उडायो सपना सबै हुरीले

उडायो सपना सबै हुरीले

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २२, २०७५

बारा । ‘उडायो सपना सबै हुरीले ...’ गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो ‘अलच्छिने बतास’ कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही ‘निठुरी’ले उनीहरूको सपना भने ‘उडाइलगेको’ छ। आइतबार साँझ दुई मिनेटमात्रै आएको हुरीले दर्जनभन्दा बढी परिवारका सदस्य नै लग्यो। धेरैलाई घरबारविहीन बनायो। घरसँगै उनीहरूले सजाएका सपना पनि विलीन भए।

गरिबका पनि आ–आफ्नै सपना र इच्छा हुन्छन्। त्यो सपना पूरा गर्न दुःख गरेरै उनीहरूले केही जोरजाम गरिरहेका हुन्छन्। यस्तै एउटा सपना थियो, कलैया–१३ बलिरामपुरका वीरबहादुर साह कानूको। ऋण गरेरै भए पनि उनी आफ्नै आँगनबाट छोरीको विवाह धुमधामसाथ गर्न चाहन्थे। उनको यो सपना साकार हुनै पनि लागेको थियो। केही दिनअघि वीरगन्ज छपकैया घर भएका मंगल साहको छोरा अनिलसँग २० वर्षीया छोरी सीमाकुमारीको फूलमाला पनि गरिसकेका थिए। वीरबहादुरको परिवार विवाहको तयारीमा जुटेको थियो। विवाहको मिति वैशाख पहिलो साता तोक्ने तयारी थियो।

छोरीको विवाहका लागि भनेर वीरबहादुरले डेढ तोलाको सुनको टीका, नाकको फुली, नथिया, बनाएर घरमा राखेका थिए। निर्धन उत्थान लघुवित्त संस्था कलैयाबाट विवाहका लागि दुई लाख ऋण पनि लिएका थिए उनले। तर उनको सपना आइतबार रातिको त्यो हुरीसँगै बिलायो। हुरीले घर भत्काउँदा घरमै रहेको डेढ तोलाभन्दा बढीको गरगहना र दुई लाख रुपैयाँ त्यसैमा पुरियो। तर अहिले पनि उनी त्यो भग्नावशेषमा पुरिएको ‘खुसी’को खोजिरहेका छन्। ‘चार दिन भयो, भत्किएको घर पन्छाएर गहना र पैसा खोजिरहेको छु,’ वीरबहादुरले निकै भावुक मुद्रामा भने, ‘तर भेटिएको छैन।’ आजको नागरिक दैनिकमा खबर छ ।