाकिम खुसी भए । उहाँले त्यहाँ दुई वर्षसम्म काम गर्नुभयो । 

उहाँले विवाह गर्दा पाँच हजार रुपैयाँ सापटी लिनुभएको थियो । सबै कटाउँदा उहाँको हातमा केवल एक डेढ सय पर्थ्यो । यसरी भएन भन्ने लाग्यो उहाँलाई । 

शिक्षक पनि 

भरत मोहन अधिकारीका दाजु जगत मोहन अधिकारी राष्ट्रिय विद्यालयका हेडसर हुनुहुन्थ्यो । उहाँले बिहान एक पिरियड पढाउने व्यवस्था मिलाइदिनु भयो । अनि दिउँसो अफिस। फेरि बेलुका आदर्श विद्यालयमा पढाउन थाल्नुभयो । राति आदर्श महाविद्यालयमा पनि पढाउन थाल्नुभयो । 

राजविराजको आठ लाख

पछि उहाँलाई राजविराज खटाइयो । राजविराजमा तीन वर्षदेखि एक हजार पनि कर बढाउन नसकेको अवस्था रहेछ । सबै गर्दा वार्षिक तीन लाख भन्दा केही धेरै थियो कर । उहाँले चार वर्ष बस्दा त्यसलाई चार लाख हुँदै आठ लाखसम्म पुर्‍याउनु भयो । 

सप्तरीमा भएको आफ्नै मौजामा उहाँको बुवाआमा बस्नुहुन्थ्यो । त्यहाँ भएपछि उहाँलाई दाल चामल मौजाबाटै आउँथ्यो । भ्रष्टाचार गर्नुपर्ने कारण नै थिएन् । 

ज्याउल हकको चलाखी र खोसुवाको पत्र

त्यस बखत अञ्चलाधीश थिए ज्याउला हक । उहाँ अञ्चलाधीश भएर आएपछि भारतमा काँग्रेसले तालिम केन्द्र खोलेको छ रे ! त्यसको खबर पत्ता लगाउन हाम्रा दुई जना विद्यार्थी पठाउनु पर्‍यो भन्नुभयो । त्यसका लागि कति लिन्छन् होला भनेर उहाँलाई सोध्नुभयो । उहाँले हजार भन्दा कममा त कसले काम गर्ला र महिनाको भन्नुभयो । त्यसो भए तपाईँले दुई हजारको व्यवस्था गर्नुपर्‍यो भन्नुभयो । चार सय खाने कर्मचारीले कहाँबाट दुई हजारको व्यवस्था गर्नु उहाँले भन्नुभयो । उहाँले उसो भए भैगो भन्नुभयो भन्न त ! 

तर, राजाको भ्रमणको क्रममा यो एकदमै घुस्याहा हो भनेर कुरा लगाइदिएछन् । अनि स्पष्टीकरणको मौका समेत नदिई विभागले एकै पटक खोसुवाको पत्र पठायो उहाँलाई । कसैले अदालत जाने सल्लाह दिए । कसैले भनसुन गर्न भने । तर, उहाँले अब म जागिर खान्न आफ्नै काम गर्छु भन्ने अठाेट गर्नुभयो । 

अधिकृतबाट चालक

अब जागिर छोडेपछि के गर्ने त भनेर एक जना मारवाडी साथीले सोध्नुभयो । उहाँले मलाई एउटा ट्रक ऋणमा उपलब्ध गराइदेऊ भन्नुभयो । अनि उक्त साथीले नेपाल बैङ्कमा गएर जमानी बसेर ट्रक उपलब्ध गराइ दिनुभयो । 

यहाँबाट जाने भनेकै वीरगन्ज थियो त्यस बेला । उहाँले दुई वर्ष आफैँले ट्रक समेत चलाउनु भयो । त्यस बेला भैरहवा, धनगढी, विराटनगर जहाँ जानुपरे पनि रक्सौल हुँदै भारत भएर जानुपर्थ्यो । 

बाहिरबाट आएको सामान कलकत्ता भएर भित्र्याउने काम पनि गर्नुभयो । त्यस बेला वीरगन्जदेखि काठमाडौँको भाडा समय हेरेर हुन्थ्यो । सात सयदेखि चौध सयसम्म हुन्थ्यो । सामान नहुने बेलामा भाडा घट्थ्याे  भने हुने बेलामा बढ्थ्याे । 

टुक्रा टुक्रा ट्रक

उहाँले कलकत्ताबाट सामान ओसार्न थालेपछि आफ्नो ट्रकमा सामान ल्याउनु भन्दा उतैको ट्रकमा ल्याउनु सस्तो पर्ने थाहा भयो । उहाँले त्यसै गर्न थाल्नुभयो । यताको ट्रक भने आफूले अह्राई सिकाई गरेर ड्राइभर बनाएको खलासी केटाेले खसालिदियो । फेरि त्यो ट्रक झिकेर टुक्रा टुक्रा वीरगन्जमा लगेर जोडेर बनाउनुभयो । यसले उहाँलाई इन्जिनियरिङ सिकायो । ट्रक त बन्यो तर, त्रिभुवन राजपथको बाटोमा त्यसले अरु ट्रकले जस्तो लोड लिएर हिँड्न सकेन । अनि उहाँ त्यो ट्रक लिएर धनगढी जानुभयो । 

धनगढीको यात्रा

धनगढीमा उहाँले खोलाको ढुङ्गा क्रसरमा हाल्ने काम पाउनु भयो । अब पुरानो ट्रक पार्टस त चाहिरहन्छ । लिन कति धाइरहने भनेर उहाँले पार्टसको पसल नै खोल्नुभयो । अनि वेल्डिंग, लेथको काम पनि गरिरहनु पर्ने भएर आफैँले एउटा वर्कशप पनि खोल्नुभयो । 

उहाँ तीन वर्ष धनगढी बस्नुभयो । उहाँले त्यहाँ घर पनि बनाउनु भएको थियो । घर त बनाउनु भयो ट्रकले बोक्ने सामान नै ज्याला लिएर । तर, ढलान गर्न भने एकमुष्ट पैसा चाहिने भयो । त्यसपछि घर नै बेचेर काठमाडौँ आउनु भयो । काठमाडौँ आएर ट्रकको क्राइंग भाँचियो । त्यसपछि ट्रक नै बेच्नुभयो । 

कुलेश्वरको कारखाना

अनि उताको कारखाना पनि कुलेश्वर सार्नुभयो । ०३६ सालदेखि ०४५ सालसम्म नौ वर्ष चलाउनु भयो कारखाना । त्यो बेलामा ढुङ्गेअड्डामा एक रोपनी दुई आना जग्गा पनि किन्नुभयो । घर बनाउनु भो । कारखाना र पसल पनि त्यतै सार्नुभयो । त्यसपछि बाह्र वर्षसम्म त्यहाँ पनि उक्त कामले निरन्तरता पायो । 

त्यसपछि छोराछोरीको बिहे आदिको कर्म पनि सकाउनु भयो । अब जति दुख गरे पनि यस्तै हो भनेर त्यहाँ रहेको घरजग्गा पसल सबै बेचबिखन गरेर अहिले कमल पोखरीको घरमा फेरि आफ्नै लेखन कर्ममा रमाइरहनु भएको छ । 

सङ्घसंस्थामा संलग्नता 

उहाँको साहित्यिक पत्रकार सङ्घदेखि बाल साहित्य समाज, वाणी प्रकाशन, सिस्नु पानी नेपाल, कोक गोष्ठी परिवार लगायत करिब दर्जन संस्थामा उहाँको संलग्नता रहेको छ । तर, सक्रियता भने नेपाल सांस्कृतिक सङ्घ तथा नेपाली शिक्षा परिषद्मा रहेको छ ।  छन्दको मानकीकरणका लागि गठन गरिएको कोठे कवि गोष्ठी अर्थात् कोक गोष्ठीको उहाँ अध्यक्ष समेत हुनुहुन्छ । 

पुरस्कार तथा सम्मान 

२००६ सालमा सात वर्षको उमेरमा मोहन समशेरलाइ कविता सुनाएर चार सय रुपैयाँ पुरस्कार प्राप्त गरेर सुरु भएको पुरस्कारकाे सिलसिला अहिले पनि जारी छ ।  तर, आफू काँग्रेसी भएका कारण सरकारी पुरस्कारको भने कोपभाजनमा परेकाे बताउनुहुन्छ उहाँ । 

बृहत् कविता प्रतियोगितामा स्वर्णपदक, नगर पञ्चायतको कविता प्रतियोगितामा स्वर्ण पदक, वासु शशी प्रतिष्ठानबाट ‘आधुनिक आशुकवि’को उपाधि लगायत दर्जनौँ पुरस्कार र सम्मान रहेका छन् उहाँकाे नाममा । 

अन्त्यमा 

एउटा सम्पन्न परिवारमा हुर्केर, बढेर, पढेर २०२२ सालमा शाखा अधिकृत भएको व्यक्ति आफ्नो निष्ठा र इमान नबेची अधिकृतबाट खोसुवा भएपछि ट्रक मालिकदेखि चालकसम्म  बन्नसक्ने खुबी जो कोहीमा हुँदैन । याे हेर्दा जति सामान्य देखिन्छ भाेग्दा भने असामान्य लाग्छ । 

आफ्नो पद प्रतिष्ठाका लागि जुनसुकै मूल्य तिर्न तयार जनमत देखेको यो समयमा उहाँको काम प्रतिको निष्ठा, हेराइ र कुनै पनि काम सानो हुँदैन भन्ने कामप्रतिको सम्मानलाई सलाम गर्नैपर्छ । 

उहाँले यसलाई करिब चालीस वर्ष अगाडि व्यवहारमा उतारेर प्रमाणित गरिदिनु भएको थियो । यसका लागि उहाँलाई जुनसुकै शब्दले सम्बोधन गरे पनि त्यसमा कमी नै हुन जान्छ ।